डोल्पो यात्रा संस्मरण– ९

लासीक्यापमा खुकुरी नचाउने सोच

Breaknlinks
Breaknlinks

देशको अवस्था सहज हुन्थ्यो भने छार्काभोट हुँदै जोमसोम पुगिन्थ्यो तर त्यो ऐतिहासिक अवसरलाई कोरोना कहरले पूरा हुन दिएन।

दुनै पुग्न अझै कम्तिमा दुई दिन हिँड्नुपर्ने थियो। असोज १६ गते बिहान सात बजे नित्यकर्म गरेर चिया बिस्कुट खाएर बिस्कुट/चाउचाउ बोकेर ओरालो यात्रा तय गरियो। अब उकालो हिँड्न नपर्ने भएकोले पाईलाहरु लामा–लामा तन्किएका थिए। सबै हर्षित थिए तर उकालो भन्दा ओरालो हिँड्न गाह्रो हुने अनुभव मेरो थियो।

भेरीको तिर नछोडी गए सिधै दुनै पुगिन्छ भन्दै हुनुहुन्थ्यो पेमा दाइ अर्थात् होटलका मालिक। होटेलबाट हिँड्ने बेलामा छेवाङ्ग भाइसँग उसैको होटलको बोर्ड आउने गरी फोटो खिच्यौँ र फेरि भेटौँला भनेर छुट्टिए।

हाम्रो टोली डोजरले खनेको चौडा सडकै सडक नदीको तिरैतिर अगाडि बढ्यो। सके राति १०–११ बजे सम्ममा दुनै पुग्ने गरी हतारिएर लम्क्यौं। धोबाट तीन घण्टा ओरालो झरिसकेपछि पाइला टक्क अडिए। आँखा तिरबिराए। यो अनकंटार ठाउँमा कोही परिचित अनुहार तिर हेरेको हेर्यै भए।

कर्णाली वोर्डीङ्ग स्कुलमा कक्षा पाँचमा संगै पढेको साथी प्रकाश बुढासँग जम्काभेट भयो। म सरकारी स्कुलमा पाँच पास पश्चात पुन: वोर्डीङ्गमा पाँच क्लास पढ्न गएको थिए। द्वन्द्वकालमा वोर्डीङ्ग स्कुल बन्द भएपछि पाँच क्लास सँगै पढेर हामी छुट्टिएका थियौँ। अचम्म मान्दै हात मिलाएर अंकमाल गर्‍यौं। उभिएरै भलाकुसारी गर्‍यौं। पाँच क्लास पछिको सायद पहिलो भौतिक भेट थियो।

उनी आफ्ना अर्का सहकर्मीसँगै धो जाँदै रहेछन्। साथी ईन्जिनियर भएकोले माथि निर्माणाधिन बाटोको अनुगमन गर्न हिँडेका रहेछन्। भेट भएको लगभग पाँच मिनेटपछि ऐतिहासिक फोटो खिचेर दशैंमा जुम्लामा भेट्ने गरी समयलाई सराप्दै हामी छुट्टियौं। 

मेरा बाँकी साथीहरु अगाडि पुगिसककेका थिए। तोलतोल भन्ने ठाउँमा बाह्र बजेतिर खाना खाएर हामी अगाडि बढ्यौं। एकातिर खुट्टा दुखाईले सीमा नाघिसकेको थियो अर्कोतिर दुबै पैतालामा पानीका फोका निस्कीसकेका थिए तर बास बस्ने ठाउँसम्म नहिडी सुखै थिएन। अब चाहिँ हाम्रो टोलीको आजै दुनै पुग्ने जोश मरिसकेको थियो।

चौरीहरु पिठ्यूमा काठ बोकेर भिरको बाटो उकालो चढ्दै थिए, बाटो कहालीलाग्दो थियो। भिरको बाटोमा अलिकति तलमाथि भए जीवनको खेला खत्तम। त्यो दिन सबैभन्दा सुस्त गतिको मै थिए, खुट्टा र घुडाछेउको नशा दुखेर हिँड्न साह्रै मुश्किल भइरहेको थियो। मैले यतिसम्म सोच्न सकिसकेको थिए कि चौरिले धकेलेर लडाइदिएको भए हिँडाईबाट त मुक्ति पाइन्थ्यो।

तर, लडेपछि जीवनबाटै मुक्ति पाइने निश्चित थियो। नाथे खुट्टा दुख्दा यस्तो सोच ? आफैले आफैलाई धिक्कार्थे र खुट्टै बिना सगरमाथा चढ्नेलाई सम्झेर अगाडि बढ्थे। जे होस् भिरपाखाको मज्जा लिदै बिस्तारै अगाडि बढेकै थिए। सबैजना अगाडि थिए म बिस्तारै पछि–पछि आफ्नै सुरमा हिँडीरहेँ।

वर डाँडामा आइसकेपछि मोहन भाइको टोली मलाई कुरेर बसेको रहेछ। त्यहाँ पुगिसकेपछि मोहन भाइले घुँडामा मूभ दलेर ब्यान्डेज गरिदिए। केही आराम महशुस गरेँ। लासीक्याप पुग्न अझै ३–४ घण्टा हिँड्नुपर्ने थियो। ठाडै ओरालो बाटोमा मोहन भाइको शिव भक्ति सुरु भयो। उनको शिवगान यति धार्मिक थियो कि धर्म भित्रका अधार्मिक तत्वहरुको बयान। हनुमानको मुख किन त्यस्तो आकारको भयो ? अन्टार्टिकामा किन हिउँ नै हिउँ भयो? गणेशको टाउँको किन हात्तिको भयो? संजीवनी बुटी खोज्न जाँदा हनुमान र शिवको भनाभन भएको? बुटी खोज्दै गर्दा शिवजीले बार्दलीबाट हनुमानलाई भनेछन् 'पार्वतीले लगाएको मुला/गाजर कुल्चे ठिकै छ, भर्खर–भर्खर उम्र्या गाँजा मार्लास है हनु?' यस्तै अनेकौ शिव पुराणहरु सुन्दै गर्दा बाटो कटेको पत्तै भएन।

