बाथले जोर्नीमात्र हैन शरीरका सबै अंगमा असर गर्छ

तस्बिरः बाह्रखरी

बाथले जोर्नीमात्रै नभएर शरिरका सबै अंगहरुमा असर गर्न सक्छ । यहाँसम्मकि बाथले मुख, आँखा, ढाड जुनसुकै ठाउँमा पनि असर गर्छ । आँखा सुख्खा हुनु, मुख सुख्खा हुनु पनि बाथ रोगका लक्षण हुन । बाथ रोग जोर्नीहरूमा मात्र हुन्छ भन्ने आम नेपालीहरूको धारणा छ तर त्यो गलत हो । बाथ सबैलाई एकै किसिमको नभएर फरक–फरक किसिमको हुन्छ । 

बाथको लक्षण एउटा मात्र नभएर विभिन्न किसिमका हुन्छन् । जोर्नी दुख्ने, ढाड दुख्ने आदि यसका प्रमुख लक्षणहरु हुन् । राति बढी ढाड दुख्ने, हातगोडाका औंला निलो हुने, रक्तनलीमा रगत जम्ने, हातगोडा झमझम गर्ने, हातगोडा बाङ्गिने, गाँठागुँठी आउने, पेट दुख्ने, डाबर आउने, चिलाउने र गर्भ रहेको १२ हप्तापछि गर्भ तुहिनेसम्मको लक्षण बाथरोगमा हुन्छ । कतिपय बाथको कारण अझै पनि थाहा हुन नसकेकै अवस्था छ र विश्वका ठूला मुलुकहरु यसको खोज र अनुसन्धानमा लागिरहेको अवस्था छ । 

 
 

 

बाथरोगको रोकथामका लागि माथि चर्चा गरिएका लक्षणहरु देखिनासाथ बाथरोग बिशेषज्ञलाई भेट्नुपर्छ । बाथका कारण हातगोडा बाङ्गिएपछि सीधा हुँदैन । त्यसैले लक्षण देखिनासाथ सुरुको अवस्थामा नै उपचार गर्नु महत्वपूर्ण हुन्छ । 

बाथ रोगको औषधिले पनि कलेजो, किड्नीमा नकारात्मक असर गर्छ । त्यसैले आफुखुशी फार्मेसीमा गएर औषधि किनेर खानुहुँदैन । त्यसैले चिकित्सकको सल्लाहअनुसारमात्र औषधि सेवन र प्रयोग गर्नुपर्छ ।  बाथको औषधिले अन्य अंगहरुमा असर गर्ने हुनाले समय समयमा चिकित्सकको सल्लाहअनुसार औषधिको मात्रा (डोज) समयान्तर गरी औषधि खाने नखाने गर्नुपर्छ तर यो चिकित्सकको सल्लाहबमोजिम मात्रै गर्नुपर्छ ।
 
बाथरोगका बिरामीहरूले खानपानका बारेमा धेरै प्रश्न सोध्छन् । बाथरोगमा कुनै पनि खानेकुरा बार्नुपर्ने भन्ने नै हुँदैन । कसैलाई के खाँदा हुन्छ त, कसैलाई के खाँदा, त्यो डाक्टरलाई समेत थाहा हुँदैन । त्यसैले जे खाँदा बढी हुन्छ, त्यो नखाने गर्नुपर्छ, तर अत्यधिक रूपमा केही खानु हुँदैन । रातो मासु र गेडागुडी कम खानुपर्छ । कुनै–कुनै बाथ रोग उपचार गरेर निको नहुने हुन्छन् । कतिपयले युरिक एसिडमात्रै बाथरोग हो भनेर पनि बुझेका छन् तर युरिक एसिडमात्रै बाथरोग होइन । र पक्का कुरा के भने खानपान बारेर बाथरोग निको हुँदैन उपचार गर्नैपर्छ ।
बाथरोग समयमा नै निरुपण गरी उपचार गर्न सकिन्छ तर बाथरोग पहिल्यै नहुनका लागि के गर्ने भन्ने चाँहि हुँदैन । बाथ हुँदै नहुने नियम र उपाय केही छैन । कसलाई हुन्छ भन्ने कसैलाई थाहा हुँदैन ।

प्रकाशित मिति: : 2019-08-28 07:12:57

प्रतिकृया दिनुहोस्