२० हजार स्वास्थ्यकर्मीले अझै बुझेनन् समायोजनपत्र

तस्बिरः एजेन्सी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका २० हजार कर्मचारीले अझै समायोजनपत्र बुझेका छैनन् । हाल सेवामा २७ हजार चार सय १७ स्वास्थ्यकर्मी छन् । तीमध्ये गत महिना सात हजार कर्मचारीले मात्रै समायोजनपत्र बुझेका छन् । त्यसैले स्वास्थ्यकर्मीको समायोजनले पूर्णता पाउन अझै लामो समय लाग्ने देखिएको छ । 

समायोजनमा चित्त नबुझेको भन्दै सात हजारभन्दा बढी कर्मचारीले गुनासो फारम भरेका छन् । आफूलाई पायक पर्ने ठाउँमा जान पाउनुपर्ने ती कर्मचारीको जिकिर छ । ती गुनासोका सुनुवाइ हुन बाँकी रहेको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले जानकारी दिएका छन् । गुनासो भर्नेको समायोजन पनि बाँकी रहेको उनले बताए । 

काफ्लेका अनुसार चौथो, पाँचौँ र छैटौँ तहका स्वास्थ्यकर्मीको समायोजन रोकिएको छ । मन्त्रालयअन्तर्गत अनमि र अहेव मात्रै २१ हजार छन् । गुनासो भर्नेमध्ये धेरैजसो अनमि र अहेव नै छन् । उनीहरूको समायोजन रोकिएकाले अन्य १३ हजार कर्मचारीले समेत पत्र पाउन सकेका छैनन् । गुनासो दर्ता गर्ने र नगर्ने बाँकी कर्मचारीलाई एकैपटक पत्र दिने भएको छ । 

११ हजार गुनासो आउने अनुमान
हाल दैनिक ७५ देखि सयजनासम्मको गुनासो आउने गरेको छ । स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका अनुसार करिब ११ हजार कर्मचारीले गुनासो दर्ता गर्ने अनुमान गरिएको छ । तर, स्वास्थ्य मन्त्रालयका सचिव रामचन्द्र थपलियाले तत्काल गुनासो सुनुवाइ हुने अवस्था नरहेको बताए । ‘अहिले निवेदन मागिएको छैन,’ सचिव थपलियाले भने, ‘तैपनि गुनासोका चाङ लागेको छ । सबै गुनासाको सुनुवाइ तत्कालै हुँदैन ।’

प्रकाशित मिति: : 2019-08-19 06:57:28

प्रतिकृया दिनुहोस्