‘छोराले स्कुलमा मेराबारे पढेको घर आएर सुनाउँछ, दंग पर्छु’

सुनसरीको इटहरी-५ का राजन अधिकारीले आफू साँच्चै अग्लो रैछु भन्ने कुरा १२ वर्षको पुगेपछि मात्र महशुस गरे। त्यतिबेला जब उनी साथीभाइबीच उभिन्थे अरूभन्दा उनी निकै लम्भू देखिन्थे। 

अहिले ७ फिट ३ इन्चका अधिकारी त्यतिबेला नै साढे ६ फिट अग्ला थिए।

उनी नेपालको पहिलो र विश्वको तेस्रो अग्ला व्यक्ति हुन्। सबैभन्दा अग्लामध्ये पहिलोमा टर्की र दोस्रो चीनका नागरिक छन्। बच्चैबाट अधिकारीको उचाइ अरू केटकेटीकोभन्दा छिटो बढ्यो। यो कुरा उनले बुवाको मुखबाट सुने। 

‘आमा त म अढाई वर्षको हुँदै सदाको लागि विदा हुनुभो। पछि बुवाले मेरो उचाइबारे भन्नुभयो,’ उनले सेतोपाटीसँग भने, ‘बुवा पनि बित्नुभएको अहिले १६ वर्ष भयो।’

१२ वर्षकै उमेरमा असामान्य उचाइ भएपछि उनका बुवा आत्तिए। त्यहिबेला उनलाई बुवाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेकजाँचको लागि लगे।

‘चेकजाँचको सबै रिपोर्ट सामान्य आयो। त्यसपछि हामी ढुक्क भयौं,’ उनले भने।

अधिकारीको परिवारमा उनी मात्र अग्ला हुन्। अरू सबै जनाको उचाइ सामान्य छ। उनका दुई सन्तान छन्। उनीहरूको उचाई पनि सामान्य नै रहेको अधिकारीले बताए।

‘हजुरबुवाचाहिँ अलिक अग्लो हुनुहुन्थ्यो। बुवाको उचाइ त ठीकै थियो,’ उनले भने।

अग्लो भए पनि उनलाई कुनै असहज भएन। अरू साथीजस्तै हिँड्न सक्थे, दौडन सक्थे। उनलाई खेलकुदमा रूची थियो। फुटबल खेल्थे।

पछि नेपाल भलिबल संघले उनलाई काठमाडौं झिकायो। त्यतिबेला उनी १७ वर्षका थिए।

प्रकाशित मिति: : 2019-09-03 22:21:39

प्रतिकृया दिनुहोस्