किन बढेन नेपाली चलचित्रको व्यापार ? निर्माता र वितरक आरोप-प्रत्यारोपमा

काठमाडौं । नेपाली चलचित्रको निर्माण तथा प्रदर्शन निराशानाक नभए पनि व्यापार भने उत्साहजनक छैन । वर्षमा एकाध चलचित्रले राम्रै व्यापार गरे पनि बाँकी अधिकांश चलचित्रको कलेक्सन निराशाजनक छ । 

लगानी र निर्माण संख्याका आधारमा चलचित्रको व्यापार नगन्य हुनुमा कमजोर चलचित्र नै मुख्य कारक भएको चलचित्र वितरक तथा निर्देशकहरु बताउँछन् । “‘ए मेरो हजुर–३’, ‘जात्रै जात्रा’, ‘दालभात तरकारी’ लगायत चलचित्र दर्शकसँग कनेक्ट भए, चले,” वितरकसमेत रहेका निर्देशक प्रचण्डमान श्रेष्ठ भन्छन्, “बाँकी चलचित्र चलेनन्, कारण– दर्शक ती चलचित्रसँग कनेक्ट हुन सकेनन् ।”

हिन्दी होस् वा अंग्रेजी, राम्रो नभएको अवस्थामा कुनै पनि भाषाका चलचित्र नचल्ने उनी बताउँन्छन् । “दुई वर्षअगाडि हिन्दीभन्दा नेपाली चलचित्र धेरै चलेका थिए । यसको अर्थ कन्टेन्ट राम्रो भयो भने चल्छ भन्ने हो,” श्रेष्ठ भन्छन् । 

दर्शक विस्तारै ‘चुजी’ हुँदै गएको उनको अनुभव छ । नेटफ्लिक्स, अमेजन प्राइम, युट्युब जस्ता माध्यम आएसँगै हलमा दर्शकको संख्या कम हुँदै गएको उनको तर्क छ । “जुन चलचित्रले आफूलाई कनेक्ट गर्दैन, ५ सय रुपैयाँ र समय खर्चिएर किन दर्शक हलमा जान्छ ?” वितरक श्रेष्ठ भन्छन्, “अझै हलसम्म जाने दर्शकको संख्या कम हुन्छ । अबको एक वषपछि हेर्नुस्– आफूलाई मनपर्ने, आफूलाई छुने चलचित्र बाहेक अन्य चलचित्र हेर्न दर्शक जाँदैन ।”

प्रकाशित मिति: : 2019-09-02 13:42:58

प्रतिकृया दिनुहोस्