सूर्य चिन्हको लडाइँभित्र नदेखिएको कथा-३ (समयको कथा)

प्रचण्डको 'सूर्य' मोह र मदन भण्डारी

‘सूर्य चिन्ह हाम्रो नै हो। सूर्य चिन्ह हाम्रो नै हुन्छ। सूर्य चिन्ह हाम्लाई नदिने हो भने आँधिहुरी, तुफान आउछ,’ पुष्पकमल दाहाल (प्रचण्ड)

देशभरिका विभिन्न विशालसभामा उपस्थित जनता र मिडियामार्फत् हरेक साधारण नागरिकले पनि सुन्ने गरी ‘सूर्य’ चिन्ह्को बारेमा पुष्पकमल दाहाल (प्रचण्ड) ले जोसिलो भाषणमार्फत् ब्यक्त गरेका यी वाक्य ‘आर्काइभ’ मा मात्र रहने छैनन्, इतिहासमा पनि दर्ज भइसकेको छ। मदन भण्डारीले जनप्रिय बनाएको ‘सूर्य’ चिन्ह अब प्रचण्डले जनतामा लैजाने ‘उदघोष’ गर्न खोज्दै थिए।

उदघोष त भइरहे। उदघोष गर्दै– यसरी नै धेरै सभा भए र गए। यसरी नै भाषण भए र गए। यसरी नै, प्रचण्ड पनि नेकपाबाट माओवादी भए र गए। हुने र जाने क्रम निरन्तर चलिरहे।

वायुमण्ड्लीय प्रकृतिमा आँधीहुरी, तुफान आएको छैन तर सर्वोच्च अदालतको निर्णयपछि भने नेपाली राजनीतिमा आँधिहुरी, तुफान आउँदै गरेको देखिन्छ। सर्वोच्च अदालतको निर्णयपछि दुई पार्टी पुनः स्थापित भएका छन्।

एमालेभित्र पुन: दुई शक्तिको क्रियाशीलता बढेको छ। वैधानिकता र ‘सूर्य’ चिन्ह्को ठूलो लडाइँ हुने सङ्केत पुनः देखिएको छ। हिजो प्रचण्ड र केपीबीच ‘सूर्य’ चिन्ह्को लडाइँ भएको थियो। अब माधव र केपीबीच लडाइँ पर्ने देखिन्छ।

‘मदनले पनि यही भन्नु हुन्थ्यो’ भनेर मदन भण्डारीलाई सम्झँदै प्रचण्डले आफ्नो भाषणमा आफूप्रति सहानभूति बटुलिरहेका थिए। देशको र समग्र वामपन्थी आन्दोलनभित्र 'ब्रेक थ्रु' गरेर खैलाबैला मच्चाउनसक्ने गरी प्रचण्डले आफ्नो उपस्थिति सधैँ नै राखिरहेको देखिन्छ।

हिजोका दिनमा एमाले पार्टीबाट ‘सूर्य’ चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई प्रचण्ड नेतृत्वको माओवादीले हत्या गरेको थियो तर आज त्यो इतिहास बाङ्गिएको थियो।

दुई पार्टी मिलिसकेका थिए। मिलेर झगडा सुरु गरिसकेका थिए। झगडा मात्र गरेका थिएनन् तमासा र नौटङ्कीका दृष्यहरु देखाइरहेका थिए।

त्यही दृष्यहरु हेरिरहेको छु मैले। ‘सूर्य’ चिन्ह, मदन भण्डारी, मदन-आश्रित, दासढुङ्गा र नेपाली राजनीतिका घटना मसँग गुज्रिरहे। हिजो दासढुङ्गा फिल्म बनाउदा खोजकर्ता पात्रको रुपमा गुज्रिए तर आज अपत्यारिलो घटना हेर्ने दर्शकको रुपमा। म यी अपत्यारिला घटनालाई हेरिरहेको छु, समय बनेर।

हिजोदेखि आज र भोलिलाई अवछिन्न जोड्ने भनेको समय रहेछ।  छुट्टाछुट्टै पार्टी चलाइरहेका केपी, माधव र प्रचण्ड नामक पात्र जस्तै म पनि त्यही पृथक पात्र हुँ, जसले घटित घटनालाई हेरिरहयो। कहिले पुस्तकालयमा हेर्‍यो। कहिले टेलिभिजनमा हेर्‍यो त कहिले सँगसँगै रहेर हेर्‍यो, समय बनेर।

