बालगृहका नाममा ठगी धन्दा

तस्बिरः एजेन्सी

काठमाडौं - कालिकोटको तिलागुफा नगरपालिका ९ का जयबहादुर विकले छिमेकीमाझ अनौठो प्रस्ताव राखे। प्रस्ताव थियो– अभिभावकले सुरुवाती चरणमा केही रकम उपलब्ध गराए कक्षा १० सम्म काठमाडौंमा निःशुल्क अंग्रेजी माध्यममा पढाइदिने। साँझबिहान घरपरिवार चलाउन समेत धौधौ भएका अभिभावकका लागि उक्त प्रस्ताव आकर्षक थियो। आफ्नै चिनेजानेका छिमेकी जयबहादुरबाट राम्रो खालको प्रस्ताव आएपछि हिमा गाउँपालिका ७ का रामबहादुर बुढा केही पैसा तिरेरै भए पनि आफ्ना दुई छोरी काठमाडौं पठाउन राजी भए।

बुढाले छोरीलाई उच्च शिक्षा अध्ययन गराउनकै लागि भनेर जयबहादुरले सञ्चालन गर्दै आएको बूढानीलकण्ठ नगरपालिका ८ गल्फुटारमा रहेको कर्णाली होम बालगृहमा २०७५ जेठमा पठाए। जयबहादुरको धन्दा भने अर्कै रहेछ। जयबहादुरले विकट गाउँबाट बालबालिका ल्याएर पढाउनुको सट्टा उल्टै अलपत्र पार्दारहेछन्। अभिभावककै उजुरीका आधारमा साबिकको केन्द्रीय बाल कल्याण समिति (हालको राष्ट्रिय बालअधिकार परिषद्) ले अनुगमनका क्रममा जयबहादुरले कानुनविपरीत बालबालिका ल्याएर अलपत्र पार्दै आएको भेट्टाएसँगै गत वैशाख २४ गते १९ जना बालबालिकाको उद्धार गरिएको थियो। 

बालगृह सञ्चालकले प्रलोभन देखाई अभिभावकसँग रकम असुल्ने तर बालबालिकालाई उचित वातावरण नदिने गरेको केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनले देखाएको छ।

‘चिनेजानेका आफ्नै गाँउघरका मान्छेको विश्वास गरेर छोराछोरीकै राम्रो होला कि भन्ठानेर काठमाडौं पठायौं,’ पीडित अभिभावक रामबहादुरले भने, ‘अहिले यस्तो हविगत भोग्नुप-यो।’ पीडित अभिभावकले धनबहादुरविरुद्ध जालसाजी गरेर ठगी गरेको भन्दै वैशाख अन्तिम साता महानगरीय प्रहरी वृत महाराजगन्जमा उजुरी दर्ता गरेका छन्। ‘तर अझैसम्म अभियुक्त पक्राउ परेका छैनन्,’ रामबहादुरले भने, ‘राज्य संयन्त्रले के हेरेर बसेको छ ? जयबहादुर कति पावरफुल रैछ प्रहरीले खोज्दा समेत नभेट्ने ?’ आफूहरुलाई ठगे पनि अन्य कर्णालीबासी नठगिऊन् भनेर प्रहरीमा उजुरी गरेको उनले बताए। ‘हामी त चिनेजानेकै मान्छेबाटै ठगियौं,’ उनले भने, ‘हामीजस्तै अरु नठगिऊन् भनेर उजुरी गरेका हौं। तर, प्रहरीले काम गर्नै सकेन।’ जयबहादुरबाट जुम्ला र कालीकोटका अन्य १९ जना बालबालिकाका अभिभावक पनि ठगिएका छन्।

प्रकाशित मिति: : 2019-08-24 07:15:44

प्रतिकृया दिनुहोस्