नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                नवीन अर्याल
                                भरतपुरकी मीना थापा क्षेत्रीको जीवनले त्यतिबेला कोल्टे फेर्यो, जब वैदेशीक रोजगारीका लागि साउदी अरब हिँडेका श्रीमानले त्रिभुवन विमानस्थलबाट फोन गरे– ‘म विदेश जान्न। घर फर्किन्छु।’
मीनाले आफ्नो श्रीमानलाई विदेश पठाउन ठूलै ऋणपान गरेकी थिइन्। श्रीमानले अन्तिम समयमा विदेश नजाने जनाउँदिएपछि उनीसँग अर्को विकल्प थिएन। त्यतिबेला उनको काँखमा २२ महिनाको छोरा हुर्किरहेको थियो।
उनलाई लागेको थियो, लोग्ने विदेश गएपछि छोरासँग मज्जाले घर बस्न पाइएला? तर, श्रीमानको अन्तिम निर्णयपछि उनको सबै सपना चकनाचुर भयो।
क्षेत्री दम्पतिसँग घर चलाउने अर्को दह्रो उपाय पनि थिएन। त्यसैले यो घटनाको १५ दिनभित्रै मीना रोजगारीका लागि मलेसिया उडिन्।
मलेसियामा मीनाले ३० किलोको ‘इनगड’ एक्लै उचाल्नु पथ्र्यो। त्यो पनि दिनमा ३० वटा। करिब १२ घण्टा काम गर्ने क्रममा उनले नसोचेको दुःख पाइन्।
मलेसियामै कार्यरत रहँदा उनको ससुराको निधन भयो। २२ महिनापछि उनी घर फर्किइन् तर ऋणको भारी बोकेर। श्रीमान मुटुको व्यथाबाट पीडित थिए। उनीसँग अर्को विकल्प थिएन। पुनः वैदेशीक रोजगारीका लागि विदेश जानेबाहेक।
यही सिलसिलामा ६ वर्षअघि कतार प्रवेश गरेकी मीना अहिले यहाँ ट्याक्सी चलाउने पहिलो नेपाली महिलाको रुपमा चर्चित छिन्।
उनी राजधानी दोहाको चिल्लो सडकमा विश्वको महंगो मानिने ‘लेमोजिन’ गाडी हुइँक्याइरहेको भेटिन्छिन्। अहिले उनको काम हो, कतारी महिलालाई ट्याक्सीमा उनीहरूको गन्तब्यतर्फ लैजाने।
उनको तलब २५ सय रियाल छ। उनी निकट भविष्यमा आफै ‘लेमोजिन’ किन्ने तरखरमा छिन्। करिब १४ महिना दोहाको सडकमा गाडी चलाउँदा उनको कामको तारिफ गर्ने थुप्रै कतारी महिला निस्किसकेका छन्। यसले उनलाई हौस्याएको छ।
‘मैले गाडी हकाएको देखेर सोध्छन्–कहाँबाट हो? भनेर। म नेपालबाट भन्छु। उनीहरू पत्याउँदैनन्’, दोहामा भेटिएकी ३२ वर्षिय मीनाले ब्रेकएनलिंक्ससँग भनिन्।
कतारमा सडक र भवन बनाउने नेपाली कामदारको उपस्थिति बाक्लो छ। त्यसैले मीनाको साहसको कदर धेरैले गर्ने गरेका छन्।
मीनाको विवाह कतारमै लामो समय रोजगारी गरेका चितवनकै सहदेव खत्रीसँग २०६६ साल फागुन १९ मा भएको थियो। विवाह पूर्व उनी काठमाडौंस्थित बौद्धमा रहेको ट्रेकिङ एजेन्सीमा काम गर्थिन्।
उनको जन्म चितवनको शक्तिखोरमा २०४४ सालमा भएको थियो– थापा परिवारको ६ छोरी र ३ छोरामध्ये कान्छी छोरीको रुपमा।
उनको जन्म हुँदा बुवा त्यति खुसी थिएनन्। बुवाको गुनासो थियो– छोरी मान्छेले के गर्छन? छोराले कमाएर पैसा त दिन्छ।
