मुगुमा सन्नाटा

रारा जाने मार्ग: राज्यले थापेको 'धराप'

जीवन डाँगी

काठमाडौं
Breaknlinks
Breaknlinks

प्रमुख–पर्वको रौनक चलिरहेका बेला ‘मुगु दुर्घटना’ले दशैंमा दशा थपेको छ। पारिवारिक हर्षोल्लासमा रमाउन अनेक दुःख खपेर जन्मथलो फर्केका कलिला कोपिलाहरू चुडिएका छन्। घरछेउमै बस दुर्घटना हुँदा बा–आमा, परिवार र आफन्तसामु पुग्नै पाएनन्, उनीहरू।

दुर्घटनामा परी ज्यान गुमाउने ३२ जनाप्रति हार्दिक श्रद्धाञ्जली। घाइते सबैमा सिघ्र स्वास्थ्य लाभको कामना।

मुगुस्थित छायाँनाथ रारा नगरपालिकामा मंगलबार दिउँसो दुर्घटना भएको यात्रुबाहक बसमा ज्यान गुमाउनेहरू सदाका लागि बिदा भएका छन्। उनीहरू अब कहिल्यै फर्किने छैनन्। 

दशैं–तिहार मनाउन काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट जन्मभूमि छायाँनाथ रारा फर्केका उनीहरू पिनाटप–खोला नजिकै दुर्घटनामा परे। मृतक मध्ये धेरैजसो लगभग ४० वर्षमुनिकै युवा छन्। उनीहरू विद्यार्थी हुन्। मुगु बस दुर्घटनाले एकाएक सबै–सबैलाई स्तब्ध बनाएको छ।

०००

मुगुबाट फर्केपछि ‘राराताल’ पलपल सम्झे पनि यात्रा भने बिर्सिसकेका थियौँ। तर मंगलबारको भयाबह दुर्घटना सुन्नैपर्‍यो। जसले पुनः निन्द्रै हराम गरायो। मनमा पुनः घुम्न थाल्यो रारा पुग्न घण्टौं दौडिएको ज्यानमारा सडक।

फर्केर हेर्दाः पंक्तिकार अघिल्लो महिना ‘जुम्ला–मुगु’ मार्ग हुँदै ‘स्वर्ग कि अप्सरा’ रारा पुगेर काठमाडौँ फर्केको थियो। रारा भम्रण जाँदा मुगुको यात्रा कस्टकर बन्यो। कारण– उहीँ कच्ची र ज्यानमारा बाटो। 

राराताल घुम्ने पर्यटकहरूको सिजन सुरू हुनैलाग्दा कच्ची सडकको अवस्थासमेत झन् बेजोक छ। मुगु सदरमुकाम गमगढीको मुख्य मार्ग मानिने यो सडकबारे गुनासो गरि–साध्यै छैन।

सुन्दर मुगु। त्यसमाथि राराको कञ्चन नीलो पानी। त्यसमा देखिने नीलगगन। स्वच्छ, स्नीग्ध रारा अप्सरा भन्दा खुलेकी छन्। रारा तालको उकालोमा लहरै उभिएका थरि–थरि रङ्गका अनेक घोडाहरू– यस्तो छ, राराको चित्र। तर बाटो सम्झियो वाक्कै लाग्छ।

जुम्लाको सिंजादेखि ‘बस दुर्घटनास्थल’ हुँदै रारा राष्ट्रिय निकुञ्जको पहिलो चेकपोस्टसम्म पहिरो, हिलो–धुलो र वर्षादले चिराचिरा पारेको सडकमा सवारी–साधन गुड्न बाध्य छन्। मुगुबासीहरू जुम्ला, नेपालगञ्ज, सुर्खेतदेखि काठमाडौँसम्म यही मार्गको प्रयोग गरी जान्छन्। उनीहरूका लागि अर्को कुनै विकल्प नै छैन।

