जुम्लाकाे तीला गाउँपालिका -१ राराका दल बहादुर परियारलाई गर्भबाटै लुगा सिउन जानेकाे जस्ताे लाग्छ। उनकी आमा गर्भवती भएकाे बेला नै कलकाे खटखट आवाजलाई मिठाे धुनकाे रुपमा श्रवण गरे जस्ताे लाग्छ रे उनलाई। जान्ने भएपछि कलका नजिक जाँदाजाँदा उनले विभिन्न आकारका कपडा बनाउन सिके।
उनका बुबा जगमने परियारका अनुसार दमाईहरुकाे प्रारम्भिक शिक्षा नै कपडा सिलाउन जान्नु हाे। 'जाे पनि दमाईले कल सिलाएकाे देख्दा उसकाे छाेरा, नातीले सिलाउन जान्दछन्,' उनले भने, 'हामी एकछिन फुर्सद हुनेबित्तिकै उनीहरु कल घुमाउन सुरु गरिहाल्छन्। यसरी सिकाई प्रक्रिया सुरु हुन्छ।'
सैद्धान्तिक र व्यवहारिक दुबै कक्षाकाे औपचारिक काेर्स नभएपनि दमाईहरुले सिकाई प्रक्रियामा इतिहासकाे महत्वपूर्ण हिस्सा ओगटेका छन्। त्यस अलावा ठुलाे सवारी, देवताकाे पैठ, विवाह, व्रतबन्धनलगायतका शुभ तथा मान्छे मरेपछि अशुभ कार्यमा समेत बाजा बजाउने काम पनि दमाइहरुले नै गर्छन्।
बाजा बजाउन सिपालु उनीहरुकाे स्वामित्वमा सम्पत्ति नहुनु नै उनीहरु आर्थिक रुपमा पछि पर्नुकाे प्रमुख कारण हाे। त्यसैले दल बहादुर परियार भन्छन्, 'बाजे परबाजेले लगीमानी प्रथा गरी मानाे, मुठाे खाए। लगीले दिएकाे खलाेबाट माथि उठ्न नसकेकाले हामीसँग जमिन छैन। हामीले गर्भबाटै सिकेकाे सीपले हाम्रा मुखमा चार औँला पस्छन्।'
यसरी सीप सिकेका उनलाई लगानी गरेर व्यवसाय विस्तार गर्न कठिन थियाे। उनी विगत १५ वर्षदेखि राराकाे सेरी बजारमा व्यवसाय गर्दै आएका उनका बाबुसँग काम गरिरहेका थिए। तर दुई बाबुछाेराले कपडा सिलाउने एउटा मात्रै कल थियाे। त्यही आलाेपालाे गरी व्यवसाय चलिरहेको थियाे।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालको साझेदारीमा सञ्चालित साना व्यवसाय तथा रोजगारीको माध्यमबाट आम्दानी वृद्धि गर्ने (Raising Income through small Enterprise and Employment -RISE project) परियाेजनाले उनलाई सहयाेग गर्ने भयाे।
उक्त परियोजनाले काेराेनाले व्यवसायलाई संकट पारेकाे बेला साना लगानीले राहत पुर्याउने उदेश्यले गरेकाे कल, इन्टरलक मेसिन, आइरन, स्केलहरु सबै उपलब्ध गराएकाे छ। त्याे पाएपछि दुई बाबुछाेराले पालाे पालाे गरी कल सिलाउने दिन गएका छन् भने आम्दानी दाेब्बर हुन थालेकाे छ।
'अहिले हामीलाई काम गर्न निकै सहज भएकाे छ। पहिला बाबुछाेरा गरी दिनमा पाँच छ/सय कमाउँथ्याैं भने अहिले त्यसकाे दाेब्बर आम्दानी हुन थालेकाे छ,' दल बहादुरले खुसी हुँदै भने, 'हाम्राे ठुलाे परिवारलाई खाना, लाउनकाे निकै समस्या थियाे। अब त्याे समस्याबाट सधैंकाे लागि पार पाइने विश्वास गरेकाे छु।'
