'आमाले छोरी भनेर बोलाउँदा दंग पर्थेँ'

आर्मोन्तशमशेर राणा। तस्बिरः निशा भण्डारी/सेतोपाटी

काठमाडौं हाडीगाउँका अर्मोन्तशमसेर राणा जन्मँदा केटा थिए। उनको हाउभाउ, बोली, लवाइ-खुवाइ केटाकै थियो। आफूलाई कुनै कोणबाट केटी जस्तो देख्थेनन् उनी।

एक दिन उनलाई कसैले सोच्न बाध्य तुल्याइदियो– तँ केटी होस् कि क्या हो? तेरो आँखा र ओठ केटीको जस्तो छ। आवाज त भन्नै पर्दैन। दुरुस्तै केटीको जस्तो।

दस वर्षका हुँदा हुन्, सुरूमा त उनलाई पत्यार लागेन। आफ्ना शरीरका अङ्ग नियाले। इन्द्रीय जाँचे। उनलाई कतैबाट पनि आफू केटीजस्तो लागेन।

तै पनि कसैले जिस्काउन छाडेन। साथीभाइले व्यवहार परिवर्तन गरेनन्। एकदिन कक्षाकोठामा शान्त बसिरहेका थिए। साथीहरूले एक्कासि आएर उही कुरा दोहोर्याए। अपशब्द बोले। उनलाई हाँसी-मजाकको पात्र बनाए।

 
आर्मोन्तशमशेर राणा। तस्बिरः निशा भण्डारी/सेतोपाटी

आर्मोन्तलाई झनक्क रिस उठ्यो। जुरुक्क उठेर कोठाबाट बाहिरिए। साथीहरूले झन् ठूल्ठूलो श्वरमा गिज्याए– ऊ हेरन, हिँड्दा पनि केटी जस्तै कम्मर हल्लाउँदै हिँड्छ यो अर्मोन्त त!

सानैबाट कम्मर मर्काइ-मर्काइ नाच्ने खुबीले पनि अर्मोन्तलाई 'केटी' झल्काउन टेवा पुर्याएको थियो। कसैसँग ठूलो स्वर नगर्ने, लजालू स्वभावले झन् बढावा दिन्थ्यो।

त्यो दिन उनलाई अलि धेरै नै दुःख लाग्यो। सरासर घर आएर ऐना अगाडि उभिए। आफूलाई एकसरो नियाले। एक-दुई पटक ऐनामा हेर्दै हिँडे पनि।

अहँ ! आफ्नो हिँडाइ र चालढालमा केटीपना देखेनन्।

उनको मनले प्रश्न गर्याे, 'साथीहरूकै आँखाले मात्र किन खराब देख्छन्? 'छक्का' भनेको के हो? मैले कस्लाई छक्काएँ र?'

जति घोत्लिए पनि उपयुक्त जवाफ पाउनै सकेनन्। अनुत्तरित रह्यो मन।

साथीभाइले भनेर होइन। आफ्नो शारीरिक चालढाल देखेर पनि होइन, केही समयपछि उनी आफैंलाई आफ्नो स्वभाव अनौठो लाग्न थाल्यो। किशोरकाल भइसकेको थियो। विपरित लिंगीप्रति आकर्षण हुनुपर्ने ठाउँमा उनलाई पुरुष साथीहरू नै मनपर्न थाल्यो।

 
आर्मोन्तशमशेर राणा र उनकी आमा मंगलीमाया। तस्बिरः निशा भण्डारी/सेतोपाटी

'केटामान्छे नजिक आउँदा अनुहार रातो हुथ्यो, डर लाग्थ्यो, ढुकढुकी दुई गुणा बढ्थ्यो,' उनी ती दिन सम्झँदै सुनाउँछन् 'मलाई त केटा नै मनपर्न थालेको रहेछ। मलाई मात्रै यो के भएको होला भनेर खुबै डर लाग्यो।'

त्यति बेला उनी १३ वर्षका मात्रै थिए। साथीहरूको भनाइ र आफूबीचका विरोधाभाष लामै समय जारी रह्यो। कसैलाई खुलेर भन्न सक्थेनन्। भन्न मन मिल्ने साथी पनि थिएनन्। केटीसाथीहरू उनको नजिकै नपर्ने, केटाहरूसँग उनी आफैं तर्किएर हिँड्थे। समाजबाट आफू निक्कै पर रहेको र आफू सर्वदा एक्लो रहेको अनुभूति भयो।

 

प्रकाशित मिति: : 2019-08-18 14:29:08

प्रतिकृया दिनुहोस्