‘नमूना विद्यालय निर्माण’को प्रारम्भिक चरणमै अनियमितता

निर्माणाधिन सप्तरीको बोदेबरसाइन नगरपालिका-५ स्थित चन्द्रा नमूना माध्यमिक विद्यालयको भवन

राजविराज- सरकारले ‘नमूना विद्यालय निर्माण’ योजना अन्तर्गत सुरु गरेको सप्तरीको बोदेबरसाइन नगरपालिका-५ स्थित चन्द्रा नमूना माध्यमिक विद्यालयको भवन निर्माणको काममा स्थानीयवासीले अवरोध गरेका छन्।

विशेष प्राथमिक्तामा परेको ‘नमूना विद्यालय निर्माण’ को काम प्रारम्भिक चरणमै गुणस्तरहीन भएको उनीहरूको आरोप छ। भुकम्परहित भवन निर्माणको काममा छड र सिमेन्टको ल्याब परीक्षण नगरिएको तथा मापदण्ड विपरीतको गिट्टी प्रयोग गरिएको स्थानीयबासी तथा भ्रष्टाचार विरुद्धको संघर्ष समितिका संयोजक इन्जिनियर आलोक कुमार यादवले बताए।

‘भवनको भुई तला ढलानको काम सुरु भएको छ। तर, प्राविधिक रुपमा पूरा गर्नु पर्ने सामान्य प्रक्रिया समेत वेवास्ता गरिएको छ,’उनले भने,‘मापदण्ड अनुसार ढलानका लागि क्रसरमा फुटाएको गिट्टी प्रयोग गर्नु पर्ने थियो। तर, प्रयोग नै गर्न नमिल्ने गिट्टी जबरजस्ति प्रयोग गरिँदैछ।’ गिट्टीको आकार तथा सिमेन्ट र बालुवाको मिश्रण नमिलाए जग नै कमजोर हुने भएकाले आफुहरुले काममा अवरोध गरेको यादवले बताए।

मापदण्ड विपरीत भवन निर्माण हुन थालेपछि आफूहरूले स्टिमेट माग्दा नदिएको र निर्माण स्थलमा योजनाको सूचना बोर्ड समेत नराखिएको उनले गुनासो गरे।

विद्यालयका प्रधानाध्यापक गौरीशंकर चौधरीले निर्माण कार्यमा सामान्य त्रुटि भएको स्वीकार्दै त्यसलाई सच्याएर जाने बताएका छन्। ‘छड र सिमेन्टको पनि ल्याब टेस्ट हुन्छ भन्ने मलाई जानकारी थिएन। यसमा त्रुटि भएकै हो,’ उनले भने,‘ढलानमा प्रयोग गरिने गिट्टी पनि क्रसरको र ८० एमएमभन्दा सानो हुनुपर्ने रहेछ। नबुझेर केही कमजोरी भएका छन्। त्यसलाई हामी सच्याउँछौं।’

निर्माणस्थलमा सूचना बोर्ड राख्ने विषयमा पनि आफूले पहल गर्ने उनले प्रतिबद्धता जनाए।

प्रकाशित मिति: : 2019-08-09 08:27:21

प्रतिकृया दिनुहोस्