को हुन् राजकुमारी हया, जोसँगको बिछोडमा कविताहरु लेखिरहेका छन् दुबईका शासक

प्रेमिकाको कथित धोकामाथि लेखिएका यी पंक्ति कुनै सायर वा कविले लेखेका होइनन् । यसका सर्जक हुन् दुबईका शासक शेख मोहम्मद अल मकतूम । उनकी श्रीमती राजकुमारी हया बिन्त अल हुसैन दुबई छोडेर लण्डन गएकी छिन् ।

संयुक्त अरब इमिरेट्सको शाही परिवारमा यस्तो हुनु भनेको निकै अचम्मको घटना हो ।

राजकुमारी अहिले सेन्ट्रल लण्डनको कुनै टाउनहाउसमा बसिरहेको बताइन्छ । राजकुमारी हया घोडसवारीमा भाग लिने गर्थिन् तर यस वर्ष भएको रोयल एस्कटमा उनी अनुपस्थित थिइन् ।

केही स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार राजकुमारी हया आफ्नो ज्यानको खतरा महसुस गरिरहेकी थिइन् किनभने उनी आफ्ना श्रीमानविरुद्ध कानुनी लडाईं लड्ने तयारी गरिरहेकी थिइन् ।

कुन देशकी हुन् राजकुमारी हया ?

राजकुमारी हयाको जन्म सन् १९७४ मे महिनामा भएको हो । उनका पिता जोर्डनका राजा हुसैन थिए र आमाको नाम आलिया अल–हुसैन थियो ।

जब राजकुमारी हया तीन वर्षकी थिइन् तब उनकी आमाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो ।

राजकुमारी हयाले आफ्नो बाल्यकाल ब्रिटेनमा बिताइन् । उनले दुई नीजि विद्यालयमा पढिन् जसमध्ये एक ब्रिस्टलको ब्याडमिन्टन स्कूल हो भने अर्को डोरसेटको ब्रायनस्टन स्कूल हो ।

त्यसपछि उनले अक्सफोर्ड युनिभर्सिटीबाट राजनीति, दर्शन र अर्थशास्त्रको पढाई गरिन् ।

आफ्ना केही पुरानो अन्तरवार्तामा उनले फेलकोनरी (बाजलाई पाल्ने), निशानाबाजी र ठूलो मेसिनको शौख भएको बताएकी थिइन् । यसबाहेक उनले आफू जोर्डनमा ठूलो ट्रक चलाउने लाइसेन्स पाउने एकमात्र महिला भएको दाबी पनि गरेकी थिइन् ।

राजकुमारी हयालाई घोडसवारीको पनि ठूलो शौख छ । जब उनी २० वर्षकी थिइन् तब उनले घोडसवारीलाई आफ्नो करियरको रुपमा छानेकी थिइन् ।

घोडसवारीमा राजकुमारी हयाले सन् २००० को ओलम्पिक खेलमा जोर्डनको प्रतिनिधित्व पनि गरेकी थिइन् । उनी उक्त ओलम्पिक खेलमा आफ्नो देशको ध्वाजावाहक पनि थिइन् ।

‘म भाग्यमानी छु कि उनको नजिक छु’

सन् २००४ को अप्रिल १० मा राजकुमारी हयाले दुबईका शासक र संयुक्त अबर इमिरेट्सका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मदसँग विवाह गरिन् । त्यतिबेला राजकुमारी ३० वर्षकी थिइन् भने शेख मोहम्मद ५३ वर्षका थिए ।

राजकुमारी हया उनकी छैटौं श्रीमती थिइन् । शेख मोहम्मदका विभिन्न श्रीमतीबाट जम्मा २३ सन्तान भएको बताइन्छ ।

राजकुमारीलाई झैं शेख मोहम्मदलाई पनि घोडाको निकै शौख थियो । उनी गो–डोल्फिन नामको घोडाको तबेलाका मालिक पनि थिए । यी दुईको विवाह अम्मानमा भएको थियो ।

विवाहपछि राजकुमारी हयाले थुप्रै पटक शेख मोहम्मदसँगको आफ्नो सम्बन्धबारे जानकारी दिँदै आफू अत्यधिक खुसी भएको बताएकी थिइन् । दुबैले आफ्नो रमाइलो जीवन दार्साउने पेन्टिङ पनि बनाए ।

इमिरेट्स वुमेन म्यागजिनको २०१६ को अंकमा राजकुमारी हयाले शेख मोहम्मदबारे भनेकी थिइन्, ‘उनले जे गर्छन् त्यो अद्भूत हुन्छ । म हरेक दिन भगवानलाई धन्यवाद दिन्छु किनभने म उनको यति नजिक छु ।’

प्रकाशित मिति: : 2019-07-05 10:00:42

प्रतिकृया दिनुहोस्