प्रेरणादायी महिला

दुःख स्वीकारे, खुसी पाइयो (भिडियाेसहित)

उनी आफूलाई समाजसेवी ठान्दिनन्। न त आफ्नो कामलाई सेवा ठान्छिन्। तर, उनको काम हेर्दा सबैलाई वाहवाही गर्न मनलाग्छ। 

२३ वर्षीया सञ्जिता गौतमसँग दुःखका चाँङ छन्। तर, उनी ती दुःख मेटाउन सेवाको सहारा लिन्छन्। उनका निम्ति त्यो उति सहज पनि छैन। ६ बर्षदेखि उनी दुःख स्वीकार गरिरहेकी छिन्। आराम कुन चरीको नाम हो, उनलाई थाहा छैन। 
  
तनाब र दिक्दारी त टाढाको कुरा, विपनामा पनि उनलाई फुर्सद छैन। सधै सपनाले उकासिरहन्छन्– गर! केही त गर।’त्यसपछि कहिले उनको मन सडकका बेवारिसेसँग दौडिन्छ, कहिले आश्रमका बाबा, आमा र अबोध बालकबालिकाकाको विगत, वर्तमान र भविष्यतिर। अनि कोठाको भित्ता टाँसिएका फोटातिर उनको नजर ठोकिन पुग्छ मध्यरातमा। एकाबिहानै उनको कर्म सुरु हुन्छ।

जुम्लाकी दिउला खत्रीका हाल खबर सोध्छिन्। जाजरकोटकी धनसरी बुढालाई चिया दिन्छिन्।अबोध बालिका ममतालाई अंगालोमा बेर्दै गालामा ‘म्वाई’ गर्छिन्, अनि ‘सुल्तान बा’लाई नमस्कार रुपी सम्मान। सेवामै बितिरहेको छ, उनको जीवन।

उनी माथिल्लो तलाबाट बाहिर निस्किइन्। भर्खरै आश्रममा भएकाको नास्ताको लागि सामान व्यवस्थापन सकेकी रहिछन्। ‘उहाँ दिनभर सेवामा सक्रिय रुपमा लाग्नुहुन्छ। विश्राम भन्ने कुरा नै छैन उहाँको जीवनमा। अरुको दुःखलाई आफ्नो जस्तै गरेर खट्नुहुन्छ,’ सञ्जिताको कर्मको प्रंशसा गर्दै एक कर्मचारीले भने।
 
अहिले उनलाई माया गर्नेहरु घृणा गर्थे। उनलाई अपशब्द प्रयोग गर्थे। हिर्काउथे चौटे लाग्नेगरि। उनी भने माया गरिरहन्थिन्। उनीहरुको अवस्था देख्दा लाग्थ्यो ‘यस्ता मानिस पनि हुन्छन् र? आखिर कसले बनायो होला यस्तो अवस्था। धेरैपटक सोचमग्न भएको छु।’
 
उनको निराशा त्यो दिन सकियो, जुन दिन उनी मानव सेवा आश्रममा पुगिन्। सहयोगी मनहरु देखिन्, उनीहरुको कर्मबारे थाहा पाइन्। ‘मैले सोचे, अरुले गर्छन्, सक्छन्, भने के किन नगर्ने सेवा। म सकिहाल्छु नि।’

समाजसेवा रुचिको विषय थिएन उनको। उनको सोच, सफल व्यवसायी बन्ने थियो। १७ वर्षको उमेरमै समाजसेवामा लागेकी उनी एसएलसीपछि एकाउन्ट विषय लिएर पढिन्। अहिले पनि सोही विषय पढिरहेकी छिन्। अर्कातिर समाजसेवा पनि चलिरहेको छ।
 
भूकम्प र भारतीय नाकाबन्दीले देश अस्तव्यस्त थियो। १७ वर्षीया सञ्जिता फुर्सदमै थिइन। स्वअध्ययन मै व्यस्त भइन्। कुनै पनि तहको परीक्षा थिएन, विद्यालय जानु पर्ने पनि थिएन।
  
आजभन्दा ६ वर्ष अघिको कुरा हो, उनको गाउँमा ‘सकारात्मक सोच’ सम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो। महिला समूहले आयोजना गरेको कार्यक्रममा उनलाई सहभागी हुने अवसर जुर्‍यो। उनकी आमा जानुपर्ने कार्यक्रम भए पनि उनी सहभागी भइन्।

कार्यक्रमका प्रशिक्षक थिए, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष राजजी अधिकारी। कार्यक्रम दुई दिनको थियो। उनी भन्छिन्, ‘खासमा मेरो आमा जानुपर्ने थियो। तर उहाँलाई अनुकूल भएन। म सहभागी भएको थिए।’
  
