दर्शकदिर्घामा बसेर नियाल्दा...

मानबहादुर श्रेष्ठ

काठमाडौं । घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने हरेक खेलाडीको सपना हुन्छ । किनकी घरेलु मैदान र दर्शकले खेलाडीलाई थप उचाइमा पुर्याउन मद्दत गर्छ ।  प्रतियोगिता आफ्नै मैदानमा भएको अवसर पारी कतिपय खेलाडीले त कीर्तिमान कायम गरेका छन् । कतिपय त्यही पर्खाइमा हुन्छन् । 

सोमबारबाट घरेलु मैदानमा पाँचौं एभिसी सेन्ट्रल जोन भलिबल चल्दैछ । यसैपनि भलिबल राष्ट्रिय खेल भएका कारण चर्चा धेरै छ । पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल आयोजना गर्ने अवसर पाएको नेपाल पनि घरेलु मैदानमा कीर्तिमानी नतिजा ल्याउने योजनाका साथ रहँदा खेलाडी प्रतियोगिताका लागि उत्साहित छन् । 

विगत चार वर्षदेखि सोहि टोलीमा मुख्य खेलाडीको रुपमा रहेका एक सदस्यको भने वर्षौंदेखिको सपनाले पूर्णता पाउन सकेन । उनी हुन्, मानबहादुर श्रेष्ठ । नेपाली भलिबलका मुख्य सदस्यका रुपमा रहेका उनी आठौं राष्ट्रिय खेलकुदमा सहभागिता नजनाएकै कारण पाँचौं संस्करणको एभिसी भलिबल च्याम्पियनसिप खेल्न पाएनन् । 

घरेलु मैदानमा देशका लागि खेल्ने सपनाबाट विमुख भए उनी । आइतबार घरेलु टोलीले किर्गिस्तानसँग खेल्दै सेन्ट्रल जोन भलिबलको यात्रा सुरुआत गर्दा मानबहादुर भने बिच भलिबलको तयारीमा छन् । बिच भलिबल उनको रहर भने होइन । घरेलु मैदानमा प्रदर्शन गर्न नपाउँदा उनी बिच भलिबलको तयारीमा लागेका हुन् । उनी राम्रो प्रदर्शन हुँदाहुँदै पनि राष्ट्रिय टोलीबाट बाहिर बस्न बाध्य भए । त्यसो त त्यो उनको कमजोरी हो । उनले छनोटका रुपमा लिइएको आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका थिएनन् । 

भलिबल संघ र आफू आबद्ध क्लब त्रिभुवन आर्मीलाई जानकारी दिएर नै उनी भलिबल खेल्न जापान गएका थिए । तर बीचमा आइपुगेका उनलाई आर्मीले विभागीय कारबाही गर्दै टोलीमा समावेश नगर्दा उनी घरेलु मैदानमा ठूलो प्रतियोगिता खेल्नबाट वञ्चित भए ।  विभागीय कारबाही स्वीकार गरेका मानबहादुर राखेपको गल्तिका कारण नै यसो भएको बताउँछन् । उनले भने, “चैतमा राष्ट्रिय खेलकुद गर्ने कुरा भएपछि मैले जापानमा सम्झौता गरेको थिएँ । तर पछि वैशाखमा सारियो । तर पनि म संघ र आफ्नो क्लबसँग कुरा गरेरै गएको हुँ ।”

घरेलु मैदानमा खेल्न नपाएको भन्दा पनि उनलाई यसअघि भलिबलमार्फत् पुर्याएको योगदान कदर नगरेकोमा दुःख छ । “खेल्न लेखेको रहेनछ त्यो मान्छु । गल्ती पनि गरेको मान्छु । तर मैले यसअघि गरेको प्रदर्शन मूल्याङ्कन नगरेकोमा निकै दुःखी छु,” मानबहादुरले भने, “सन्दीप लामिछानेले क्रिकेटबाट देशविदेशमा नेपाललाई चिनाइरहेको छ । विमल, किरण र रोहितले फुटबलमार्फत् चिनाइरहेका छन् । म भलिबलमार्फत् देशलाई चिनाउन गएको हो । तर अप्ठ्यारोमा पारियो ।”

प्रकाशित मिति: : 2019-08-19 07:15:14

प्रतिकृया दिनुहोस्