म समय हुँ। हरेक घटना देख्ने साक्षी हुँ। समयको फरक जिम्मेवारी लिएको त्यो खोजकर्ता हुँ। जो निरन्तर घटनाको साथमा रहिरहे। कतिबेला मौन-दर्शक भए। कति बेला खोजकर्ता भए।



राष्ट्रपतिज्यू, मदन भण्डारी मृत्युको कारण  खोज्ने पालो अब तपाईंको 


आज कथाकार भएर कथा सुनाउन खोज्दै छु। समय, जो आफ्नै कालखण्डमा विभक्त हुँदोरहेछ। अंग-अंग मिलेर शरीर बनेजस्तै, घटना-परिघटनाको शृंखला नै सम्पूर्ण समय रहेछ।

म, एक घटनामा पनि साक्षी छु र सम्पूर्ण समयमा पनि। मैले देखिरहेँ, हेरिरहेँ। पार्टी एक बनेको, फेरि छुट्टिन खोजेको, गालीगलौजमा उत्रेको। एक आपसमा निन्दा सुरु गरेको। मैले हेरिरहे सुनिरहेँ, ती तुच्छ किसिमका निन्दाहरु! ती आक्रोशहरु!

त्यो देखेर म दुविधामा परे, यस्तो निन्दा किन? यो निन्दा हो कि, आलोचना हो? कुन निन्दा हो, कुन आलोचना हो, भनेर कसरी थाहा पाउने हो? के फरक छ निन्दा र आलोचनामा?

मनभित्रै प्रश्न गरेँ। उत्तर पाएँ– निन्दाले डुबाउने रहेछ र आलोचनाले डुबेकोलाई बचाउने रहेछ। निन्दाको मनोविज्ञान भनेकै आफ्नो अंहकार वा दम्भलाई प्रतिष्ठित गर्नुरहेछ। सबै राजनीतिक ब्यक्ति आ-आफ्नो अङ्हकारलाई 'प्रतिष्ठित' गर्न लागिपरेका छन्।

अहङ्कारलाई प्रस्फुटित गर्ने दुईवटा बाटो रहेछन्। पहिले बाटो रहेछ, म सबैभन्दा ठूलो हुँ भन्ने सोचाई तर यसलाई प्रमाणित गर्न वा सिद्ध गर्न कठिन रहेछ। अरबौँ मान्छे सुरुमा यही सिद्ध गर्न खोज्दो रहेछन्।

एउटा मान्छेको प्रतिस्पर्धा, अर्बौ मान्छेसँग हुनेरहेछ। एक-एक मान्छे, अरबौ मान्छेसँग लड्ने तर जित कसैको नहुने। यो पहिलो तरिकाले जित नभएपछि ब्यक्तिको मनले सुघम र सजिलो दोस्रो बाटो खोज्दोरहेछ।

म सबैभन्दा राम्रो हुँ भनेर सिद्ध गर्न कठिन भए पनि  मभन्दा राम्रो कोही छैन भनेर सिद्ध गर्न सजिलो रहेछ। मभन्दा राम्रो कोही पनि छैन, भन्नका लागि निन्दाको सहारा लिइँदोरहेछ। अनि निन्दा शुरु हुँदोरहेछ। एउटाले अर्कोको गल्तीलाई कर्तुत मान्दै जोडजोडले भाषण गर्दै जनतालाई सुनाउने रहेछ।

आफू बदनाम भएपछि अरुको झन् धेरै बदनाम गर भन्ने मान्यता हुँदोरहेछ। मैले खुबै ख्याल गरे। कुरा के रहेछ भने कुनै पनि चिजको विधायक पक्षलाई सिद्ध गर्न कठिन रहेछ तर नकारात्मक वक्तब्य  दिनको लागि धेरै सजिलो हुनेरहेछ।

त्यसैले केपी, माधव र प्रचण्डहरुले एकले अर्कालाई धुँवादार र नकारात्मक गाली गरेर आफू राम्रो बन्न खोजिरहेको दृष्य देखिरहेँ। उसले धेरैभन्दा धेरै गल्ती गरेको छ। उसले मैलेभन्दा धेरै गल्ती गरेको छ। त्यसैले म ऊभन्दा राम्रो हुँ। त्यसैको उपज रहेछ, तुच्छ गालीहरु।

