‘जुन जाति तानाशाहका विरुद्ध लडेर आफ्नो मौलिक अधिकार लिन सक्दैन, ऊ कहिल्यै स्वतन्त्र रहन सक्दैन…’ क्रान्तिको यो सन्देशात्मक आह्वान शैलजा आचार्यको थियो।
आजभन्दा ६५ वर्षअघि यो समाजमा एक महिलाको चित्र कस्तो थियो होला? त्यो पनि आफूलाई ‘सर्वशक्तिमान’ ठानेका राजा महेन्द्रलाई ‘कालो’ झन्डा देखाउने महिला।
आजको पुस्तालाई त्यो बिम्ब मात्रै एउटा आदिम ‘स्केच’ लाग्नसक्छ। तर त्यो समाजमा शैलजा जस्ता धेरै क्रान्तिकारी महिला पनि थिए, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि आफूलाई जीवनभरि समर्पण गरे।
नेपालको प्रजातान्त्रिक आन्दोलन अनि राजनीतिको यो पातालबाट शैजला ‘दिदी’ बिदा भएको पनि लगभग १४ वर्ष भइसकेको छ। उनी आफूले बाँचेको त्यो सबै जीवन भने यही पुस्ताको प्रजातान्त्रिक अधिकारको लडाइँमा बिताइन्।
नेपालमा परिवर्तनका लागि भएका हरेक लडाइँमा धेरै त्यस्ता योद्धाहरूको जन्म भयो जसको समर्पण अनि त्याग र बलिदानको परिणाम हामी आजको जीवन बाँचिरहेका छौँ। ती धरोहरमध्येमा पनि शैलजा अझ अग्लो र नेपाली राजनीतिको एउटा सग्लो सजीव चित्र हुन्। जसले आफ्नो जिन्दगीभन्दा धेरै प्रजातन्त्रका लागि संघर्षमा आफूलाई समाहित गरिदिइन्।
स्व. विपी र गिरिजाप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइरालाले दुई विवाह गरेका थिए। २००७ सालको क्रान्तिपछि प्रजातान्त्रिक सरकारका पहिलो प्रधानमन्त्री मातृकाप्रसाद कोइराला कृष्णप्रसादका दुईमध्ये जेठी पत्नी मोहनकुमारीको कोखमा जन्मिएका थिए। २००१ साल वैशाख १६ गते मोहनकुमारीकै यही कोखमा जन्मिएकी इन्दिराकी छोरी हुन् शैलजा आचार्य।
विपी, तारिणी, केशव अनि गिरिजाप्रसाद कोइरालाहरू भने कृष्णप्रसादकी दोस्री श्रीमती दिब्या कोइरालाको कोखमा जन्मिए।
पूर्वी नेपालको यो परिवारकी एक हिस्सा भएका कारण शैलजा का कलिला उमेर राजनीतिको त्यही बगैँचामा हुर्कियो। विपीसँग पारिवारिक साइनो(मामा-भाञ्जी)ले शैलजा को राजनीतिक जीवन अझ फक्रियो। र त जीवनभरि उनले विपीको साथ छोडिनन्।
शिक्षादीक्षासँगै आएका राजनीतिक आरोह अवरोहका कारण शैलजाको जीवन वैवाहिक मोडतिर गएन। बरु सधैँ नेपालमा प्रजातन्त्र स्थापनार्थ उनले आफूलाई दौडाइरहिन् एउटा अथक योद्धा बनेर।
२०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्र खोसे। राणासँग जनताले गरेर फर्काएको प्रजातन्त्रलाई उनले १० वर्ष पनि राम्रोसँग बाँच्न दिएनन्। राणासँग लडेकाहरू फेरि राजाविरुद्ध लड्नुपर्ने अवस्था आयो। दिन, महिनाहरू बित्दै थिए। तत्कालीन क्रान्तिका अगुवा विपी कोइरालाहरूले राजाको त्यो कदम विरुद्ध कसरी लड्ने भनेर लडाइँका कुनै रुपरेखाहरू कोरिसकेकै थिएनन्। तर भित्रभित्रै राजाविरुद्ध जनमत भयंकर भइसकेको थियो।
त्यही वर्षको फागुन ७ गते राजा महेन्द्र टुँडिखेलमा आउने कार्यक्रम थियो। राजा हेर्न धेरै मान्छे जम्मा भइसकेका थिए। सैनिक हेलिकप्टरले फूलको वर्षा गरिरहेको थियो।
एउटा कुनामा कालो सल ओढेका युवतीहरूको एउटा हुल थियो। सबैले उनीहरूलाई ‘कन्या स्कुलका केटीहरू’ भन्ने ठानेका थिए। तर जब राजा देखिए, त्यो ‘कन्या समूह’ले आफ्नो रुप देखाइहाल्यो।
