म हालै अमेरिकामा सम्पन्न युएन वुमनको ‘द कमिसन अन द स्टाटस अफ वुमन’मा कार्यक्रममा सहभागी भएर फर्किएको छु। महिलाको आर्थिक सशक्तिकरणको विषयमा छलफल हुने यो कार्यक्रम हरेक वर्ष हुने गर्छ। यस वर्ष मैले पनि त्यसमा सहभागी हुने अवसर प्राप्त गरेँ। म सुदूरपश्चिमबाट र दलित महिलाको तर्फबाट त्यो कार्यक्रममा सहभागी हुने पहिलो महिला हो। यो अवसर प्रदान गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।
त्यो कार्यक्रममा विश्वभरिका महिला भेला थिए। खासगरी त्याे कार्यक्रम महिलाहरुको आर्थिक सशक्तिकरणको पाटो कस्तो छ, कानुनी पहुँचमा महिलाहरुको अवस्था कस्तो छ र महिलाहरुलाई कसरी सशक्त बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित थियो।
हाम्रो देशबाट महिलामन्त्री भगवती चौधरी नेतृत्वकाे टाेली सहभागी थियाे। उहाँहरुले हाम्रो नेपालमा भएका राम्रा कुराहरु गर्नु भयाे। नागरिक समाजको तर्फबाट हामीले त्यसमा सुझाव दिने काम भयो।
नेपालमा महिलाकाे पक्षमा धेरै कानुन बने पनि कार्यन्वयन भएनन् भन्ने विषयमा हामीले छलफल गर्याैँ। विभिन्न देशका अरु प्रतिनिधिहरुसँग पनि हाम्रो छलफल भयो। त्यो छलफलको निष्कर्ष हामीले सुझावको रुपमा सरकारलाई बुझाउने कुरा छ।
मेरा लागि त्याे कार्यक्रम आफैँमा नौलो सिकाइ बनेको छ।
हामी लगभग त्यहाँका सबै कार्यक्रममा सहभागी भएका थियौँ। ती कुराहरु हेर्दा समस्या सबै देशहरुमा छ। प्रतिनिधित्वकाे हिसाबले सबै देशका महिलाहरु समस्यामा छन्। सबै देशका महिलाहरुले आर्थिक समस्याका कारण पछाडि परेको गुनासो गरिरहेका थिए। हामीले समस्या हाम्रो देशमा मात्र छ कि भन्ने सोचेका थियौँ तर त्यहाँ गएर हेर्दा विभेदको कुरा सबै देशमा छ, हिंसा सबै देशमा भएको छ। समस्या यहाँ मात्र नभएर सबैतिर रहेछ।
महिलाको विषयमा महिलामात्र नभएर पुरुष पनि बोल्न जरुरी छ। दलितकाे सवालमा अरु समुदाय पनि बाेल्न जरुरी छ। हाम्रा देशका राम्रा कुराहरुलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी छ। अरु देशका कुराहरु हामीले पनि सिक्न आवश्यक छ भन्ने कुरा मैले बुझेँ।
अनि, उत्पादनको विषयमा अरु देशका महिलाहरुले स-साना कुराहरुलाई पनि बाहिरसम्म देखाएका छन्। तर, हाम्रो गाउँका कुराहरुलाई बाहिर ल्याउन सकिएको छैन। राम्रो कुरालाई पनि हामीले बाहिर ल्याउन सकेका छैनौँ। हाम्रा राम्रा कुरालाई बाहिर ल्याउन आवश्यक छ।
म आफैँ पनि सूदुरपश्चिम जस्ताे ठाउँबाट त्यहाँ पुगेको महिला हो। हाम्रो देशका अरु ग्रामीण महिला पनि त्यस्ता कार्यक्रममा सहभागी हुन पाए धेरै राम्राे हुने थियाे। हुन त त्यस्ता कार्यक्रममा सहभागी हुँदा भाषालगायतका कुराहरुमा समस्या हुन्छ। तर, देखेर पनि त धेरै कुरा सिक्न सकिन्छ।
म सरस्वती नेपाली सुदूरपश्चिमबाट अमेरिकामा पुग्न पाएँ भनेर खुसी हुनुपर्ने कुरा केही छैन। किनभने, यस्ता कार्यक्रमहरुमा अन्य महिलालाई पनि सहभागी गराउने कुरा महत्वपूर्ण हुन्छ। हामीले अरु ठाउँको राम्रो कुरा सिकियो भने पो त यहाँ राम्रो गर्न सकिन्छ भन्ने मलाई लागेको छ। यद्यपि, मुख्य कुरा त हामी सूचना पहुँचबाट धेरै टाढा छौँ। अब यो कार्यक्रम पनि कति वर्षदेखि चलिरहेको रहेछ, हामीलाई त थाहा नै थिएन। त्यही भएर त्यस्ता सूचनाहरुमा आफू पनि अपडेट हुने र अरुलाई पनि अपडेट गराउने गर्नु पर्छ।
अहिलेसम्म हामीले आन्दोलन आन्दोलन भन्दै अधिकारका कुराहरु मात्र गर्यौँ। तर, हामी आफैँले आफ्नो लागि गर्नुपर्ने काममा चुकेका रहेछौँ। म अहिले अमेरिका पुगेपछि त्यो अनुभव गरेँ। त्यही भएर हामी सबै हिसाबले सक्षम हुनुपर्ने देखिन्छ। हामी हरेक कुरामा सहभागी भइरहेका छाैँ तर आफ्नाे क्षमतावृद्धिमा ध्यान दिन बिर्सिएका रहेछाैँ। त्यसैले मैले बुझेकाे कुरा के हाे भने- हामीले अध्ययन र धेरै कुराहरू बुझ्नु पर्छ। अन्यथा हामी एउटा विभेदबाट उम्किए पनि अर्काे विभेदकाे सिकार हुन पुग्छाैँ।
हामीले आर्थिक सशक्तिकरणको विषयलाई जोड दिनुपर्छ। त्यसका लागि स्थानीय सरकारलाई जिम्मेवार बनाउनुपर्ने देखिन्छ। म आफू पनि अब गाउँमा फर्किएपछि याे कुरामा जोड दिनेछु। स्थानीय सरकारसँग छलफल गर्नेछु।