इमोबाट अपराध : युवतीलाई अश्लील तस्वीर पठाउँदा फन्दामा, १ लाख जरिवाना !

काठमाडौं– मकवानपुरकी १९ वर्षीया सरिता तामाङ (नाम परिर्वन)लाई एक दिन इमोमा फोन आयो ।

पहिलोपटक त उनले उठाइनन् । दोस्रोपटक आफन्त हो कि भन्ठानेर उठाइन् । फोनमा बोल्ने आवाज नौलो थियो ।

‘तपाईं को हो ?’ सरिताले प्रश्न गरिन् । उनले नबोलिकन फोन राखे । सरितालाई खुल्दुली भयो– को होला फोन गर्ने तर नबोल्ने ?

उनले केही समयपछि इमोमै फोन फर्काइन् । उताबाट आवाज आयो– ‘हेलो !’ आवाज मधेसी लवजको थियो ।

उनले सोधिन्, ‘तपाईं को हो ?’ जवाफ आयो– ‘म तपाईंकै मान्छे ।’ 

‘नचिनेको मान्छे के ल्याङल्याङ गरेको होला !’ उनले रिसाउँदै फोन राखिन् ।

तर, उताबाट फोन आउन छाडेन । बिस्तारै कुराकानी पनि हुन थाल्यो ।

केही दिन त बोलिन्, तर नचिनेको मान्छे भनेर फेरि फोन उठाउन छाडिन् ।

उताबाट फोन आइनैरहन्थ्यो । ती व्यक्तिले फोटोहरू पनि पठाउँथे । सामान्य फोटो आउँदा उनले इग्नोर गरिरहेकी थिइन् ।

एकदिन त उनी छाँगाबाट खसेजस्तै भइन्, उनलाई इमोकै म्यासेजमा ती व्यक्तिले पुरुष यौनाङ्गको फोटो पठाएका थिए ।

उनको धैर्यताको बाँध टुट्यो । फोन गरेर थर्काइन्, तर त्यस्तो फोटो आउने क्रम रोकिएन ।

अति भएपछि उनले आफन्तलाई घटनाबारे बताइन् । आफन्तकै सल्लाहमा जिल्ला प्रहरी कार्यलय मकवानपुरमा उजुरी दिइन् ।

जिल्ला प्रहरी कार्यलयले उक्त उजुरीमाथि अनुसन्धानका लागि साइबर अपराध अनुसन्धान ब्यूरोलाई आग्रह गर्‍यो ।

उजुरी प्राप्त भएपछि ब्यूरोको टोली खटियो । सरितासँग ती व्यक्तिको मोबाइल नम्बर पनि रहेकाले पत्ता लगाउन निकै सहज भयो । पक्राउ परे रौतहटमा समान्य व्यापार गर्दै आएका हरिशरण यादव (नाम परिर्वत) ।

प्रहरीले पक्राउ गरेर उनलाई काठमाडौं ल्यायो र कारवाही प्रक्रिया अगाडि बढायो । सबै प्रमाण हरिशरणको खिलाफमा आयो ।

प्रहरी अनुसन्धान सकिएपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भयो ।

अदालतबाट पनि उनी दोषी ठहरिए । विद्युतीय कारोवार ऐन– २०६३ को दफा ४७ बमोजिम दोषी ठहर भएका उनलाई एक लाख जरिवाना गरी छाडियो ।

प्रकाशित मिति: : 2019-08-25 18:18:29

प्रतिकृया दिनुहोस्