घाटबाट फर्काइएकी नर्मताको स्वास्थ्यमा सुधार, श्रीमान र छिमेकी भन्छन् : चमत्कार भयो

अन्तिम संस्कारका लागि घाटमा  लगिएकी एक महिलाको फेरि उपचार सुरु भएको छ ।

घाटबाट फर्काएर अस्पताल लगिएकी रैनादेवी छहरा गाउँपालिका–१, पाल्पाकी ३६ वर्षीया नर्मदा (नर्मता) ज्ञवालीको बुधबारदेखि लुम्बिनी मेडिकल कलेज, प्रभासमा मिर्गौलाको डायलाइसिस सुरु भएको छ ।

अस्पतालका डाक्टर सर्वेशराज शर्माका अनुसार बिरामीको स्वास्थ्यमा सुधार हुँदै आएको छ । तन्नामा पोको पारेर ल्याइएको बिरामीको अवस्था सुरुमा निकै जटिल भए पनि बिस्तारै औषधिले काम गर्न थालेको डाक्टर शर्माले जानकारी दिनुभयो । 

‘अस्पताल ल्याउँदा प्रेसर र स्वाशप्रश्वास निकै कम थियो’, डाक्टर शर्माले भन्नुभयो, ‘भेन्टिलेटर र आईसीयूमा राखेर औषधि चलाएपछि आशा जागेको हो ।’ 

झाडापखालाबाट सिकिस्त भएपछि तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा १२ दिनसम्म नर्मताको उपचार भएको थियो । धेरै दिनसम्म उपचार गर्दा पनि निको हुने छाँटकाँट नदेखिएको भन्दै परिवार आत्तिए ।  

रोगले झनझन च्याप्दै गएपछि आफन्तले माया मारेरै सोमबार अस्पतालबाट बिरामीलाई डिस्चार्ज गरी घर फर्काउने भन्दै रिडीघाट पुर्‍याएर कालीगण्डकीमा अर्धजल चढाएका थिए । 

‘खुट्टाको औँला नदीमा डुबाइयो, आशै मारेको मान्छेमा आलौकिक शक्ति आयो’, रिडीघाट पुगेका छिमेकी कृष्णप्रसाद पन्थले भन्नुभयो, ‘त्यसपछि रिडीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका हौँ  ।

भेला भएका गाँउले र नर्मताका श्रीमानले समेत बिरामी निको नहुने भन्दै घर लैजाने भन्दै कर गरे । तर स्वास्थ्य केन्द्रले पनि तत्काल अस्पताल लगेमा बिरामी सन्चो हुने सुझाव दियो ।  स्वास्थ्य केन्द्रका डाक्टरले धेरै पटक हात जोडेर अनुरोध गरेपछि अस्पताल लगिएको पन्थको भनाइ छ । 

‘दिनदिनै उनको अवस्था नाजुक हुँदै गएको कुरा थाहा थियो, अस्पतालमा रहेकी नर्मतालाई रिडी ल्याइँदै गरेको खबर  गाउँमा आयो । उनी बितिन् भन्ने खबर भएपछि गाउँलेहरु मलामीकै रुपमा दाउरा लिएरै घाटमा पुगेका हुन्’, कृष्ण पन्थले जानकारी दिनुभयो । 

आशै मारेर घर फर्काएका हौँ : नर्मताका श्रीमान 

१२ दिनसम्म उपचार गर्दा पनि निको नभएपछि सबैको सल्लाहमा श्रीमतीलाई डिस्चार्ज गरिएको नर्मताका श्रीमान सूर्यचन्द्र ज्ञवालीले बताउनुभयो ।

‘बिरामीलाई यहाँ गर्न सकिने सबै उपचार गरियो, अब डायलाइसिस गर्नुपर्छ, त्यो यहाँ छैन भनेर मिशनका डाक्टरले भने’, सूर्यचन्द्रले भन्नुभयो, ‘थप उपचार गर्न पैसा पनि भएन, माया मारेरै उनलाई फर्काएको हो ।

आशै मारेर उनलाई घर फर्काएको हो’, उहाले भन्नुभयो, ‘ठूलै अस्पतालमा उपचार गर्दा पनि निको नभएपछि मैले नै आशा मारेको हुँ । 

घर लाने क्रममा गंगाजल चढाउन छिमेकीले  नदी किनारमा लगेपछि आफू भने बजारमै बसेको उहाँको भनाइ छ । ‘म आफै बिरामी थिएँ, बाटैमा बसेँ । पछि एम्बुलेन्समा राखेर उनलाई ल्याएपछि म पनि अस्पताल आएको हुँ’, उहाँले भन्नुभयो, ‘आशै मारेको मान्छेलाई सबैको सहयोगमा अहिलेसम्म बचाउन सकिएको छ ।’ 

चमत्कार भयो : छिमेकी 

युनाइटेड मिशन अस्पतालबाट नर्मदालाई डिस्चार्ज गरी घर फर्काउँदा सँगै एम्बुलेन्समा गएका छिमेकी ठानेश्वर कँडेलले बिरामीमा अलौकिक शक्ति प्राप्त भएपछि यस्तो भएको बताउनुभयो ।

प्रकाशित मिति: : 2019-07-25 19:26:18

प्रतिकृया दिनुहोस्