कविता

शून्य

उमेरको उकालो चढ्दै गर्दा-
बाह्रखरीको नमिठो अनुहार छुट्यो।

त्यही बाह्रखरीमै-
पूर्व हो कि पश्चिम फर्केको 
चरुचुच्चे 'च' को सबैभन्दा अफ्ट्यारो बनावट छुट्यो।

स्कुलबाट घर फर्कने बाटोमा-
फापरबारीको युद्द छुट्यो,
जहाँ, 
मैले मेरै साथीहरुलाई बन्दुक हानेर 
दिनको चार-पाँच पटक मारीदिन्थे। उनीहरु मरिदिन्थे।

छुट्दा छुट्दै-
आँगनीको डिलमा फूल्ने 
घडी फूलको कामुक जवानी छुट्यो।

म सङ्ग रङ्गिन पुतलीहरु खेल्ने
संसारकै सबैभन्दा सुन्दर 'पुतली' छुटीन्।
पुतलीसङ्गै खुद, 
त्यो पुरानो र बुढो आँगन छुट्यो।

उमेरको उकालो चढ्दै गर्दा-
यात्रा र बाटाहरु छुटिए कहिले नभेटिनेगरी।

केही असक्षम पाईतालाहरु छुटिए-कहिले नफर्कनेगरी।
केही अभद्र मुस्कानहरु छुटिए-कहिले नहास्नेगरी।
केही नसालु आँखाहरु छुटिए- कहिले नदेखिनेगरी।

जिन्दगीले,
उमेरको अग्लो पहाड चढ्दा चड्दै-
कुम ठोक्किएर-आँखा जुधाएर-मुस्कान साटिएर,
मुटु गाँसिएर भेटिएकी तिमी-
खै कहाँ छुट्यौ कहाँ? खै कहाँ छुट्यौ कहाँ ?

प्रकाशित मिति: : 2021-04-24 18:59:00

प्रतिकृया दिनुहोस्