यी तुच्छ चिन्तनहरु। ती तुच्छ आचरणहरु। वामपन्थी आन्दोलनमा नमिलेको कुरा नै आदर्श र आचरण रहेछ। उनीहरुको आदर्श महान देखिन्छ तर आचरण भने तुच्छ । तुच्छ आचरणले महान आदर्शलाई कसरी पुरा गर्न सक्छ र? सक्दैन।

आदर्श महान भएजस्तै आचरण पनि महान हुने हो भने प्रतिफल नै फरक हुन्थ्यो। तर यस्तो कहिल्यै सम्भव होला जस्तो लाग्दैन। यस्तै यस्तै कुराहरु देखिरहेको छु म।

दुई पार्टी एकीकरण हुँदा दुवै पार्टीका कार्यकर्ता कति धेरै उत्साही थिए। हामी एक हौँ भन्ने मनोबिज्ञान बनेको थियो। कार्यकर्ताहरु त छुट्टिन खोजेका थिएनन्। कार्यकर्ता नछुट्टिने चाहाना भए पनि पार्टीको धुरीबाट नै कलह सुरु भएको थियो।

जुन कलह तल्लो कार्यकर्तासम्म पुगेर ‘तेरी-मेरी’ चलिरहेको छ। यो कलह चलिरहने देखिन्छ। जसको कारण एमाले मात्र हैन, समग्र वामपन्थी आन्दोलन नै कमजोर हुने देखिन्छ।

यस कलहभित्र लुकेको सन्देश के रहेछ भने नि, नेतृत्व दोश्रो पुस्तामा हस्तान्तरण गर्दै त्याग र समर्पणसहित नयाँ आधारमा पुन: पार्टी एकीकरण गर्ने। तर यो तत्काल सम्भव देखिँदैन।

एकातिर यस्तो छ भने, अर्कोतिर देखिएका दृष्यका परिभाषाहरु अलि फरक लाग्छन्। माओवादीका कार्यकर्ताले एमालेसँग पार्टी एकीकरण हुनुभन्दा अगाडिसम्म आफूलाई छुट्टै जात मान्दथे। अब पनि फेरि छुट्टै जात मान्न बेर छैन।

एमाले र मदन भण्डारीलाई संशोधनवादी, दक्षिणपन्थी जस्ता विभिन्न उपमा पहिर्‍याउँदथे तर घटनाक्रम फरक तरिकाले विकास भएको थियो। स्वयम् प्रचण्डले सूर्य चिन्ह र मदन भण्डारीलाई सम्झँदै आफ्नो भाषण र विचार राख्न थालेका थिए। मदन भण्डारीलाई आफ्नो मार्गदर्शन मान्न पनि भ्याएका थिए।

माओवादीले सूर्य चिन्हमार्फत् आफ्नो अभिभावकत्व खोजिरहेका थिए तर आज पार्टी छुट्टिएको घोषणा भएको छ। अब केही ठूला नेताको जुँगाको लडाइँभन्दा बाहेक अरु सैद्धान्तिक केही तात्विक भिन्नता देखिँदैन। सबै शान्तिपूर्ण-बाटोबाट समाजवादमा पुग्न चाहन्छन्।

त्यसैले किन त्यो पुन:स्थापित माओवादीमा पुराना कार्यकर्ता फर्कनु पर्‍यो र? पर्दैन। त्यसको खास औचित्य नै देखिँदैन। आफूलाई माओवादी छुट्टै जात मान्ने र जुँगाको लडाईमा सहभागी हुनेहरु केही त माओवादीमा फर्केलान्। आउँदा दिनमा चुनाव भयो भने चुनावमा पनि जालान्। चुनाव हुन सक्ने सम्भावना त छ।

त्यतिबेला माओवादीले आफ्नो पुरानो चिन्ह ‘हसिया-हतौडा’ लिएर सभाहरु गर्दै जनतामा जाने होलान्। त्यतिबेला प्रचण्डले भन्ने होलान्, ‘हसिया-हतौडा’ हाम्रो चुनाव चिन्ह हो। हसिया हथौडामा भोट दिनुस्, सूर्य हाम्रो चिन्ह हैन। यदि ‘हसिया हथौडा’ मा भोट नदिने हो भने आँधीहुरी, तुफान आउने छ। फेरि यस्तै त भन्ने होलान्। हेर्न बाँकी छ।

