जात्रै-जात्राको महिनाः घन्टासुरको दहनदेखि वर्षाते न्वागीसम्म

तस्बिरः नेपाल न्यूज

आउनु माया घुमौंला वर्षे मेलैमा।

मनका कुरा गरौँला फर्क्याैली बेलैमा।।

कर्णाली यतिखेर जात्राको तयारीमा जुटेको छ। श्रावण कृष्ण चतुर्दशीका दिन अर्थात् घन्टाकर्ण चतुर्दशीदेखि सुरु भएको वर्षे मेलाका लागि कर्णालीका विभिन्न जिल्लामा तयारी चलिरहेको हो। विशेष गरी नेवार समुदायको बासस्थान रहेको जुम्ला, दैलेख र सुर्खेतमा वर्षे मेलाका तयारी चलिरहेका छन्। परापूर्वकालमा नेवार समुदायले मनाउदै आएको वर्षे मेला यतिखेर अन्य समुदाय तथा जनजातिले पनि मनाउँदै आइरहेका छन्।

वर्षभरिको खाद्यान्नका लागि रोपाइपछि सुरु हुने वर्षे मेलालाई कष्टकरपछिको सुख प्राप्तिको समय आगमनका रूपमा हेरिदै आएको छ। कर्णालीका तीन जिल्लाहरू जुम्ला, दैलेख र सुर्खेतमा युवापुस्ता वर्षे मेला लगाउन सक्रिय छन्।

श्रावण कृष्ण चतुर्दशीको दिन घण्टाकर्ण चर्तुदर्शीका रूपमा पनि मनाइन्छ। सुर्खेतमा शिव विहार पुस्तकालय, दैलेखमा भगवती युवा क्लव, न्यू ज्वाला क्लब, भगवती युवा क्लब, एभरेष्ट क्लब र सुनगाभा युवा क्लब र जुम्लामा वर्षे मेला व्यवस्थापन समितिले घण्टाकर्ण चतुर्दशी मनाएका हुन्। बस्तीमा पसेर विनास मचाउने नरभक्षी घन्टासुरलाई नगरवासीले ढुंगाले हानेर मारेको सम्झनामा घन्टाकर्ण चतुर्दशी अर्थात् गठेँमंगल मनाउँदै आइएको छ। गठेँमंगल वर्षे मेलाको सुरुआत हो। लाखेजात्रा, टाकटुकेजात्रा, रोपाइँजात्रा, बाघजात्रा, जोगीजात्रा वर्षे मेलाका मुख्य जात्रा हुन्।

सुर्खेतमा हरेक वर्ष वर्षे मेलाको आयोजना गर्दै आइरहेको शिव विहार पुस्तकालयका अध्यक्ष किरण कुमार श्रेष्ठले गठेँमंगलपछि जात्राको तयारीमा लागेको बताए। उनले भने, ‘गठेँमंगलपछि हाम्रा जात्राहरू सुरु भएका छन्। स्थानीय युवा संस्कृति प्रवद्र्धनका लागि एकजुट भएका छौं।’

यसैगरी न्यू ज्वाला क्लब, दैलेखका अध्यक्ष विशाल सुनार जिल्लामा वर्षे जात्राको लागि तीव्र तयारी चलिरहेको बताउँछन्। दैलेखमा रहेका विभिन्न युवा क्लबको सक्रियतामा जात्राको तयारी चलिरहेको उनले बताए। उनले भने, ‘नेवार समुदायलगायत अन्य समुदायले पनि वर्षे मेला मनाउने गर्छन्।’

जुम्लाको वर्षे मेलामा चार जिल्लाका बासिन्दाको सहभागिता रहँदै आएको छ। मुगु, कालिकोट, जाजरकोट र जुम्ला जिल्लाका स्थानीय एकैसाथ जुम्लामा वर्षे मेला मनाउन आउने गरेको जुम्लाका वर्षे मेलाजात्रा समितिका महासचिव आनन्द अधिकारीले बताए। कर्णालीका अन्य जिल्लामा मनाइने वर्षे मेलाको तुलनामा जुम्लाको वर्षे मेलामा भेषभूषा, लवज, बाजा तथा लयले कर्णालीको झल्को दिने गरेको उनको दाबी छ।

प्रकाशित मिति: : 2019-08-12 07:26:54

प्रतिकृया दिनुहोस्