मोटरसाइकल मार्फत् रारा भ्रमणमा जाँदा अझ् यात्रुका अनेक दुःख देख्न र भोग्न बाध्य भयौँ। सडकको दयालाग्दो अवस्था देखेर पंक्तिकारसँगै यात्रारत एक पर्यटक भन्थे, ‘स्वर्ग कि अप्सरा हेर्न आएकाे हो। तर स्वर्गै जाने त होइन नि?’ हो ! अवस्था ठ्याक्कै यस्तै छ। हामी दुई दिनका यात्रु भएता पनि स्थानीयले भोगेको कस्टकर दैनिकी मजैले बुझ्न सकिन्थ्यो।

मुगुबासीका कैयौँ गुनासाहरू छन्। ती सबै खोली साध्यै छैन। एकपटक यात्रा गर्दा पटकपटक जिउँदै मरेका हामीहरू, उनीहरूको दुःख किन नसोच्नु। बाटो छेउछाउमा भेटिनेहरूको एउटै गुनासो हुन्थ्यो– सडक त धौ–धौ आयो, ज्यान कसरी जोगाउँने। केहि त गरोस् नगरपालिकाले। वर्षेनी लाखौँ पर्यटक रारा भित्र्याउने उद्देश्य झोलामा बोकेर हिँडेको राज्यले सडक मर्मतबारे नसोचे हो, त ?

०००

पहाडभित्र घुम्ती नै घुम्ती। त्यसैमाथि ठाडै उकालो। कतै सल्प्पै ओरालो। साँघुरो कच्ची सडक। तर, पनि हजारौँ यात्रुहरू असुरक्षित मार्ग हुँदै दैनिकजसो यात्रारत हुन्छन्।

चालकको लापरवाही, क्षमताभन्दा बढी कोचाकोच मानिस र यात्रुकै असावधानीजस्ता मानवीय त्रुटिले ज्यान गुमाइरहेका छौँ। मुगुको दुर्घटना पनि एउटा दुःखद संयोग हो।

जलमार्गको सम्भावना छैन। ताल्चा विमानस्थलको भरै नपरौँ। रेल मार्ग त झन् ‘सम्झिने पानी छम्किने’ भनेजस्तै छ। यहाँको यात्राका लागि सडक यातायात एकमात्र माध्यम हो। तर भरपर्दो भने विल्कुल छैन।

जुम्ला, हुम्ला, कालिकाट, मुगु र डोल्पाको विकल्पहीन सडक यातायातको असुरक्षाबारे सबैलाई लगभग जानकारी नै छ। किनकि कर्णालीको सडक पहुँचको त्यति लामो इतिहास छैन। यी क्षेत्रमा सदरमुकामबाट टाढा–टाढा पर्ने गाउँमा बल्ल–तल्ल बाटो पुग्दैछ।

सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ। तर एकैपटक नदेखिएको मात्र हो।

०००

दुर्घटनामा परी निर्दोष विद्यार्थीहरूले घरछेउमै पुगेर अकालमा मृत्युवरण गरे। उनीहरू काठमाडौँ, नेपालगञ्ज र सुर्खेत पढ्ने विद्यार्थीहरू हुन्। परिवारसँगै बसी दशैं मनाउन आ–आफ्ना घर फर्केका थिए।

कोरोनाका कारण लामो बन्दाबन्दी हुँदा खासै गाडी चलेनन्। लगतै, वर्षाद सुरू भइँगो। लामो समयसम्म गाडी नचल्दा सडकमा पहिरोका पहाड छन्। बर्खा सकियो। दशैं लाग्यो। फाटफुट सवारी चल्न थालेका मात्रै के थिए– मुगु दुर्घटनाले मनै झसङ्ग पार्‍यो।

