बाहिर निस्कदाँ चिसोले मुटुमै हान्यो। तर, प्यासी मन बुझाउन पानी नभई नहुने थियो। हामी सुतेको घरको आगनमा सौभाग्यवस पानीको पाइप अन्तकतैबाट ल्याइएको रहेछ। पाइपमा मुखको बुजो लगाइर प्यास मेटाएँ। बोत्तलमा पानी भरी भित्र आई पुनः सुते।
असोज १४ गते बिहानै उठेर चिया तातोपानी खाएर टोली तिन्जेको लागि हिँड्यो। साल्दाङ्गबाट सिधै पारीपट्टी देखिने पाँच हजार मिटर अग्लो लेक अर्थात् स्याला पास काट्न लगभग ३ घण्टा लाग्ने थियो।
हामी डाँडा हेरेर त्यो डाँडामा उक्लन लाग्ने समय बताउन सक्ने भइसकेका थियौं। गाँउबाट ओरालो झरेर पुल तरी पारीपट्टी लाग्यौं। भूषण दाहालको कागबेनी फिल्ममा निमा रुम्बा लडेको जस्तै भिरमा झुलुङ्गे पुल थियो।
पुल क्रस (पार) गर्ने वित्तिकै सुरु हुन्थ्यो उकालो। लगातार ३ घण्टा उकालै उकालो। बाटोमा मोटरसाईकल गुडाउन बनाइएका सर्प जस्तै कोदाले बाटाहरु। उकालैमा विहानको घामले निधार चुम्यो। एकछिन आराम गरेर आफैंलाई प्रश्न सोध्न मन लाग्यो। किन हिँडिरहरेको छस् यसरी ? मुक्तिको मार्गमा पक्कै होइन होला ? विरक्तिने उमेर भएकै छैन? हिँडेको ६ दिन भैसक्यो, कहाँ टुङ्गिन्छ यात्रा ? यस्तो रमाइलो यात्रा जीवनमा फेरि होला ? मन चङ्गा हुन्थ्यो। म भित्रको मले मलाई हेर्दै मन्द मुस्कान दिन्थ्यो।
पारिपट्टी साल्दाङ्गमा घाम पारिलो हुँदै थियो। उकालोमा हामी लस्करै उक्लदै गयौं। स्याला पास काटेर पर पुगिसकेपछि तलको समथर जग्गामा बस्ती देखियो। खानाको वन्दोबस्तका लागि केही साथीहरु लम्केर हिडे। त्यो ठाँउको नाम कोमास रहेछ। डेढ घण्टा हिँडेपछि त्यहाँ पुग्यौं। लगभग ११ बजे।
अगाडि पुग्ने टोलीले होटलको मान्छेहरु उवा काट्न गएको जानकारी पाएपछि मोटरसाईकलमा उवा ओसार्दै गरेका दाईहरुलाई होटलवालालाई बोलाई दिन अनुरोध गर्नुभएको रहेछ।
माथिल्लो हिमाली भेगको महत्वपूर्ण बाली भित्र्याउने समय हो, असोज, कार्तिक। यस महिनामा सबै मानिसहरु व्यस्त हुने गर्छन्। के बालक के वृद्ध। असोज, कार्तिकमै नेपालीहरुको महान चाँड दशैं पर्नु कर्णालीमा औपचारीकता मात्रै हो।
कर्णालीमा दशैं हतारहतारको चाँड हो। यहाँको मौलिकता बेग्दै छ। खैर; कोमासमा कस्तो रमाइलो दृश्य देख्न पाइयो भने चिनियाँ मोटरसाईकल, लेगगार्डका दुवै तिर बडेमानका स्पिकर जडान भएका, तिखो तिब्बती गीत घन्काएर पछाडि उवाका पुला बाँधेर खेतबाट घरतिर लस्करै ओसार्दै गरेका, दृश्यले मन आनन्दित बनायो।
केही मानिसहरु घोडामा उवा ओसार्दै थिए। नजिकै श्री सहिद गंगालाल आधारभूत विद्यालय थियो। विद्यालयको छतमा विद्युत उत्पादनका लागि वीन्ड मिल घुमिरहेको थियो। होटलकी दिदी ठ्याक्कै युवराज्ञी हिमानी शाह जस्तै देखिनुहुन्थ्यो।