प्रशिक्षकले मानव सेवा आश्रम बारे पनि जानकारी दिए। उनलाई लाग्यो, पागलहरु राख्ने ठाउँ पनि हुन्छ र?, उनी अच्चममा परिन्।  युवा अवस्थामा लाग्दै गरेकी उनको दिमागमा खुल्दुली जाग्यो। तालिम सकिएको एक सातापछि उनी मकवानपुर जिल्लाको हेटौँडामा आइन्।

त्यहाँ मानव सेवा आश्रमको मुख्य कार्यालय छ। मानसिक सन्तुलन गुमाएका मानिसलाई सुधार केन्द्रमा व्यवस्थित रुपमा राखेको पहिलोपटक देखिन्। उनले सुरुमा आफूलाई केन्द्रमा आउँदा मन्दिरमा आए जस्तो लागेको बताइन्। 

‘मलाई सुरुमा मन्दिर जस्तो लाग्यो। घुम्न र हेर्नको लागि आएकी मान्छे। त्यतै मन रमायो,’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भनिन्।
  
हेटौंडामै उनी मानसिक सन्तुलन गुमाएका मानिसको सेवा गर्न थालिन्। केही समयपछि उनी कर्णालीमा आइन्। काभ्रेको धुलिखेल नगरपालिका–११ की स्थायी बासिन्दा हुन्, सञ्जिता। 

यतिबेला भने, सुर्खेतको वीरेन्द्रनगरस्थित मानव सेवा आश्रममा सेवा गरिरहेकी छिन्। उनी आश्रमको सुर्खेत जिल्ला संयोजक समेत हुन्। उनीसहित दुई महिलाको सक्रियतामा २०७५ माघ १८ गते सुर्खेतमा मानव सेवा आश्रमको स्थापना गरिएको हो। अहिले आश्रमको प्रमुख भने सिर्जना वली हुन्। सात वटै प्रदेशमा यसका शाखा छन्। २१ वटा सेवा केन्द्र, १६ जिल्लामा शाखा रहेका छन्। कर्णाली र सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा ३ वटासम्म शाखा रहेको उनले जानकारी दिइन्।
 
सुर्खेतमा आश्रमको स्थापना पूर्व  सम्भाव्यता अध्ययन गरिएको थियो। संस्थापक अध्यक्षसहितको टोलीले प्रदेश सरकारसँग समन्वय गर्‍यो। तत्कालिन सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर बिके, प्रमुख सचिव रामप्रसाद थपलिया पहिलेदेखि नै संस्थाका अभिभावक थिए। कर्णालीमा आश्रमको स्थापनाको लागि उनीहरुले सहयोग गरे।

आश्रमको टिमलाई आमन्त्रणसमेत गरे, उनीहरुले। वीरेन्द्रनगरको अनुगमनपछि आश्रम खोल्ने विषय टुंगो लाग्यो। टोली हेटौडा फर्किएपछि त्यहाँ जानकारी गराइयो। कसलाई जिम्मेवारी दिने भन्ने छलफल भयो। सबैभन्दा कान्छि सदस्यका रुपमा रहेकी सञ्जिताले कर्णाली रोजिन्।
 
उनले कर्णालीको बारेमा किताबमा पढेकी थिइन। अरुबाट सुनेकी थिइन। उनको मानसपटलमा कर्णालीबारे अनेक किसिमका अड्कलबाजी थिए। कर्णाली आउने नै भएपछि उनको मनमा अनेक तर्कवितर्क आउन थाले। सुरुमा त कर्णाली कस्तो होला? त्यहाँका मानिस कस्ता होलान्? सेवासुविधा छन् कि छैनन् होला? कसरी काम गर्ने होला भन्ने लागेको थियो।
 
सुनेका सबै कुरा सत्य नहुन पनि सक्छन्। जब उनी सुर्खेत पुगिन्। कर्णालीलाई पृथक पाइन्। उनलाई कर्णाली मन पर्‍यो। त्योभन्दा पनि सेवा जुट्दा यहाँका मानिसको निःस्वार्थ सहयोगीपनले  निकै ठूलो राहत मिल्यो।
 
सुर्खेत पुगेपछि उनीहरु सहरका गल्लीगल्लीमा डुल्न थाले। उद्धारमा सक्रिय भए। अहिले उनीहरुले कर्णालीका १० वटै जिल्लाका नागरिकलाई  आश्रममा सेवा दिइरहेका छन्। 

