जनावर र मानिसबीचको ‘डरलाग्दो’ लडाइँ

‘जब बाघका चाल प्राकृतिक बासस्थानभित्र स्वतन्त्र हुन्छन् त्यस बेला प्रकृतिले पनि गर्व गरिरहेको हुन्छ।’

र, जब बाघले बाटो बदल्छ, उसको सिधा ‘फाइट’ मानिससँगै हुन्छ।

बाटो बिराएको एउटा बाघले गत भदौ ८ गते बर्दियाको भुरीगाउँमा एक मानिस मारिदियो।

भोकले रन्थिनिएको त्यो बाघ जंगल (बर्दिया राष्ट्रिय निकुञ्ज) को एक घरछेउमा थियो।

आँगनमा फलामे खोर थियो। त्यसभित्र केही बंगुर थिए। छेउमा बाघ ‘सिकार’ कुरिरहेको थियो।

झिसमिसे बिहान घरमुली पहरिया थारु जब त्यो खोरभित्रका बंगुरलाई दाना दिँदै थिए, बाघले उनलाई झम्टियो। ७१ वर्षीय थारुको ज्यानै लियो।

त्यो एउटा बुढो बाघ थियो। जंगलमा सिकार गर्न सकिरहेको थिएन। भोकले रन्थिनिएको बाघ ‘सजिला सिकार’का लागि गाउँ पसेको थियो। त्यो बाघ बिरामी पनि थियो।

दुई दिनसम्म हात्तीहरूले घेराबन्दी गरेर बाघ समातियो। अहिले बर्दिया राष्ट्रिय निकुञ्जले त्यसलाई खोरमा थुनेर उपचार गरिरहेको छ। 

निकुञ्ज परिसरको खोरमा अर्को एउटा बाघ छ, जो केही समयअघि राजमार्गमा एउटा गाडीको ठक्करले घाइते भएको थियो। खोरमा थुनिएको बाघ रातदिन भयंकर आवाज निकालेर गर्जिरहन्छ।

त्यसअघि भदौ ५ गते बर्दियाकै गेरुवा गाउँपालिकामा पानी पिउन नदीमा निस्किएको बाघले एक महिलाको ज्यान लियो।

निकुञ्ज क्षेत्रभित्र घाँस काट्न गएकी ५१ वर्षीया महिला त्यही नदीमा पानी पिइरहेकी थिइन्। बाघले देख्यो र, झम्टियो। उनको ज्यानै लियो। बर्दियामै अघिल्लो वर्षमा पनि बाघले मान्छे मारेको थियो।

निकुञ्जको नियमअनुसार बाघले मारिएका ती व्यक्तिका परिवारले १० लाख रुपैयाँ राहत पाउनेछन्।

प्रकाशित मिति: : 2019-09-02 13:38:34

प्रतिकृया दिनुहोस्