यस किसिमका घटनाले गर्दा, प्रचण्ड अब ‘भरपर्दो पात्र’ देखिँदैनन् भन्ने मैले सोचे तर मेरो सोचाइलाई इतिहासले ‘झक्झकायो’। सम्झायो प्रचण्डको विगतको ‘योगदान’ लाई। हो त्यही योगदान, जुन योगदानले गर्दा देश गणतन्त्रसम्म गयो।

कार्यकर्ता थोरै भए पनि र जसले जे भने पनि प्रचण्ड भन्ने पात्र भने सधैँ एउटा अर्को शक्तिकेन्द्र बनिरहेको देखिन्छ। मदन भण्डारीले नेता हुने भए राजालाई श्रीपेच फुकालेर, चुनावमा आफूसँग प्रतिस्पर्धा गर्न आउनको लागि लंलकारेका थिए।

यो गणतान्त्रिक सोच थियो। यही गणतान्त्रिक सोचलाई सपना बनाएर पुरा गर्ने काम प्रचण्डले गरेका हुन्। प्रचण्डले सुरु गरेको दश वर्षे जनयुद्धको आधारमा जनआन्दोलनमार्फत राजतन्त्रको अन्त्य भएको थियो। गणतन्त्र आएको थियो।

त्यसको लागि प्रकृया थियो। संविधान सभाको चुनावको सहमति गर्दै शान्ति सम्झौता भएको थियो। सम्झौताको लागि एउटा शक्ति सात-पार्टी थियो भने अर्को शक्ति माओवादी थियो। माओवादीले गणतन्त्रलाई पहिलो मुद्धा बनाएका थिए।

आफूले देखेको सपनामा सबैलाई हिँडाएका थिए। आफ्नो काटिएको टाउको मूल्य राखेर भए पनि गणतन्त्रमै गएका थिए। जस्तो राजा भए पनि समान्तिको अवशेष मानेको राजतन्त्रलाई, माओवादीको जनयुद्ध नभैदिएको भए अहिल्यै वा कहिल्यै नजान पनि सक्दथ्यो।

गणतन्त्रको लागि माओवादीले आफै देखेको सपना एक-दशकमै पुरा गर्न सक्नु सानो कुरा थिएन। तुलनात्मक रुपमा सपना सानो वा ठूलो जस्तो होला तर त्यो सपनालाई मर्न नदिनु नै ठूलो कुरा रहेछ।

गणतन्त्रका सपनाहरु, जब साकार भएर महोत्सवको रुप लिइरहेका थिए। त्यतिबेला गिरिजाबाबु र प्रचण्डलगायत नेताले महशुस गरेको आफ्नो ‘आनन्द’ लाई, नृत्यमा ब्यक्त गरेको दृष्यहरु सम्झिरहेको थिए।

म समय हुँ। दृष्यहरु हेरिरहेँ। दृष्यहरु फेरिरहेँ। दृष्यहरु फेरिए पनि फेरि अभिनय भने उस्तै रहिरह्यो। त्यस्को कारणहरु खोजी रहेँ। नेपालमा विश्व स्तरका नेता नजन्मिएको कारणले नै यो देशमा अस्थिर राजनीति घटना विकास भएको हो र? यदी त्यस्ता नेता छन् भने, ०१७ सालदेखि आजसम्म किन यस्तो राजनीतिक अस्थिरता छ त? यो बेजोड प्रश्न हो।

समयसँग ठोक्किने यो बेजोड र जीवन्त प्रश्न थियो। यो जीवन्त प्रश्नको कारण मदन भण्डारीको ओज देखाइदियो। वीपी कोईरालाको उच्च-चिन्तन भेट्टाइदियो।

मदन भण्डारीलाई अमेरिकी स्थापित मिडिया न्युजविकले ‘नेपाली कार्ल मार्क्स’ को उपमा दियो। नेपालमा त्यतिबेला मदन भण्डारी जस्तै भाषण कलामा ख्याती कमाएका र टाइगर अफ दि पार्ल्यामेन्ट उपनामले चिनिने नेता लिलामणि पोखरेलले दासढुङ्गा फिल्म बन्ने बेलामा भनेको सम्झन्छु– ‘मदन भण्डारी भनेको करेस्मेटिक-क्यारेक्टर भएको ब्यक्तित्व हो।’ 