०००

सोच्यौँः हामीहरू नमरे पनि दशैंको आँगनमा कोही न कोही त मारिए नी! उनीहरू मरेका होइनन् अर्थात् उनीहरूको मृत्युभएको होइन। राज्यले नागरिकमाथि राराछेउमा थापेको धरापमा परेका हुन्। जहाँ हामीहरू पनि मर्न सक्थ्यौँ तर धन्न उम्क्यिौँ। भो अब यहिँ हालतमा रारा पुग्ने रहर छैन।

०००

संयोगः मुगुका संघीय सांसद गोपाल बम जो– रारातालको आँगनमा पर्यटकहरूलाई डाँफेमार्फत् स्वागत् गर्छन्। रारा तालको मुखैमा उनको होटल छ। प्रायः पर्यटक डाँफेमै बस्छन्। शुल्क जे–जस्तो भएपनि खाने–बस्नेको सुविधा ठीकै छ।

तर, तीनै सांसदको जन्मथलो र निर्वाचन क्षेत्रमा झन्–झन् दुःख बर्साउने सडक छ। जहाँ मंगलबार बस दुर्घटना भयो। त्यो गाउँ उनै बमको हो। स्थानीयले बताएअनुसार घर पनि त्यहीँ नजिकै छ।

यो मार्गको सबैभन्दा डरलाग्दो र उधुम बिग्रेको सडक पनि सांसदकै घरछेउमा पर्दछ। यसको हिस्सेदार उनी मात्रै छैनन्। छायाँनाथ रारा नगर प्रमुख हरिजङ्ग शाही पनि दुर्घटना भएकै वडाका स्थानीय हुन्। तर, उनी पनि नागरिकले बारम्बार ‘राेड बिग्रियो केहीँ त गरौँ, मेयर–साप’ भन्दा कानमा राराको पानी हालेरै सुते। केही गर्न सकेनन्। अन्ततः धरापमा पारेर मारिएका मृतकको परिवार र आफन्त सामु मुकदर्शक मात्रै बने।

उनीहरू त हेलिकोप्टरमा उड्छन्, चिल्लो गाडीमा दौडिन्छन्। तर, त्यहाँका नागरिक र पर्यटकहरूको अवस्था भने एकपटक ज्यानमारा मार्गको यात्रा गरेपछि मात्रै पत्तो चल्छ।

दशैंअघि सडक सफा गर्न स्थानीय युवाले गरेको आग्रहसमेत उनले पटक्कै सुनेनन्। रारा भ्रमणका क्रममा पंक्तिकारले सांसद तथा मेयरको विकास गतिविधिबारे चासो राख्दा स्थानीय युवक आनन्द रावल सुनाउँथे,‘गाउँको विकास जति रारा दहमा भरिगाे, ताँइबाट बाहिर ल्याउन्या सकिन्या नाई। क्या गरी हाेला विकास–निकास?’

०००

दशैंको मौका छोपी घर फर्किनै लागेका दर्जनौँ होनाहार युवाले अकालमै ज्यान गुमाउँदा गाउँ शोकमा डुबेको छ। दशैंको उल्लास छाइसकेका बेला परिवार र आफन्तहरू भने शव बुझ्न जिल्ला अस्पतालमा पुगेका छन्। घाइतेहरूकाे स्वास्थ्यमा थप सुधार हुँदै गए पनि तनाब उतिकै छ।

वर्षेनी सडक मर्मतका नाममा खन्याइँने लाखौँ रकम कार्यकर्ताको ज्यानमा भेटिन्छ, रारा जाने बाटोमा होइन। यसै कारण पनि भन्न मन छ, यो राज्यले नै थापेको धराप हो।

दुर्घटनालगतै मंगलबार दिउँसो छायाँनाथ रारा नगरपालिका उप–प्रमुख सुन्तला रोकायासँग सम्पर्क गर्‍यौँ। उनीसमेत घटना सुनेर दुःखी थिइन्। ठाउँ–ठाउँको नामै तोकेर फोनमार्फत् घटनास्थल पत्तो लगाउने प्रयास गर्दा आफूलाई स्थान याद नभएको जवाफ दिइन्। उनी भन्छिन्, ‘घाे (बाटो) एकठाउँ बिग्र्या भया पाे बताउँना हुँ। संघीय, प्रदेश सरकार वास्ता गद्दैनुन। हाम्राे अवस्था यस्तै छ।’

