हङकङको सर्भरमा हमला गरी काठमाडौंका एटीएममा चोरी !

काठमाडौं– शनिवार राति काठमाडौंमा भएको एटीएम ह्याकिङ हङकङमा बसेर गरेको आशंका उब्जिएको छ ।

नेपालका अधिकांश डेटा हङकङमा राखिएको र भारत हुँदै नेपालमा आउने इन्टरनेट पनि हङकङबाट नै आउने भएकाले एटीएम ह्याकिङ पनि हङकङबाटै भएको हुनसक्ने सम्भावना प्रबल रहेको नेपाल प्रहरीका एक प्रविधि विज्ञले बताए । 

‘हाम्रा सबैजसो डेटा सिस्टमहरू हङकङमा रहेका छन्, ह्याकरले नेपाल र भारतमा हङकङको सर्भरबाट एटीएम ह्याक गरेको देखिन्छ,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने ।

ह्याकिङ स्पेनबाट भएको चर्चा चलेपनि त्यसमा विश्वास गर्न नसकिने उनको भनाइ छ ।

‘स्पेनबाट ह्याक भएको कुरालाई पत्याउन सकिन्न, किनभने डेटा जहाँ छ त्यहीँको सर्भरमा छुने हो, हाम्रा सबैजसो डेटा हङकङमा छन्, भारत हुँदै आउने इन्टरनेट पनि उतैबाट आउने हो, त्यसैले हङकङबाट नै भएको हुनसक्छ ।’

ह्याकिङमा टोरेन्टको पनि प्रयोग भएकाले स्पेनबाट भएको अनुमान लगाइएको हुनसक्ने उनले बताए ।

‘ह्याकरहरूले यु–टोरेन्ट प्रयोग गरेको देखिन्छ, टोरेन्ट स्पेनको हो, त्यसैले पनि त्यहीँबाट ह्याक भएको आशंका गरिएको हुनसक्छ’, उनले भने ।

ह्याकिङमा ‘फेक आईपी’ प्रयोग भएको भन्दै उनले जुनसुकै देशमा बसेर अरू देशको आईपी बनाउन मिल्ने बताए । हङकङमै बसेर पनि स्पेनको आईपी प्रयोग गर्न सकिने उनको भनाइ छ ।

उनको कुरामा आईटी इञ्जिनीयर प्रजिन महर्जन पनि सहमत छन् । 

‘ठूलो डेटा सिस्टम नेपालमा राख्न महङ्गो पर्ने भएकोले प्रायः हङकङ, सिंगापुर तथा भारत लगायतका देशमा राख्ने गरिन्छ,’ उनले भने ।

प्रकाशित मिति: : 2019-09-02 16:53:47

प्रतिकृया दिनुहोस्