बकर इद सकिएको पर्सिपल्ट। रंगपुरको एउटा भित्री गाउँ। सिमलबाग, बंगलादेश।
प्रचण्ड गर्मी।
कोठाभित्र गर्मीले असाध्यै उमालेपछि म पंखा किन्न बजार निस्कें। दुईटा पंखा त कोठामै थिए। अर्को टेबुल पंखा नभई नहुने भयो।
तीन किलोमिटर परको बजार जान रिक्सा चढें। रिक्सा ओरालो लाग्यो। मनमा अनेक सोचहरू उकाला लागे। सडक छेउका बिजुलीका पोलहरू एकएक गरी पछाडि छुट्दै गए। ठीक त्यसै गरी हृदयका कुनाकुनामा आमाको याद, गाउँको याद, देशको याद आउँदै छुट्दै गए। क्यामेराको रिलजस्तो। यहाँको घामले के पोल्थ्यो, त्योभन्दा बढी पोल्छ– गाउँको यादले !