दलबहादुरका बुबा जगमाने परियारकाे एउटै घरमा तीन पुस्ता सँगै बसिरहकाे छ। जगमानेका श्रीमान्-श्रीमती, बल, दाइभाउजू, उनका भाइहरु र उनीहरुका छाेराछाेरी गरी १३ जनाकाे परिवार कलले धानेकाे छ।
यसरी पाएकाे सानाे सहयाेगबाट ठुलाे परिवार पालिनलाई निकै सहज भएकाे बलवीरले बताए। 'अब त बचत पनि हुन थालेकाे छ। साना किसान सहकारीमा बचत गर्न पनि थालेका छाैं,' उनले भने, 'अब हामी हेपिएर लगीकाे खलाे खाने भन्दा पनि आफ्नाे मेहनतले कमाएर आफ्नै खुट्टामा उभिने भएका छाैं।'
युट्युबबाट सिकेकाे सिलाइकटाई
तिला-१ कै सानुमाया रावतलाई पनि वडाकाे सिफारिसमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालको साझेदारीमा सञ्चालित साना व्यलसाय तथा रोजगारीको माध्यमबाट आम्दानी वृद्धि गर्ने (Raising Income through small Enterprise and Employment -RISE project) परियाेजनाले इन्टरलक मेसिन, आइरन, फितालगायत सिलाइकटाई सम्बन्धि सामग्री दियाे।
उनी १९ वर्षकी भइन्। उनकाे बिहे भएकाे दुई वर्ष पुग्न आँटेकाे छ। उनीकी नाै महिनाकी एक छाेरी पनि छिन्। घरमा एक हल मात्रै बारी भएका हुनाले उनका श्रीमान इन्डियाकाे कन्नपर्याकमा कमाउन भनी गएका छन्।
घरमा खाना, लाउनकाे समस्या बुझेकाे वडाले सिफारिस गरेपछि उनले पाएकाे सहयोगले थाेरै राहत मिलेकाे छ। उनले सिलाइकटाइकाे सामग्री पाएकाे बेला सिलाउन आउँदैनथ्याे। उनकाे पुर्ख्याैली पेशा सिलाइकटाई पनि हाेइन। त्यसैले उनले सीप सिक्ने उपाय खाेजिन्।
एउटा संस्थाले सिलाउने तालिम पनि दिने भयाे तर राम्राे प्रशिक्षक नभएकाे हुनाले उनलाई समस्या भयाे। त्यसपछि उनले सिक्ने उपाय खाेज्दा खाेज्दा थाहा पाइन्, युट्युबमा पनि सिलाउने तरिका बारेका भिडियो हुन्छन् भनेर।
'अब मसँग सिलाइकटाइका सबै सामान भएका छन्। यसमा मेराे लाष्टै रुचि भएकाे हुनाले जसरी पनि सीप सिक्नुपर्छ भन्ने लाग्याे,' उनले भनिन्, 'त्यसपछि सेरी बजार गएर माेबाइलमा वाइफाइकाे पासवर्ड हानी मागेर भिडियो हेर्दै सिलाउन सिकेकी छु।'
कुर्तासुरुवाल सिउन जानेपछि उनलाई धेरथाेर काम पनि आइरहेको छ। उनी सेरी बजारमा चलेकाे दरभाउ भन्दा ५० रुपैयाँ सस्ताेमा कपडा सिलाउँछिन्।
'राम्ररी सिके भने सेरी बजारमा पसल राखेर सिलाउने साेच बनाएकी छु,' उनले भनिन्, 'अहिले गाउँकै महिलाहरुका कपडा सिलाइदिन्छु। यसले मलाई सिक्न पनि सहयोग मिलेकाे छ। पछि राम्राे हुन्छ भन्ने लागेर नै काम थालेकी छु।'