प्रदेश ३ मा ३ अर्ब ५० करोड बजेट सडक पूर्वाधारमा खर्च

तस्बिरः नेपाल न्यूज

सडकलाई विकासको सबैभन्दा पहिलो पूर्वाधारको रुपमा लिने मान्यता अझै छ। सडक सुविधालाई विकासको मेरुदण्ड नै मान्ने गरिन्छ। यसै मान्यताका कारण स्थानीयबासीको पहिलो माग पनि सडक सुविधा नै हुने गरेको छ। स्थानीयहरू तर्क नै गर्छन्, ‘बाटो भए पो हाम्रो उत्पादन बजारसम्म पुग्छ, हाम्रो जीवनशैली परिवर्तन हुन सक्छ।’

जनप्रनिधि निर्वाचित भएर आएपछि जनताको माग सम्बोधन हुने अपेक्षा जनातामा हुन्छ नै। प्रदेश ३ सरकारले स्थानीय सर्वसाधारणको सडक सुविधाको मागलाई सम्बोधन गर्दै गत आर्थिक वर्षमा साँढे ३ अर्ब रकम बाटोमा खर्च गरेको छ।

प्रदेश ३ सरकारले गत आर्थिक वर्षमा ३ अर्ब ५० करोड रुपियाँ सडक पूर्वाधारमा खर्च गरेको हो। प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले सडक पूर्वाधारका लागि आएको बजेट ५७ प्रतिशत खर्च गरेको हो।

निर्देशनालय अन्र्तगत रहने ६ वटा पूर्वाधार विकास कार्यालयल र दुई वटा डिभिजन कार्यालयबाट कुल बजेट ६ अर्ब ५० करोडको ५७ प्रतिशत अर्थात ३ अर्ब ५० करोड खर्च गरेको निर्देशनालयले जनाएको छ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा प्रदेशभित्र १४ वटा सडकमा पुल बनाएको छ। ललितपुरमा २, काभ्रेपलाञ्चोकमा ३, सिन्धुपाल्चोकमा ४, रामेछापमा २, नुवाकोटमा ३ वटा पुल बनेको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ।

सडक पूर्वाधार अन्तर्गत नै पक्की र नालाहरू पनि निर्माण भएका छन्। ललितपुरमा ४ दशमलव ४ किलोमिटर नाला बनेको छ। यस्तै टेवा पर्खाल पनि ललितपुरमा ९ किलोमिटर बनेको छ। ललितपुरमा नै ट्रस ब्रिज निर्माण एउटा, ट्राफिक लाइट व्यवस्थापन दुई वटा र ढलको कार्य ३ किलोमिटर भएको छ।

निर्देशनालयका अनुसार सडक पुल सर्भे २२ वटा भएको छ भने २ सय १० किलोमिटर सडक सर्भे गत आर्थिक वर्षमा भैसकेको छ। यसको बाँकी काम चालु आर्थिक वर्षमा हुनेछ।

निर्देशनालयका निमित्त निर्देशक डा.सहदेब बहादुर भण्डारीका अनुसार सडक पूर्वाधार विकास अन्तर्गत प्रदेश ३ को विभिन्न जिल्लामा ४ सय १८ दशमलव ९९ किलोमिटरको कच्ची सडक निर्माण भएको छ। यस्तै ग्राभेल सडक १ सय ६० किलोमिटर निर्माण भएको छ। कालोपत्रे सडक ९० किलोमिटर, ढलान सडक ४ किमि भएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2019-08-26 07:25:14

प्रतिकृया दिनुहोस्