त्यहाँका मान्छेको आत्मियता साह्रै चाखलाग्दो थियो। दिदीले हिँड्ने बेलामा बाटोमा खानु भनेर ठुल्लै तीन मुठी छुर्पी दिनुभयो। हामी साढे बाह्र बजेतिर खाना खाएर सवा एकतिर पुन: आफ्नै बाटो लाग्यौं।
सिर्जना बहिनीले हसुरेको साढे दुई किलो भातको बाटोभरि खुबै चर्चा भयो। त्यो लास्ट सट अर्थात् चौथो पटकको अन्तिम थप भात। हामी बिहान तातोपानी मात्रै खाएर हिँडेकोले साँच्चै भोकाएका थियौं।
ऋषि धमला पारामा भाइहरुले अनेकौं प्रश्नहरु गर्दै रमाइलो गरे, बाटो कटेको पत्तै भएन। एक सानो पास काटेर साढे तीन बजेतिर सिमेन भन्ने ठाउँ पुग्यौं। सिमेन पुग्न अगाडि म्याद सकिएको चाईनिज क्यान बियरले पानीको काम गर्यो।
त्यहाँ स्याउ-चुली पनि फाल्ने रहेछ। त्यहाँ पहिले सबैले सामुहिक फलफूल खेति गरेका रहेछन्। जति फल्छ सबै घरधुरीले बराबर बाडेर खाने। वाह ! यो भन्दा समाजवादी व्यवस्था अर्को के होला ? न वर्गीय भेद, न अतिरिक्त मुल्य सिर्जनाको झन्झट।
मैले १८ महिना लगाएर पढेको कार्ल मार्क्सको पूँजीका तीनै खण्ड एकाएक सम्झिन पुगेँ। रातदिनको श्रमले एक थान जीवन निर्वाह गर्न पनि धौ-धौ हुने यहाँका जनताको लागि पुँजी सिर्जना कुहिरो काग जस्तै थियो। सामुहिक पूँजी निर्माणमा कसैको पनि तात्विक योगदान छैन। जीविका चलाउनका लागि श्रम गर्ने यहाँका मानिसहरुलाई राज्यसँग कुनै गुनासो छै।
वास्तवमा यहाँ राज्य नै छैन भन्दा फरक पर्दैन। यहाँ राजतन्त्र भए के ? प्रजातन्त्र वा लोकतान्त्रिक गणतन्त्र भए के ? या देश कसैको उपनिवेश भए के ? पेट भोको नराख्ने सिद्धान्त बोकेर पेट भर्न संघर्षरत छन्, उनीहरु।
यहाँका मान्ठहरुलाई बिरामी हुन वर्जित छ। कतिपयलाई देशको नाम केवल डोल्पो मात्र थाहा छ। अंग्रेजी अलिअलि बुझ्ने, नेपाली बुझ्ने कुरै भएन। पछि बिस्तारै स्याउ पहिलेको भन्दा धेरै फल्न थालेपछि आ–आफ्नो जग्गामा खेति विस्तार गरेछन्। व्यक्तिगत पूँजी निर्माणमा सबै अग्रसर हुन चाहन्थे जुन स्वाभाविक थियो।
हिँड्नु धेरै बाँकी थियो। त्यसैले अलि चाँडो हिँड्ने ३ जना सुरज, करण र मोहनलाई अगाडि कुदाएका थियौं। ताकी तिन्जे पुगेर समयमै खानपिन र बासको व्यवस्था गर्न सकुन्।
हामी बिस्तारै अगाडि बढ्यौं। बाटोमा झुक्किने ठाउँमा कागजमा वे टु तिन्जे लेखि ढुङ्गाको साङ्केतिक चिन्ह बनाउँदै अघिल्लो टोली हिँडेको रहेछ। हामीलाई बाटो पहिल्याउन सहज भयो। त्यो दिन खुट्टालाई धेरै कसरत गर्नुपर्यो।
बिहान सात बजेदेखि हिँडेको, रातको पौने आठ बजिसकेको थियो। फा हुँदै तिन्जेतर्फ लम्किरह्यौं। अगाडि हिँडेका साथीहरु कहाँ पुगे तिन्जे कता छ कतिबेला पुगिन्छ क्यै थाहाँ थिएन। वस् हिडिरह्यौं..!
(लेखक कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत हुन्। बिएल नेपाली सेवामा उनको डोल्पा यात्रा संस्मरण शृङ्खलाबद्ध रुपमा प्रकाशन भइरहेको छ।)