२२ वर्षअघि खेलकुद यात्रा सुरू गर्दा तारादेवी पुन भलिबल खेलाडी थिइन्।
२०५४ सालमा उनी १६ वर्षकी हुँदा म्याग्दीबाट भलिबल खेल्न नपालगञ्ज पुगेकी थिइन्। चौथो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट स्वर्ण जितेकी ताराले २ वर्षपछि जीवनको बाटो मोडिन्। भलिबल छाडेर भारोत्तोलन रोजिन्।
त्यही रोजाइले ताराको परिचय बदलियो। आफूले भाग लिएका राष्ट्रिय प्रतियोगितामा सधैं पहिलो भएकी तारा दुई दशकदेखि नेपालकै 'बलियी' (स्ट्रङ्गेस्ट) महिला खेलाडीका रुपमा चिनिन्छन्।
गत साता भएको सुनील जोशी स्मृति राष्ट्रिय प्रतियोगितामा उनी 'स्ट्रङ्गेस्ट' खेलाडी घोषित हुन सफल भइन्। सिनियर ७६ केजी तौलमा खेलेकी उनले कुल १७० किलो भार उचालेर स्वर्ण जितेकी थिइन्।
निरन्तर २२ वर्ष खेलकुद क्षेत्रमा सक्रिय तारा लगातार पाँच राष्ट्रिय खेलकुदमा भाग लिएर पाँचै वटा प्रतियोगितामा स्वर्ण पदक जित्ने नेपालकी एक्ली खेलाडी हुन्।
दुई दशक नेपाली भारोत्तोलनमा राज गरेकी ताराको बाल्यकाल भने दुःखैदुःखमा बितेको थियो। त्यही दुःख उनको खेल जीवनमा वरदान साबित भयो।
'म ठूलो हुँदासम्म हाम्रो घर थिएन। गोठमै जन्मिएँ, गोठमै हुर्किएँ,' तारा बाल्यकाल सम्झिन्छिन्।
तारा काम गर्न सक्नेपछि बुबाले घर बनाउन थाले।
'कामदार लगाएर घर बनाउने स्थिति थिएन। दाजुहरू र मैले चाहिने काठ र ढुंगा बोक्थ्यौं। ठूल्ठूला ढुंगा पिठ्यूँमा बोकेको अझै याद छ,' तारा भन्छिन्।
बाल्यकालदेखि नै बलियी र मोटीघाटी तारा गाँउकै ठूलो भारी घाँस ल्याउने केटीमा पर्थिन्।
'कुखुराले जहाँ अण्डा पार्यो त्यहीँबाट झिकेर खाइदिन्थेँ। दुहुँदै गरेको दूध पिउँथेँ,' तारा आफ्नो तागतको राज खोल्छिन्।
उनी खेलकुदमा त्यस्तै थिइन्। कबड्डी खेल्दा विपक्षीका एक हुल नै सोहोरेर ल्याउथिन्। गाँउकी राम्रो भलिबल खेलाडीमा पर्थिन्। गाँउमा खेलेको भलिबलले उनलाई पश्चिमाञ्चलको टिममा पर्न काफी भयो। २०५४ सालमा पश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै चौथो राष्ट्रिय खेलकुदमा भाग लिन नेपालगञ्ज पुगिन्।
दुई दशकअघिको नेपालगञ्ज सम्झना उनको दिमाखमा तिरमिर मात्र बाँकी छ।
'नेपालगञ्जको चौथो राष्ट्रिय खेलकुद अहिले सपना जस्तै लाग्छ,' ताराले सुनाइन्।
चौथो राष्ट्रिय खेलकुद खेलेर फर्किएपछि उनको भेट तेक्वान्दोकी ओलम्पियन प्रमिला थापासँग भयो। प्रमिलाले तारालाई देख्नेबित्तिकै भारोत्तोलन खेल्न सुझाव दिइन्।
'देख्दा मोटोघाटो भएर होला, उहाँले मलाई भारोत्तोलन खेल्न सुझाउनुभयो। तर मलाई भारोत्तोलन कस्तो खेल हो, कसरी खेलिन्छ, केही थाहा थिएन,' ताराले भनिन्।
भारोत्तोलन खेलाडी बन्ने सपना बोकेर उनी २०५८ साल पुसमा पहिलो पटक काठमाडौं आइन्। तत्कालीन प्रशिक्षक सुनीललाल जोशी भेट्न त्रिपुरेश्वर पुगिन्। लगातार चार दिन त्रिपुरेश्वर धाउँदा पनि जोशीलाई भेट्न सकिनन्।
'म बिहानै त्रिपुरेश्वर आउँथेँ। उहाँ दिउँसो आउनुहुँदो रहेछ। पाँचौ दिन बल्ल सुनील गुरुसँग भेट भयो। उहाँले मिठु गुप्ता गुरुसँग भेट गराइदिनु भयो,' तारा सम्झिन्छिन्, 'मैले भारोत्तोलन खेल्न आएको भनेपछि मिठु गुरुले पत्याउनु भएन। दोहोर्याइ तेहेर्याइ 'पक्का खेल्छौ नि' भनेर प्रश्न गरिरहनु भयो। मैले 'खेल्न सक्छु गुरु' मात्र भनिरहेँ।'
त्यति बेलासम्म भारोत्तोलनमा महिला खेलाडीको उपस्थिति न्यून थियो। अझ गाँउबाट झरेकी र भारोत्तोलनबारे जानकारी नभएकी किशोरीको कुरा पत्याइहाल्ने स्थिति थिएन।