प्रधानमन्त्री भेट्न नपाए पनि सिंगापुरमा शुभकामना दिन जानेकाे ताँती

काठमाडौं, भदौ १७ः प्रधानमन्त्री केपी शर्मा ओली दुई सातालामो सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार सकेर भदौ २० गते नेपाल फर्कने संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङले जानकारी दिएका छन् तर प्रधानमन्त्रीलाई शुभकामना दिन भनेर त्यसतर्फ जाने क्रम रोकिएको छैन । 

पछिल्लोपटक केहीबेरअघि (मंगलबार अपरान्ह १ बजे) नेकपा महासचिव पौडेल सिंगापुर प्रस्थान गरेका हुन् । उनी अध्यक्ष ओलीसँगै शुक्रबार फर्कने नेकपाले जनाएको छ । काठमाडौंबाट ठूलो संख्यामा व्यापारी, नवधनाढ्यहरू लर्को लागेर सिंगापुर पुगेको नेकपा स्रोतको दाबी छ । 

एनआरएनए अध्यक्ष भवन भट्ट र सञ्चारकर्मी सनत न्यौपाने सिंगापुर जान लाग्दा अत्यधिक मदिरा सेवन गरेको भनी भदौ ८ गते उड्नैलागेको विमानबाट पाइलटले उतारेका थिए । भट्ट अर्को दिनको उडानबाट सिंगापुर गएको स्रोतको दाबी छ । 

प्रधानमन्त्री ओलीलाई शुभकामना दिन भनेर सिंगापुर जाने क्रम बढेपछि नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले दुई दिनअघि फेसबुकमा लेखेरै चाकडी–चाप्लुसीका लागि त्यसतर्फ जाने प्रवृत्तिको विरोध जनाए– ‘हनुमानहरूदेखि सावधान !’

‘सम्माननीय प्रधानमन्त्री तथा नेकपाका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरमा उपचाररत हुनुहुन्छ । नेपालबाट लर्को लागेर सिङ्गापुर जाने मान्छेहरूले बिरामी भेट्न त खासै पाउदैनन्’, थापाले स्ट्याटस लेखे, ‘यो कुरा तिनीहरूलाई प्रस्थान गर्नुपूर्व नै जानकारी हुन्छ । तैपनि हुल बाँधेर किन त्यता गएका होलान् ? विरामीलाई स्वास्थ्यलाभको कामना गरे पुग्नेमा किन यसरी डिस्टर्ब गरिरहेका होलान् ? चाकडी, चाप्लुसी र चुक्लीको यो लज्जास्पद बानीमा कहिले सुधार होला ?’

प्रकाशित मिति: : 2019-09-03 18:07:24

प्रतिकृया दिनुहोस्