‘विपीलाई जेलमुक्त गर…’ भन्दै राजालाई ती काला सलहरू देखाएर नारा लगाउनेहरूको सबैभन्दा अघि थिइन्, उनै शैलजा आचार्य। त्यसमा अरु पनि नेताहरू मिसिएर ‘प्रजातन्त्र र विपी जिन्दावाद’ भन्दै नारा लगाए। केहीबेरमै प्रहरीले उनलाई भ्यानमा कोच्यो। १६ वर्षकी शैलजा त्यसपछि तीन वर्ष जेलमै बसिन्। पुस १ गते प्रजातन्त्र खोसेर महेन्द्रले विपीहरूलाई पनि जेल हालेका थिए।
त्यसपछि लामो समयसम्म उनी विपीहरूसँगै भारतमा निर्वासित जीवन बाँचिन्। पढाइलेखाइ त छँदैथियो, त्यसका अलावा उनले विपीको सानिध्यमै रहेर नेपालमा चलिरहेको पञ्चायतविरुद्धको आन्दोलनमा पनि जोडिइरहिन्।
पञ्चायतसँग लड्न नेपाली काँग्रेसले थालेको सशस्त्र क्रान्तिका लागि उनले भारतमै बसेर हातहतियारको जोहो पनि गरिन्। त्योबेला शैलजा नेपाली काँग्रेसको युथ लिगको अध्यक्ष पनि भइसकेकी थिइन्। युवाहरूलाई संगठित गरेर क्रान्तिमा होमिनका लागि २०२४ सालमा नेपाली काँग्रेसले बनाएको युथ लिगको उनी संस्थापक हुन्। जसले पञ्चायत विरोधी आन्दोलनलाई अझ उचाईमा पुर्याएको थियो।
विपीमात्रै नभएर सिङ्गो कोइराला परिवार शैलजाको राजनीतिक विश्वविद्यालय नै थियो। जसमा आफूलाई नृत्यङ्गना बनाउने सपना देखेकी शैलजा एक योद्धा बनेर आफूलाई खारिरहेकी थिइन्। यो एउटा त्यस्तो विश्वविद्यालय बन्यो, जहाँ शैलजाहरूले आफ्ना निजी सपना र जिन्दगीका लक्ष्यहरूलाई मात्रै प्रजातन्त्रको लडाइँमा केन्द्रित गरे र जीवनभरि आफ्नो निजी जिन्दगी बाँच्नै सकेनन्। जति बाँचे ती सब समय देशको प्रजातन्त्र अनि जनताको समृद्धिका लागि सुम्पिदिए।
२०३३ सालमा ‘मेलमिलाप’को नीति लिएर भारतबाट फर्किने बेला विपीसँग शैलजा पनि थिइन्। नेपाल आउनासाथ उनीहरू फेरि गिरफ्तारीमा परे। पञ्चायतको त्यो अन्तिम दशकसम्म आइपुग्दा प्रजातन्त्रको लडाइँमा विपी र शैलजाहरू मात्रै थिइनन्, बरु उनीहरूजस्ता धेरै योद्धाहरू जन्मिसकेका थिए। २०४६ सालको अन्तिम क्रान्ति त्यसकै परिणाम थियो, जहाँबाट नेपालमा फेरि प्रजातन्त्र उदायो।
प्रजातन्त्रको त्यो दीयोलाई त्यसपछिको कलुषित राजनीतिले भने चाँडै नै धिपधिपे बनाइदियो। प्रजातन्त्र बलियो हुन त्यसमा नागरिकको सन्तुष्टिको भाव पनि मिसिएको हुनुपर्छ। सत्तामा पुगेकाहरूले आफूलाई ‘शासक’मात्रै ठान्ने हो भने प्रजातन्त्रको त्यो दीयो त्यत्तिकै निभ्न थाल्छ। त्यसका प्रकाशहरू राजनीतिको त्यही अँध्यारो बिलीन हुन्छ।
२०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए, त्यो मन्त्रिपरिषद्मा शैलजा आचार्य कृषिमन्त्री भएकी थिइन्। कृषिप्रधान देश भनिए पनि नेपाली किसानले खेतबारी जोत्ने र उब्जनीका लागि जहिल्यै संघर्ष गर्नुपर्यो। त्योबेला पनि किसानका खेतबारीमा मल पुर्याउन उत्तिकै सकस थियो, अहिले पनि त्यस्तै छ।
उनी चाहन्थिन्, किसानले समयमै मल बिऊ पाउन्। साउन लागिसक्दासम्म पनि रोपाइँ गर्ने किसानको खेतमा मल पुगेको थिएन। भनौँ न नेपालमै मल थिएन। सरकारका गोदाम रित्ता थिए तर मल ल्याउने संयन्त्र सुस्त थियो।