यो सडकखण्डको सात नम्बर वडामा सबैभन्दा धेरै बाटो बिग्रेको छ। यो स्थान जुम्ला–मुगु सीमा क्षेत्रसमेत पर्छ। ‘सांसद, मेयर र वडाअध्यक्ष ताँइका हुन्, जाँ बस दुर्घटना भयो। अब तुमी आफै भुन, माेइले भन्नु क्या छ र?,’ उप–प्रमुख रोकायाले उल्टै प्रश्न गरिन्।

दुर्घटनापछि मुगुमा सन्नाटा छाएको स्थानीय बलराम सहानीले बताए। उनी भन्छन्,‘मरेका मान्ठका परिवार र आम्ना मान्ठले घरियाकाे छियाे, दुर्घटना भयाकाे ठाउँ। मरेका मान्ठ सम्झिकन रोइकराइ गरिरहेका छिया।’ दुर्घटना भएको बस धुजा–धुजा छ। दुर्घटनामा पर्नेहरू छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६, ७, १०, ११ का स्थानीयहरू हुन्।

 


ज्यान गुमाउने ३२ जनाकै सनाखत भइसकेकाे छ–

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार घटनास्थलमै मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–७ का वडाका २२ वर्षीया सन्तोष बिटालु, साेहीकी २० वर्षीया मनदेवी बम, १९ वर्षीया लग्ना सेजुवाल, नाम नखुलेको सेजुवालको २ वर्षको छोरा, १८ वर्षीया पूजा बुढा, सोही नगरपालिका– ८ का ३३ वर्षीया प्यारी बिक, सोही सो नगरपालिका–१२ का २२ वर्षीया छोरा सावत, अन्दाजी ३५ वर्षीय बस चालक दानबहादुर रावल, सोही नगरपालिका– १० की २० वर्षीया सरिता खड्का, १४ का २२ वर्षीय कर्णसिंह बुढा, १ की २३ वर्षीया चन्द्रादेवी मल्ल, ६ की रामामाया भाम, १८ वर्षीय उम्मर सावद र वडा नं ११ का २२ वर्षीय प्रकाश बुढा रहेका छन्।

त्यसैगरी सोही नगरपालिका– ५ का २९ वर्षीय अजय कार्की, सोही वडाकी ३२ वर्षीया कमला बिसी, १० का २२ वर्षीय सुनबहादुर विक, १४ का शिव बुढा, ७ का २१ वर्षीया अमृता शाही राना र उनका अन्दाजी ५ वर्षीय आयुश राना, १४ का २० वर्षीय रुपसिंह कार्की, ७ का २२ वर्षीय महेन्द्र शाही, सोरु गााउँपालिका– ३ का मनरुप कुमाई रहेका छन्। बाँके जिल्ला राँझाका हाल गमगगढी बसोबास गर्ने २२ वर्षीय प्रदीप स्वर्णकार रहेका छन्।

नेपालगञ्ज नर्सिङ होममा उपचारका लागि लगिएका छायाँनाथ रारा नगरपालिका–४ का १८ वर्षीय चन्द्रप्रकाश भाम सोही नगरपालिका– ७ का उमेर नखुलेका आदित्यविक्रम शाह शिक्षण अस्पातल कोहलपुरमा लगिएका सोरु गाउँपालिका– ८ का २३ वर्षीय आइतसिंह कामी र छाँयानाथ रारा नगरपालिका– ८ का २८ वर्षीय टोपबहादुर बिष्टको मृत्यु भएको भएकाे छ।

प्रकाशित मिति: : 2021-10-13 19:00:00

प्रतिकृया दिनुहोस्