नेपालमा फैलँदै चिनियाँको अपराध जालो : सुनदेखि मान्छेसम्म तस्करी, ह्याकिङदेखि अवैध अस्पतालसम्म सञ्चालन

बिहेका नाममा नेपाली युवतीलाई चीन तस्करीको आरोपमा चार चिनियाँलाई पक्राउ गरेको दुई दिनपछि एटिएम ह्याकिङमा संलग्न ६ चिनियाँ पक्राउ परे । २० साउनमा चार किलो सुनसहित पक्राउ परेका चिनियाँ हिरासतमै छानबिनमा छन् । 

पछिल्लो एक महिनामा फरक–फरक किसिमको अपराधमा ११ जना चिनियाँ पक्राउ परिसकेका छन् । पछिल्ला यी तीन घटनाले नेपालमा चिनियाँ नागरिकले अपराधको जालो फैलाउँदै गएको देखिन्छ । 

नेपालमा चिनियाँको आगमन बढेसँगै विभिन्न किसिमका अपराधमा पनि उनीहरूको संलग्नता बढेको छ । यो प्रहरीका लागि समेत टाउकोदुखाइ भएको छ । विभिन्न प्रकृतिका अपराधमा चिनियाँको संलग्नता बढ्न थालेपछि नियन्त्रणका लागि त्यहीअनुसार सुरक्षा रणनीति लिइएको प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले बताए । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा विभिन्न घटनामा एक सयभन्दा धेरै चिनियाँ नेपालमा पक्राउ परिसकेका छन् । धेरैजसो डलर तस्करीमा पक्राउ परेका छन् । त्यस्तै सुन, वन्यजन्तुका अंग, जडीबुटी तस्करी, ह्याकिङ तथा अवैध चिकित्सकीय अभ्यासका घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

०६० को आसपासदेखि नै नेपालमा चिनियाँको अपराधमा संलग्नता देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । त्यतिवेला रक्तचन्दन र वन्यजन्तुका अंगको ओसारपसारमा चिनियाँहरू संलग्न देखिएको पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले बताए । त्यसवेला नेपालका प्रहरीदेखि नेतासम्म मिलाएर चिनियाँसमेतको मिलेमतोमा रक्तचन्दनलगायत जडीबुटीको तस्करी हुने गरेको थियो । ०६५ पछि त्यो क्रममा कमी आएको थियो । त्यसपछि डलर र सुनको अवैध कारोबारमा उनीहरूको संलग्नता बढेको छ । अहिले ह्याकिङदेखि विभिन्न ठगीका घटनामा समेत चिनियाँहरू नेपालमा संलग्न हुन थालेका छन् । 

नेपाली युवतीहरूलाई बिहेको आवरणमा चीनमा लगेर यौनदासी बनाउने गिरोहका चार चिनियाँसहित १० जनालाई पक्राउ गरेर मानव बेचबिखन नियन्त्रण ब्युरोले हाल अनुसन्धान गरिरहेको छ । संगठित रूपमा नै उनीहरूले यस्तो काम गर्दै आएको ब्युरोका एसपी गोविन्द थपलिया बताउँछन् । 

बिजनेस भिसामा नेपाल बस्ने विदेशीहरू चिनियाँहरू पहिलो नम्बरमा छ । व्यापारको आवरणमा धेरैजसो डलरको अवैध कारोबारमा संलग्न रहेको स्रोत बताउँछ । ठमेल क्षेत्रलाई आधार बनाएर चिनियाँहरूले संगठित रूपमा नै आर्थिक अपराधको धन्दा चलाइरहेका छन् । 

सुन ओसार्ने, डलर लैजाने 
मुख्यगरी सुन र डलर तस्करीमा उनीहरूको संलग्नता देखिएको छ । नेपालमा आउँदा अवैध सुन लिएर आउने र फर्कँदा डलर लैजाने प्रवृत्ति देखिएको प्रहरी प्रवक्ता जोशी बताउँछन् । पछिल्लो समय नियमित रूपमा सुनसहित चिनियाँहरू पक्राउ पर्दै आएका छन् । 

गत २० साउनमा एक चिनियाँ नागरिक ली निङ्सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार किलो सुनसहित पक्राउ परेका थिए । हङकङबाट कपडाको बेल्टमा लुकाएर उनले नेपालमा सुन तस्करीको प्रयास गरेका थिए । 

१८ भदौ २०७४ मा प्रहरीले ठमेलबाट ८८ केजी सुन बरामद गरेको थियो । सुन तस्करीका मुख्य नाइके चिनियाँ भएको खुल्यो । ती नाइके ठमेलमा काठमाडौं वान नामक होटेल चलाउँदै आएका विई मिङ भएको खुलेको थियो । व्यापारको आवरणमा उनले लामो समयदेखि सुन र डलरको अवैध कारोबार गर्दै आएको खुलेको थियो । सुन बरामद भएलगत्तै फरार भएका ती चिनियाँ हालसम्म पक्राउ परेका छैनन् । 

गत वर्ष २७ चैतमा पनि तीन चिनियाँलाई करिब साढे तीन किलो सुनसहित विमानस्थल प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले मलद्वारमा लुकाएर सुन तस्करीको प्रयास गरेका थिए । 

प्रकाशित मिति: : 2019-09-03 09:56:38

प्रतिकृया दिनुहोस्