‘क्षतिपूर्ति’ दिलाएर बलात्कार घटना मिलाउने प्रयास

१. अभियुक्त गोबिन्द दमाईलाई सार्वजनिक गर्दै प्रहरी । २. बलात्कार घटना मिलाउन खोज्ने आरोपीहरु । तस्बिर: अर्जुन/नागरिक

नेपालगन्ज– बाँकेको कोहलपुरमा पीडित पक्षलाई ‘क्षतिपूर्ति’ दिलाएर बलात्कार घटना मिलाउने प्रयास गरिएको छ। गत असार २१ गते अपरान्ह साढे ५ बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर ११ का ३८ बर्षिय ‘विजय’ भनिने गोबिन्द दमाईले ६ बर्षिया नाबालिकालाई बलात्कार गरेका थिए। घटनालगत्तै फरार भएका उनले पीडित पक्षलाई ‘क्षतिपूर्ति’ वापत लाखौं रकम दिएर मिलाउने प्रयास गरेका हुन्। 

पीडित परिवारका अनुसार घटनापछि गोविन्दको परिवारले क्षतिपूर्ति लिएर मिल्न बारम्बार दबाब दिँदै आएको थियो। घटनालाई थामथुम पार्न पीडक पक्ष पीडित परिवारलाई साढे ३ लाखदेखि ४ लाख रुपैयाँसम्म बुझाउन तयार भयो। दुबै पक्षलाई मिलाउन गाउँका भद्र भलाद्मी तथा अगुवाले समन्वय गरे। पटक–पटकको छलफल पश्चात अन्तिम निर्णयका लागि पीडक पक्षसहित भद्र भलाद्मी र अगुवा बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानी गाभरस्थित होमस्टेमा बुधबार भेला भए। 

 

पीडित परिवारलाई साढे ३ देखि ४ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिलाउने, पैसा लिन पीडित परिवारलाई सम्झाउने, अदालतमा मुद्दा चले पनि बीचमा पीडितलाई बयान फेर्न लगाउने योजना बन्दै गर्दा उनीहरु प्रहरीको फन्दामा परे। 

छलफलको क्रममा पीडित परिवारलाई साढे ३ देखि ४ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने, पैसा लिन पीडित परिवारलाई सम्झाउने, अदालतमा मुद्दा चले पनि बीचमा पीडितलाई बयान फेर्न लगाउने योजना बन्दै गर्दा उनीहरु प्रहरीको फन्दामा परे। 

पक्राउ परेका बलात्कार अभियुक्त गोविन्दसहित कोहलपुर नगरपालिका १२ बस्ने ६० बर्षिया नैनसरा बादी, सोही ठाउँ बस्ने ५० बर्षिया दुर्गा नेपाली, वडा नम्बर ११ बस्ने ६५ बर्षिया पार्वती नेपाली, सोही ठाउँका दलबहादुर दमाई, २८ बर्षिय टिकाराम परियार, ३० वर्षिया ईश्वरी परियार, ३९ बर्षिया जीवन थापा र ५५ बर्षका सितल चनारा अहिले ईप्रका कोहलपुरको हिरासतमा छन्। पक्राउ परेकी नैनसरा ‘बादी’ समुदायका महिलाको वकालत गर्छिन्, भने थापा गाउँका भद्र भलाद्मी हुन्। उनी सुकुम्बासी टोलको अध्यक्ष समेत हुन्। यसैगरी पार्वती पीडक गोविन्दकी आमा तथा दुर्गा र ईश्वरी दिदी नाता पर्छन्। त्यस्तै दलबहादुर र सितल पीडक गोविन्दका अंकल तथा टिकाराम जेठान रहेको बुझिएको छ। 

ईप्रका कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले पीडक पक्ष, भद्र भलाद्मी र गाउँका अगुवा बसेर बलात्कार घटनामा मिलापत्र गर्न लागेको सूचना प्राप्त हुने वित्तिकै गाभरमा टोली पठाएर नियन्त्रणमा लिइएको बताएका छन्। ‘मिलापत्र गरेर पीडित परिवारलाई ३ लाखदेखि साढे ३ लाख जति क्षतिपूर्ति दिने र अदालतमा मुद्दा पेश भए पनि पीडितलाई बयान फेर्न लगाएर मुद्दा कमजोर पार्ने रणनीति बनाइरहेको अवस्थामा नियन्त्रणमा लिएका हौं’, उनले भने। 

पीडित पक्षलाई क्षतिपूर्ति दिएर घटनालाई मिलाउन उनीहरुले यसअघि दुई चरणमा छलफल गरिसकेको र अन्तिम चरणमा छलफल गर्ने क्रममा पक्राउ परेको डिएसपी सिंहले जानकारी दिए। उनले थपे, ‘प्रतिवादी दमाईले बालिकाको आमालाई पटक–पटक सम्पर्क गरी विभिन्न किसिमका आर्थिक लोभ देखाएपछि घटनामा चलखेल हुँदैछ भन्ने सूचना हामीलाई पीडित परिवारले नै दिएको थियो, पीडित परिवारकै सहयोगमा यिनीहरुलाई समात्न सफल भएका हौं।’ 

प्रकाशित मिति: : 2019-08-22 15:15:43

प्रतिकृया दिनुहोस्