पूर्ण क्षमतामा कुलेखानी चलेपछि पानीको खतरा हट्यो, तत्काल ढोका नखोलिने

Kathmandupress

काठमाडौं, असार ३१: कुलेखानी जलविद्युत केन्द्रको जलाशयको ढोका तत्काल नखोलिने भएको छ। लगातार वर्षाका कारण मकवानपुरमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय खतरा विन्दुमा पुगेको भन्दै खोल्ने तयारी गरिएको थियो। 

जलाशयको ढोका जुनसुकै वेला खोल्न सकिने भन्दै तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सोमबार आग्रह गरिएको थियो। वर्षा कम हुदैं गएको तथा विद्युत पूर्ण क्षमतामा चलाएको भन्दै तत्काल ढोका खोल्नु नपर्ने विद्युत प्राधिकरणले मध्यरातमा गृहमन्त्रालयलाई जानकारी गराएको थियो।

गृहमन्त्रालय मार्फत जल तथा मौसम विज्ञान विभागलाई पनि जानकारी गराइएको थियो। विभागको बाढी भविश्यबाणी शाखाले अहिले तत्काल जलाशयको ढोका नखुल्ने र खोल्ने अवस्था आए जानकारी गराईने स्थानीयहरुलाई जानकारी गराएको छ। जलाशय भरिएको  र ढोका खोल्दा बाढी आउने भन्दै सर्लाही, रौतहट, मकवानपुर लगायत क्षेत्रमा त्रास छाएको थियो।

गत वर्षभरिमा जलाशयमा पानीको सतह १,५२६ मीटर रहेकोमा यस वर्ष सोमबार विहानसम्ममै १,५२६ मीटर पुगेको छ। सोमबार बिहान साढे पाँच बजे १,५२५.१७ मीटर रहेको जलाशयको पानीको सतह १० बजे बढेर १,५२६ मीटर पुगेको हो।

प्रकाशित मिति: : 2019-07-16 09:06:08

प्रतिकृया दिनुहोस्