यस्तै रमाइलोको मज्जा लिदै लैनी भन्ने ठाउँमा लगभग साँझ परिसकेको थियो। हिँड्ने दौडिने सुरज, करण र मोहन भाइलाई बासको व्यवस्थाको लागि अगाडि कुदायौं। हामी बिस्तारै तल झर्‍यौं। रात परेकोले आनन्द भो नत्र बाटो अत्यासलाग्दो थियो। भिरपहरा मात्र, रिङ्गटा लाग्ने। मोबाईलको टर्च बालेर लस्करै ओरालो झर्‍यौं।

बाटो जति हिँड्यो झन् अफ्ठ्यारो झन् लामो महशुस हुन्थ्यो। त्यै बेला शेर दाइले मोबाइल हराउनुभयो, खोज्दै जाँदा नजिकैको उकालोमा भेटियो, उहाँका यात्रा भरिका फोटो भिडियो क्लिपहरु त्यसैमा थिए। धन्न भेट्टाइयो।

आजसम्मको हिँडाइमा सबैभन्दा अफ्ठ्यारो बाटो त्यही थियो। झन् दाहिने खुट्टा घिस्रिन थाल्यो, कम्ता बिजोग भएन। धेरैपछि भिरको बाटो कटेर केही समथल बाटोमा पुग्यौं। बास बस्ने ठाउँ लगभग पुग्ने बेला भएको थियो। झुलुङ्गे पुल तरेर पारी जाँदा लासीक्याप आउँथ्यो। त्यहीँ आशामा साथीहरु पुलमा गीत गाउँदै अगाडि बढ्यौं।

अघिल्लो टोलीले पारीबाट हामीतिर टर्च बालेर झनै हौसला प्रदान गर्‍यो। हामीले झन् ठूलो स्वरमा गीत गायौं। तर, पुल कट्ने बित्तिकै आवाज आयो कहाँबाट आएको? किन के को हल्ला हो? कहाँ जाने? उहाँहरु प्रहरी पो हुनुहुँदो रहेछ।

चिसोमा रक्सीले मात्तिएर बसेका एक प्रहरीको प्रश्न तेर्सियो पुल किन हल्लाएर हिँडेको? झुलुङ्गे पुल हल्लीन्छ नि भनेर हामीले जवाफ फर्कायौ। उनीहरुको मनोभावना बुझेर वेवास्था गरी हामी अगाडि बढ्यौं। नजिकैको होटेलमा हाम्रो खाने बस्ने तय भएको रहेछ।

प्रहरीको व्यवहार देखेर यति रिस उठ्यो सक्ने भए नाङ्ला पासमा तीन दिन लगातार कट्टुमा उभ्याउथेँ। तर, पछि मनमनै माया लागेर आयो, कहाँको मान्छे होला कहाँ आएको छ, कसरी बसेको छ। जनताको सुरक्षामा रातदिन जाडो नभनी खटिएको छ, ऊ महान छ, प्रहरी मेरो साथी।

खुट्टाको दुखाई बिर्साउने पेनकिलर संगै खाना खाएर नजिकैको टेन्टमा सुत्यौँ। बिहान चार बजेतिर टेन्ट बाहिर कोही आएको जस्तो लागेर शेर दाइले को हो भनि कराउनुभयो। म ब्युझिए र मैले पनि चर्को स्वरमा को हो को हो भनि कराएँ। हिजो साँझ पुलिससँग राम्रै छलफल भएकोले कतै उनीहरु आएकी भन्ने आशंका भयो, बाहिर निस्केर एक लट खुकुरी नचाउने सोचियो, तर...।

(लेखक कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत हुन्। बिएल नेपाली सेवामा उनको डोल्पा यात्रा संस्मरण शृङ्खलाबद्ध रुपमा प्रकाशन भइरहेको छ।)

डोल्पो यात्रा संस्मरण- १

बाइकमा सरर डाेल्पा जाने धुन


 

डोल्पो यात्रा संस्मरण -२

हामी पनि हुइक्यौं बुइनी दुनै बजार...


 

डोल्पो यात्रा संस्मरण–३

‘हामीलाई जसरी पनि एकै दिनमा रिग्मो पुग्नु थियो’


 

डाेल्पाे यात्रा संस्मरण- ४

घ्यामघार अर्थात् ‘मिलियन स्टार’को बसाइँ


 

डाेल्पाे यात्रा संस्मरण- ५

सकसपूर्ण यात्रापछि चाैरी गाेठमा ओच्छ्यान !


डाेल्पाे यात्रा संस्मरण: ६

निन्द्रासँग ओच्छ्यानको कुनै साइनो नहुने प्रमाणित भयो


डोल्पो यात्रा संस्मरण– ७

वाह ! समाजवादी व्यवस्था यो भन्दा अर्को के होला ?


डोल्पो यात्रा संस्मरण– ८

विश्वकै अग्लो स्थानमा मानव बस्ती रहेकाे धोमा धौधौ

प्रकाशित मिति: : 2022-03-05 19:45:00

प्रतिकृया दिनुहोस्