ओलीको ‘प्रयोग’ राजनीति

तस्बिरः नेपाल समाचारपत्र
काठमाडौं। नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रयोगको राजनीतिलाई उपयोग गरेको बताउनुभएको छ।
 
नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘सुरुमा माधव नेपाललाई उपयोग गर्नु भो, अहिले झलनाथ खनाललाई, अध्यक्षले खेल  राजनीति गर्नुभो।’
नेता भुसालले भनेजस्तै यो उपयोगको राजनीतिसँगै नेपाल कम्युनिष्ट पार्टीमा विवादहरू पनि नयाँ ढंगले सिर्जना भएका छन्।
मिलेको पन्ध्र महिनापछि स्थायी, प्रदेश र जिल्लाका इन्चार्ज÷सह–इन्चार्ज, विभागका प्रमुख÷उपप्रमुख र जनवर्गीय संगठनका इन्चार्ज÷सह–इन्चार्जहरूको टुंगो लगाएको सचिवालयले वरिष्ठताको निर्णय उल्टयाएपछि यस्तो विवाद सुरु भएको हो।
 
एकीकरणपूर्व झलनाथ खनाल वरिष्ठ नेता रहनुभएको थियो। तर एकीकरण घोषणाका क्रममा माधवकुमार नेपाललाई पहिलो वरिष्ठ नेता बनाइयो। उक्त निर्णयप्रति असहमति जनाउँदै खनालले निर्णय सच्याउन सचिवालय बैठकमा लिखित प्रस्ताव नै दर्ता गराउनुभएको थियो। पन्ध्र महिनासम्म गुपचुप रहेको उक्त प्रस्ताव उप्काउँदै केही दिन अघिमात्र सम्पन्न सचिवालय बैठकले खनाललाई नै पुनःवरिष्ठ नेता बनाउने निर्णय गरेपछि नयाँ तरङग आएको हो।

यद्यपि सचिवालयको उक्त निर्णयप्रति वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाउनुभएको छ। तत्कालीन एमालेको विधानमा अध्यक्षमा निर्वाचित भएपछि निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने प्रावधान रहेको थियो। सोही नियममा टेकेर खनालले पहिलो नम्बरको वरिष्ठता दावी गर्नुभएको थियो। जुन माग सचिवालय बैठकले पूरा गरिदिएको छ। सचिवालय बैठकमा नेता नेपालले वरिष्ठताको टुंगो लगाउँदा कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका र पदीय जिम्मेवारीको ऐतिहासिक पक्षलाई केलाउनुपर्ने माग राखे पनि त्यसमाथि सुनुवाई हुनसकेन।

 
खनाल–नेपालको राजनीतिक यात्रा
 
पञ्चायतकालमा नै झापा आन्दोलनको एउटा समूह र को–अर्डिनेसन केन्द्र समूहबीच एकीकरण भई नेकपा माले गठन हुँदा नेपाल पोलिटब्युरो सदस्यमा चयन हुनुभएका खनाल केन्द्रीय सदस्यमामात्रै सीमित हुनुभएको थियो। तर को–अर्डिनेशनको नेतृत्व गर्दै आएका महासचिव सीपी मैनाली कारवाहीमा परेपछि २०३९ सालमा खनाललाई मालेको महासचिव बन्ने अवसर आएको थियो। नेता नेपाल भने पोलिटव्यूरोमा हुनुहुन्थ्यो।

चौथों महाधिवेसनसम्म खनालले पार्टी नेतृत्व गर्नुभयो। २०४८ मा पाँचौ महाधिवेसनवाट मदन भण्डारी नेकपा एमालेको महासचिव चयन हुँदा नेपाल स्थायी कमिटी सदस्यमा बढुवा हुनुभयो भने खनाल केन्द्रीय सदस्यमा झर्नुभएको थियो। २०५० मा भण्डारी र जीवराज आश्रितको दासढुंगामा निधन भएपछि नेपाल नेकपा एमालेको महासचिव हुनुभयो।

नेपाल महासचिव हुँदा केन्द्रीय सदस्यमा सीमित हुनुभएका खनाललाई दुई रित्त स्थायी समितिको सदस्य बनाइएको थियो। नेता नेपालले झन्डै १४ बर्षसम्म एमालेको महासचिव भई नेतृत्व गरिरहँदा खनाल स्थायी समिति सदस्यमा रहनुभएको थियो। ०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेले लज्जा जनकहर  ब्यहोर्नु परेपछि महासचिव नेपालले नैतिकताका आधारमा राजीनामा दिनुभयो र कार्यबाहक महासचिव खनाल चयन हुनुभयो।
 
२०६५ मा वुटबलमा भएको आठौं महाधिवेशनबाट ओलीलाई हराउँदै खनाल अध्यक्षमा निर्वाचित भएपछि नेता नेपाल पार्टी विधानअनुसार वरिष्ठ नेता बन्नुभो।
 
कटवाल प्रकरणमा प्रचण्डले राजीनामा दिएपछि कांग्रेसको समर्थनमा नेपाल प्रधानमन्त्रीमा हुँदा खनाल नै पार्टी अध्यक्ष हुनुहुन्थ्यो। लगत्तै नेता नेपालले राजीनामा दिएपछि तत्कालीन माओवादीको समर्थनमा खनाल प्रधानमन्त्रीमा चयन हुनुभएको थियो। नवौं महाधिवेसनबाट नेपाललाई पराजित गर्दै ओली पार्टी अध्यक्ष बन्नुभयो। 
 
तत्कालीन नेकपा एमालेको विधानअनुसार स्वतः निवर्तमान अध्यक्ष दोस्रो वरियताक्रममा रहने भएकाले खनाल दोस्रो वरियताक्रममा रहनुभयो भने नेपाल तेस्रो वरियताक्रमको जिम्मेवारीमा रहनुभएको थियो। एमाले र माओवादीबीचमा २०७५ जेठ ३ गते पार्टी एकता हुँदा पार्टी अध्यक्षद्धय ओली र खनालपछि नेपाल तेस्रो वरियतामा रहनुभयो। जिम्मेवारीको हिसाबले खनालले माधव नेपाललाई एकपटकमात्रै उछिन्न सफल हुनुभएको छ भने अन्य जिम्मेवारीमा खनालभन्दा नेपाल नै अगाडि देखिनुहुन्छ। खनालभन्दा पहिला नेपाल पोलिटब्युरो, स्थायी समिति सदस्य, प्रधानमन्त्री रहनुुभएको थियो।
प्रकाशित मिति: : 2019-08-21 08:44:59

प्रतिकृया दिनुहोस्