लिलामणि पोखरेलले बर्षौअघि भनेको त्यही कुरा प्रचण्ड यस पटक बिशाल सभामा भन्दै थिए। त्यसैले यो बिषय महत्वपूर्ण छ भनेरनै आज लिपिबद्ध गर्न खोजिएको छ। त्यही मान्छेको मृत्युको कारण खोजेको समयरुपी ‘म’।

मलाई थाहा छ, खोजेपछि केहि भेटिन्छ भन्ने। त्यसैले मदन-आश्रितको मृत्युको कारण खोजिनुपर्छ। मदन भण्डारीको नाम र दार्शनिक सोचको ‘क्रेडिट वा सेम्पेथी’ लिने मात्र होइन। मदन-आश्रितको मृत्युको कारण खोजी कार्य शुरु गरिनुपर्छ भन्ने नै समयको माग हो।

सबै मिलेर राज्यस्तरबाट एउटा उच्चस्तरीय अनुसन्धान आयोग बनाएर खोजिन बाँकी छ। यो कुरालाई जानौ। झगडा मात्र गरेर नबसौ। एकले अर्कोको प्रसंसा गरौ। जसले मदन-आश्रितको मृत्युको कारण खोज्ने पहल गर्छ त्यही नै अबको बामपन्थी आन्दोलनको ठूलो र बलियो शक्ति बन्ने छ।

म समय हुँ। मैले एउटा रसपूर्ण सिधा-कथा भनिरहेको छैन। यही र यस्तै निरस भए पनि समयका यथार्थ कथा सुनाइरहेको छु। यो कथा मैलेबाहेक अरुले सुनाउन पनि सक्दैन। किनकी, इतिहास समयसँग गुज्रिएको थियो। हरेक पात्रलाई  मैले समय बनेर देखेको थिए।

अहिलेका मात्र होईन, बर्षौ पहिलेका कथा छन्, मसँग। अहिले म त्यही बर्षौ अघिको वातावरण सम्झिरहेछु। मदन-आश्रितको देवहसान भएको त्यो जेठ तीनपछि सुनिएका हल्लाले मेरो कानहरु गुन्जिरहेको छ। स्मृतिमा रहेका ती आवाजहरु ताजा भएका छन्।

मदन-आश्रितको मृत्युको कारण खोज्ने र दोषीलाई कार्बाही गर्ने संकल्प गरेका नेता पुन:स्थापित एमालेभित्र सूर्य चिन्हको लडाई शुरु गरिरहेका छन्। राष्ट्रपति मौन हुनुहुन्छ।

अहिले पनि एमाले पार्टीमा के हुन्छ भन्ने खासखुस चलिरहेको छ। मदन-आश्रितको मृत्युको त्यो जेठ ३ गते पछि पनि यस्तै खासखुस चलेको थियो। ती खासखुसलाई सम्झिरहेँ।

भीडबाट हो कि! हैन! हैन! कतै नेपथ्यमा हो क्यारे! खासखुस चलिरहेकै थिए। खासखुस गर्दै भनिरहेका थिए, मर्ने कारण नेताहरुलाई थाह थियो रे। खासखुस-खासखुस चल्यो, पोखरामा अपरिचित मान्छे आएर नेताहरुलाई सोध्यो रे!  यसरी नै अफवाहहरु फैलिए, हल्लाहरु चलिनै रहे!

यसरी नै जेठ ३ गते पनि धेरै पटक गैरहे। यसरी नै  नेता-नेतृहरु सरकारमा मन्त्री बन्न गैरहे। यसरी नै सरकार आए र गए। यसरी नै जनयुद्ध भयो र गयो। यसरी नै राजाका स–परिवार मारिए। यसरी नै राजा आए र गए! यसरी नै श्रीमती-महामहिम हुनुभयो! यसरी नै देशको वातावरण परिवर्तन भइरह्यो। धेरै भयो। दासढुङ्गा बिषयको तिब्रतालाई राजनीतिक परिस्थितिले खिया लगाउन खोजिएको छ।