बुवाको यही पुरातन सोचबाट खिन्न भएकी मीनाले १५ वर्षको उमेरमै घर छोडेकी थिइन्। किशोर अवस्थामा उनलाई चितवनबाट काठमाडौं आउन आमाले एउटा कुखुराको चल्ला १ सय रुपैयाँमा बेचेर हातमा थमाइदिएकी थिइन।
‘मैले थाहा पाउँदासम्म बुवाले छोरीको सट्टा छोरा जन्माएको भए कमाएर पैसा दिन्थे भनेर आमासँग गुनासो गरिरहनु हुन्थ्यो। यसले मलाई विचलित बनाउँथ्यो,’ मीना सानोमा घर छोड्नुको कारण बताउँछिन्।
बुवाको दिनरातको कचकच र घरायसी अभावलाई बिर्सन चितवनबाट काठमाडौं लाग्दा मीनाको मनमा थुप्रै मिठो कल्पना थियो।
तर, काठमाडौंमा उनको भोगाइँ मिठो हुन सकेन्। जुन घरमा उनी काम गर्न बसेकी थिइन, घर माल्किनीको ‘डिक्सनेरी’ मा मानवता नामको एउटै शब्द थिएन। दिन–रात काम गर्दा पनि उनले माल्किनीको कटु बचन सुन्नु पथ्र्यो। थाकेर कहिले काही गलैचामा आँखा लाग्दा चिसो पानी मीनाको शरीरमा खन्याईदिन्थिन्।
अधिक पीडा महसुस गरेपछि मीनाले ६ महिनामै त्यो घर छोड्ने निधो गरिन्। र, उनको अघिल्लो मुकाम बन्यो, छाउनीस्थित एक स्कुल। यहाँ उनले २ वर्ष मज्जाले काम गरिन्। काम गर्दा जम्मा पारेको ८ हजार लिएर चितवन फर्किदा उनको बुवा अवाक भए।
‘१८ वर्षको थिए होला। बुवालाई मेरो पहिलो कमाई भनेर ४ हजार र आमालाई पनि ४ हजार दिँदा बुवा ट्वाल्ल पर्नुभयो,’ उनले विगतको कुरा उप्काइन्।
२०६२ सालमा चितवनमा उनको एक आफन्तको बिहे थियो। त्यो बिहेमा मीना खुब खट्टिएकी थिइन। बिहेमा एक बेल्जियम नागरिक पनि काठमाडौंबाट जन्तको पछि लागेर आएका थिए। उनलाई मीनाको सक्रियता खुब मन परेछ। उनले बिहे सकिएपछि मीनासँग प्रस्ताव राखेछन्, ‘काठमाडौं जान्छौं? तिमीलाई छोरीजस्तै राख्छु।’
‘उहाँको कुरा मन पर्यो। फेरि काठमाडौं आए। उहाँले नै मलाई स्कुलमा भर्ना गराइदिने देखि बौद्धमा टुरिष्ट गाइडमा काम लगाइदिनु भयो,’ उनले भनिन्।
बिहेलगत्तै उनले गाइडको काम छोडिन् र श्रीमानसँगै बौद्धमा सानो पसल खोलेर बसिन्। तर, सासु–ससुराले घरबाट दबाब दिन थालेपछि यी दम्पत्ति पुनः चितवन फर्किए।
चितवनमा पनि मीनाले श्रीमानसँग मिलेर कुखुरा पालन गरेकी थिइन। यहाँ घरायसी कुरा नमिलेपछि त्यो व्यवसाय पनि बीचैमा छोड्नु पर्यो। बेरोजगारीको अवस्थामा ऋण बढ्दै गएपछि मीनाले श्रीमानलाई पुनः वैदेशीक रोजगारीमा जान प्रेरित गरेकी थिइन। तर, उनलाई स्वास्थ्यले साथ नदिएपछि मीनासँग अर्को विकल्प थिएन।
उनी आफूलाई यो अवस्थामा ल्याउन श्रीमानको ठूलो हात भएको बताउँछिन्। भन्छिन्, ‘उहाँले सहयोग नगरेको भए कसरी यहाँ आएर काम गर्न सक्थे?’
उनको जीवन संघर्षमय छ। उनले यसलाई आफ्नो गुरुमन्त्र पनि बनाएकी छिन्। उनलाई आफ्नो विगतसँग कुनै पछुतो छैन। छोरासँग सानोमा छुट्टिनु परेको घटनाले कहिले काही भावुक बनाउँछ। तर, उनी यो अवस्थाको पनि छिट्टै अन्त्य हुनेमा ढुक्क छिन्।
पुनःप्रकाशन – सम्पादक
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया