नेपालमा बाल यौनदुराचार गर्ने राष्ट्रसंघका कर्मचारीलाई ९ वर्ष जेल

नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक पिटर जोहन डालग्लिसलाई काभ्रे जिल्ला अदालतले यौन दुराचारमा दोषी ठहर गर्दै ९ वर्ष कैद सजाय सुनाएको छ।

अदालतले २९५ कोड नाम भएका बालकका हकमा ९ वर्ष कैद र २९४ कोड नाम भएका बालकको हकमा ७ वर्ष कैद सजाय सुनाएको हो।

एउटै मुद्दाका दुई पीडितको हकमा भएको सजाय गाभिँदा पिटरले ९ वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ। अदालतले जेठ २६ गते नै उनलाई बाल यौन दुराचारमा दोषी ठह¥याएको थियो ।

अदालतले पीडित दुवै बालकलाई जनही ५ हजार अमेरिकी डलर बराबर नेपाली रुपैयाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको हो।

न्यायाधीश अर्जुन अधिकारीको इजालसले जेठ २७ गते यौन दुराचार कसुरमा दोषी ठहर गर्दै संहिताअनुसार सजाय फैसला असार २३ मा सुनाउने निर्णय गरेको थियो।

विश्वका गरिब र युद्धग्रस्त देशका सडक तथा युद्ध प्रभावित बालबालिका संरक्षकका रूपमा चिनिएका डालग्लिस २०७५ चैत २४ मा काभ्रेबाट यौन दुराचार अभियोगमा पक्राउ परेका थिए। उनी हाल पुर्पक्षका लागि धुलिखेल कारगारमा छन्।

प्रकाशित मिति: : 2019-07-09 12:11:17

प्रतिकृया दिनुहोस्