जबजको सैद्धान्तिक दर्शनभन्दा पार्टीभित्र नेताको ‘पावरको अप्रोज’ ले उछनिसकेको छ। मार्क्सभन्दा फ्रायडले प्राथमिकता पाएको छ। यही बेला सूर्य चिन्ह, मदन भण्डारी हुँदै प्रचण्डसम्मको प्रिय भएको देखिन्छ। एमालेभित्र फेरि अस्तित्व र सूर्य चिन्हको लडाई शुरु भएको देखिन्छ।

समयले आज प्रचण्ड नामक पात्र मार्फत घटित घटनाहरु र विकसित अवस्थाहरु हेर्यो। कुनै बेलामा उनकै पार्टीले सूर्य चिन्हको उम्मेदवारको हत्या गरेको थियो। तर त्यही पात्रले सूर्य चिन्ह हाम्रो हो भन्ने दिन देखियो। ठिक त्यस्तै २०६२-६३ को आन्दोलनले उत्कर्ष रुप लिन खोज्दै थियो। माओवादी पनि त्यो आन्दोलनको जुलुसमा थिए।

सारा जनता जागेका थिए। ब्यापारी, बुद्धिजीवी, कर्मचारी, साधारण जनता सबैले राजा चाहिदैन भन्दै थिए। ठिक त्यही बेला केपी ओली भन्दै थिए, नेपालमा ‘गणतन्त्र’ ल्याउँछु भन्ने सपना त ‘बयल-गाढा’ चढेर अमेरिका जान्छु भन्ने जस्तै हो।

गणतन्त्र आउने कुरा सम्भव नै छैन भनेका केपी ओली आज गणतन्त्र नेपालको शक्तिशाली प्रधानमन्त्री बनेका छन। त्यो पनि ‘दुई-तिहाइ’ बहुमतको समर्थनको साथ। त्यतिबेला केपी ओलीलाई उनको हिजोको योगदान भुलेर धेरैले गाली गरेका थिए। आजको दिनमा प्रचण्डलाई गाली गरे जस्तै।

यस्तो हुदोरहेछ। समयसँग यस्ता घटनाका दृष्यहरु देखिदै जाने रहेछन्। समयको गुण नै आशावादी हुनु हो। फरक गुण भएका पात्रलाई समयले फरक जिम्मेवारी दिँदो रहेछ। यी पात्रको सौहार्दताको दृष्य पनि देखियोस्। दासढुङगालाई खोजियोस्। मुलुक संबृद्धीतिर बढोस् । मेरा आशाहरु यिनै हुन्।

म समय हुँ। म अनन्त घटनामा निरन्तर अभिब्यक्त भए। हिजोआज र भोलि नै मेरा फरक आयामका कथाहरु हुनेछन्। घटनासँग गुज्रनु मेरो नियती हो। त्यही नियती आज सूर्योदय’सँग बिहानी शुरु भएर प्रचण्ड गर्मी हुँदै सूर्यास्त भयो। तब अन्धकार शुरु भयो।

अन्धकारले दु:ख र यथार्थको जानकारी गराइदियो। आफैले देखेका दु:ख र यथार्थका कथा भन्दै थिए। म छ्टपटिएछु। छट्पटिएर आकाश हेरेको मात्र के थिए, टिलपिल ताराहरु देखिए। ती टिलपिल ताराहरुले उज्यालोको आभाष दिँदै छुट्टै संसारिक अस्तित्वको बोध गराए।

ती छुट्टै अस्तित्वमा पनि जीवन छ। घटना छ। समय छ भन्ने ज्ञान भयो। जहाँ पनि समय छ। प्रिय पाठकहरु, म समय बनेर आफैसँग मन्थन गरेको हुँ। मन्थन गर्दा अमृत र बिष निस्किए होलान्।

कतै कथाका लय हराए होलान्। कतै बाक्य-बिन्यास मिलेन होला। कतै ‘जिकज्याक’ देखियो होला। कतै कुनै प्रसङ्ग नै छुट्यो होला। तर पनि प्रकृतीझै लयबद्ध नभए पनि गतिशील भैरहनुपर्छ। त्यसैले म समय बनेर सुनाइरहेछु। मैले बाहेक अरु कसैले सुनाउन नसक्ने अन्य धेरै कथाहरु लिएर पुन: आउने छु।

प्रकाशित मिति: : 2021-04-01 14:47:00

प्रतिकृया दिनुहोस्