शैक्षिक गुणस्तर खस्काउँदै जुनीचाँदे

कार्यकर्तालाई जागिर खुवाउन लाइसेन्स नभएकालाई शिक्षक बनाइँदै 

BreaknLinks
BreaknLinks

शिक्षक बन्न हुनका लागि सरकारले केही मापदण्डहरू तोकेको छ। सम्बन्धित विषय तोकिएको श्रेणी उत्तिर्ण गरेको र अध्यापन अनुमति पत्र प्राप्त गरेको हुनुपर्दछ। तर जाजरकोटको एक स्थानीय तहले विषयगत अध्ययन अनुमति पत्र नभएका व्यक्तिलाई जागिरको अफर गरेको छ।

जुनीचाँदे गाउँपालिकाले अध्यापन अनुमति पत्र नभका व्यक्तिलाई शिक्षक न्यूक्ति गर्ने बाटो खुल्ला गरेको हो।

आफ्नो निकटका व्यक्तिलाई जागिर दिन गाउँपालिकाले निश्चित मापदण्ड नभएका व्यक्तिलाई पनि शिक्षक बन्न पाउने बाटो खोलेको हो।
पालिकाले विद्यालयमा आवश्यक पर्ने शिक्षक दर्खास्त आव्हान गर्दा कुनै उमेद्वार नआएको खण्डमा अनुमति नभएको मान्छे शिक्षक नियुक्त गर्ने अधिकार विद्यालय व्यवस्थापन समितिलाइ दिएको छ।

२०८० जेठ ८ गते सम्पन्न भएको गाउँपालिका कार्यपालिका बैठकले यस्तो निर्णय गरेको विश्वस्त स्रोतले जनाएको छ। कार्यपालिकाले प्रस्ताव–१ मा जुनीचाँदे गाउँपालिका अन्तर्गतका विभिन्न मितिमा मावि, निमावि अनुदानमा अंग्रेजी, गणित र विज्ञान विषयमा तिन चरण विज्ञापन गर्दा अध्यापन अनुमति पत्र भएको कुनै उमेदावरले दरखास्त नदिएको खण्डमा विद्यालय व्यवस्थापन समितिले अध्यापन अनुमति पत्र नभएको व्यक्तिलाई पनि शिक्षक नियुक्त गर्न सक्ने अधिकार दिएको हो।

शिक्षक सेवा आयोग नियमावली–२०५७ अनुसार अध्ययन अनुमति पत्र नभएको व्यक्ति कुनै शिक्षक पदको लागि अयोग्य हुने प्रष्ट उल्लेख गरेको छ। तर गाउँपालिका शिक्षा ऐन नियमावली विपरित अध्यापन अनुमतिपत्र नभएका व्यक्तिलाई पनि शिक्षक बनाउने बाटो खोलेको छ। जनप्रतिनिधिले आफ्ना कार्यकर्ता व्यवस्थापन गर्नका लागि यस्तो निर्णय गरेका हुन्। गाउँपालिकामा अध्यापन अनुमति पत्र भएका थुप्रै व्यक्तिहरू छन्। कति स्वदेशमै बेरोजगार बसेका छन् त कति रोजगारी नपाएर विदेश पलाएन भएका छन्। तर गाउँपालिकाले भने सबै ठाउँमा आध्यापन अनुमति पत्र भएका व्यक्ति नभएको भन्दै यस्तो निर्णय गरेको जनाएको छ।

जनप्रतिनिधिलाई जस्तो सुर चल्यो उस्तै निर्णय गर्दै आएको जुनीचाँदे गाउँपालिका एक कर्मचारीले बताए। गाउँपालिकामा शिक्षा शाखालाई कुनै जानकारी नगराइए कार्यपालिकाले अध्ययन अनुमतिपत्र नभएका व्यक्तिलाई समेत शिक्षक नियुक्त गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा शाखा स्रोतले जनाएको छ। सम्बन्धित विषयको अध्ययन अनुमति पत्र नभए पनि शिक्षक न्यूत्ति गर्ने जिम्मा विद्यालय व्यवस्थापन समितिलाई दिनु कानुन सम्भत नभएको गाउँपालिका शिक्षा शाखामा कार्यरत एक कर्मचारीले बताए। 

गाउँपालिकाले शिक्षक सिकाई अनुदानतर्फ संघीय सरकारले दिएको बजेटबाट १४ जना शिक्षकका लागि विज्ञापन गरेको थियो। विज्ञान, अंग्रेजी र गणिाग विषयमा दरखास्त नै नपरेको गाउँपालिकाको दाबी छ।

६ वर्षमा १७७ शिक्षक नियुक्त

जुनीचाँदे गाउँपालिकाले पछिल्लो ६ वर्षमा १ सय ७७ शिक्षक नियुक्त गरेको छ। गाउँपालिकाले मावि, निमावि र बालविकासतर्फ ती शिक्षक नियुक्त गरेको हो। जसमध्ये मावितर्फ १६ जना, निमावी र प्रावितर्फ ८१ जना र बालविकासतर्फ ८० जना शिक्षिका नियुक्त गरिएको छ। पालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी शिक्षक नियुक्त गरेको हो।

जुनीचाँदेमा कुल ६४ ओटा विद्यालयमा ६८ जना मात्रै स्थायी शिक्षक छन्। ११ ओटा मावि मध्ये शिवपुरी मावि गर्खाकोटमा ५ जना र आदर्श मावि लुहादमा २ जना शिक्षक दरबन्दी छ। तर आदर्श मावि लुहादमा गणित विषयको शिक्षक पदपूति भएको छैन। उक्त गाउँपालिकामा हाल ७ ओटा दरबन्दी मध्ये ६ जना मात्र स्थायी शिक्षक कार्यरत छन्। अन्य ९ ओटा माविमा स्थायी शिक्षकको दरबन्दी नभएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ।

यस्तै गाउँपालिका भित्र रहेका निमावितर्फ पनि ७ ओटा स्थायी दरबन्दी छन्। उक्त दरबन्दी अनुसार सबै शिक्षक पदपूति भएका छन्। ४२ ओटा प्राविमा तर्फ ६८ जनाको दरबन्दी छ। त्यहाँ ६४ जना शिक्षक कार्यरत रहेका छन्। ६४ ओटा विद्यालयमा ७५ जना राहत शिक्षक कार्यरत छन्। संघीय बालविकास केन्द्र ४० जना शिक्षिका कार्यरत छन्।

प्रकाशित मिति: : 2023-07-24 09:16:00

प्रतिकृया दिनुहोस्