मानव सेवा आश्रम कर्णालीका मानसिक सन्तुलन गुमाएका, सहाराबिहीन, अभिभावकबिहीन बालबालिकाको घर बन्न पुगेको छ। उनीहरुको सक्रियतामा गत वर्ष कर्णाली प्रदेशलाई ‘सहयोगापेक्षी सडक मानव मुक्त कर्णाली प्रदेश’ घोषणा समेत गरियो।
  
आश्रमले विभिन्न कारणले सडकपेटीमा कष्टकर जीवन बिताइरहेका अनाथ, अपाङ, असहाय, अशक्त र मनरोगी आमालाई आश्रय दिइरहेको छ। जो सडकपेटीमा खाना, नाना र छानाको अभावमा जीवन बिताइरहेका छन्, त्यस्ता नागरिकलाई उद्धार गरेर आश्रममा राख्ने गरिएको छ। 

आश्रममा ल्याइसकेपछि उनीहरुको सरसफाइ, औषधोपचार, पालनपोषण गर्ने गरिएको छ। यस्तै आश्रमले आश्रममा आएकाहरुको पूर्ण व्यवस्थापनपछि पारिवारिक पुर्नमिलन समेत गर्ने गरेको छ।

हाल ४४ जना बालबालिका, महिला र पुरुष उक्त आश्रममा बसिरहेका छन्। उनीहरु सबै कर्णालीका बिभिन्न जिल्लाका हुन्। आश्रममा हुम्ला, डोल्पाबाहेक अन्य सबै जिल्लामा मानसिक सन्तुलन गुमेका, बेवारिसे नागरिकलाई व्यवस्थापन गरिएको आश्रमले जनाएको छ। 

आश्रमले अहिलेसम्म कर्णालीका लगभग सबै जिल्लाबाट बेवारिसेहरुको उद्धार गरेको छ। दुई वर्षयता ६० महिला, ८३ जना पुरुष, ५ बालक र ७ बालिकागरि १ सय ५५ जनाको उद्धार गरिएको छ।

आश्रमले अहिलेसम्म ३६ महिला, ५६ पुरुष, ४ बालक र ३ महिलाललाई पुनर्मिलन गराएको छ। यस्तै अहिलेसम्म २ अन्य स्थानबाट स्थानान्तरण भएर आएका छन् भने १५ महिला, २१ पुरुष, १ बालक र ४ बालिका आश्रित छन्। यस्तै हालसम्म  ५ महिला र ४ पुरुषको आश्रममा मृत्यु भएको छ।

उनको काम नै मानसिक सन्तुलन गुमेका मानिसको उद्धार, व्यवस्थापन, हेरचाह नै हो। उनी अधिकांश समय उनीसँगै बिताउँछिन्। सामान्य मानिसलाई त सम्झाउन सकिदैन। मानसिक सन्तुलन नै गुमेका मानिसको हेरचाह गर्न कत्तिको चुनौती हुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘चुनौती त धेरै हुन्छ। यस्ता अनुभव मै कति गरे कति।अहिले त सानातिना समस्या नर्मल लागिसके।’ 

एक त मनोरोगी विवेकहीन हुन्छन्। उनीहरु आफूलाई उद्धार गर्नेलाई झम्टिन्छन्। यस्ता थुप्रै घटना घटेका छन्, सञ्जिताको जीवनमा। उनले कति पटक झापड खाइन्। कति पटक कपाल लुछिपाइन। कति त आक्रमण गर्छन्। त्यो यकिन नै छैन।
 
कुराकानीको क्रममा उनले तितो अनुभव पनि सुनाइन्। धेरैले बौलाहा मान्छेको सेवा गर्छौ। तिमीहरु पनि पागल हुन्छौ। यस्तो मान्छेले किन यस्ता मानिसको सेवा गरेको हो भनेर सोध्छन्। उनलाई व्यक्तिगत रुपमा पनि धेरै मानिसले यस्ता प्रश्न गर्ने गरेका छन्।

तर उनलाई त्यस्ता कुराले कुनै फरक पर्दैन। उनी आफ्नो कर्मसँग विश्वस्त छिन्। जुन कर्मले उनलाई आनन्द दिइरहेको छ। कुनै एक जनालाई सडकबाट आश्रममा ल्याएको दिन सबैभन्दा धेरै खुसी हुन्छिन्। त्यो शब्दमा पनि वर्णन गर्न सकिने उनी बताउँछिन्।

प्रकाशित मिति: : 2020-12-23 06:49:00

प्रतिकृया दिनुहोस्