शैलजा चाँडै मल भित्रियोस् भन्ने चाहिन्थिन्। तर सिंहदरबारमा बेरिएको ब्यूरोक्रेसी अर्थात् कर्मचारीतन्त्रको जालोमा उनी यसरी बेरिइन् कि मल ल्याउने संयन्त्रसँग पुग्दा झन् अर्को भयंकर जालो देखिन्- त्यो भनेको कमिसनको जालो थियो। कर्मचारीदेखि व्यापारीसम्ममै फैलिएको त्यही कमिसनको जालो थियो, जसले किसानका खेतबारीमा समयमै मल पुर्याउन रोकिरहेको थियो। नेपालमा रासायनिक मल अहिले पनि तेस्रो मुलुकबाट आउँछ।
२०४९ साल साउन ६ गते बसेको प्रतिनिधिसभाको बैठकमा कृषिमन्त्री शैलजा आचार्यले भनेकी थिइन् ‘कृषि मन्त्रालयमा कमिसनखोरहरूको जालो छ…।’ उनी चाहन्थिन् कि यो विषयमा संसदले सरकारलाई आदेश गरोस् अनि मन्त्रालयमा किसानको हकअधिकार रोकिराखेको त्यो जालो तोड्न छानबिन होस्।
कतिपय सत्यले आफैलाई पोल्दारैछन्, शैलजा ले त्यही भोगिन्। छानिबिन हुनु त परैको कुरा उल्टो शैलजाकै आलोचना हुन थाल्यो। गिरिजाप्रसाद कोइराला आफै प्रधानमन्त्री थिए, उनी पार्टी सभापति पनि थिए। तर पार्टीभित्र र बाहिर अनि सरकारमै समेत शैलजाको खुब आलोचना भयो। प्रतिपक्षले संसदमा एउटा अर्को मसला पायो।
खासमा भ्रष्टाचार रोक्नका लागि उनले त्यसो भनेकी थिइन्। अझ अर्को हृदयदेखि नै शैलजा चाहन्थिन् कि कोइरालाको विरासतले नेतृत्व गरेको सरकारमाथि भ्रष्टाचारको दाग नलागोस्। एउटा अग्लो, सग्लो अनि सङ्लो राजनीतिको इतिहास बनाएको पार्टीमाथि उनले त्यस्तो धब्बा कदापि लाग्न दिँदैनथिन्। तर आफ्नैहरूको ब्यूहमा शैलजा परिन्। तथापि उनले त्यो अभिव्यक्ति फिर्ता लिइनन्।
‘भ्रष्टाचारी’हरूसँग झुकिनन्, बरु उनले मन्त्री पदबाटै राजीनामा दिइन्। आफैले सम्हालेको मन्त्रालयमा फैलिएको भ्रष्टाचारको जालो हटाउन खोज्दा एउटा इमान्दार मन्त्रीले राजीनामा दिनुपर्यो। नेपालको इतिहासमा यस्ता बिरलै घटना छन्।
राजनीतिक जीवनको यो घटनाबाट अलकति विच्छिप्त भएकी शैलजालाई २०५५ सालमा फेरि अर्को मौका जुर्यो। यसपालि उनी जलस्रोतमन्त्री मात्रै होइन, सरकारको ‘उपप्रधानमन्त्री’ पनि भइन्। नेपालको राजनीतिक इतिहासमा एउटी महिला उपप्रधानसम्म बनेको यो पहिलो थियो। यसरी शैलजा नेपालको उपप्रधानमन्त्री हुने पहिलो महिला पनि हुन्।
यो एउटा त्यस्तो समय थियो, जतिबेला नेपालका आम महिलाहरूमा राजनीतिक चेतनाको कमी थियो। अझ विश्वका कतिपय त्यस्ता देशहरू थिए, जहाँ महिलालाई मतदातको अधिकार नै थिएन। अहिले पनि त्यस्ता देशहरू थुप्रै छन्, जहाँ भर्खरमात्रै महिलाको मताधिकार अर्थात् राजनीतिक अधिकारको बारेमा बहसहरू हुन थालेका छन्। र, महिला जाग्न थालेका छन्। यो कार्यकालमा नेपालको जलस्रोतको उपयोग र प्रयोगका बारेमा थुप्रै नयाँ प्रयासहरू थालिए। धेरै जलविद्युत आयोजनाको सुरुवात शैलजाकै मन्त्रित्वकालमा भएको थियो।
शैलजा दिदीले बाँचेको त्यो समय प्रजातन्त्र अनि निरंकुशतन्त्रबीचको लडाइँमा गुज्रिएको समय थियो। खोसिएको अधिकारका लागि जनतालाई जगाउने अनि अधिकारका लागि लड्ने समय थियो। साँच्चिकै भन्नुपर्दा प्रजातन्त्रको लडाइँ चर्किएको त्यो युग शैलजा जस्ता क्रान्तिकारी योद्धाहरूले बाँचेको युग थियो। जति बाँचिन् शैलजा दिदी देश र प्रजातन्त्रका लागि खातिर बाँचिन्, आफ्नो निजी जीवन छोडेर बाँचिन्। आम नागरिकको समृद्धिको सपना साँचेर बसिन्, आफ्ना सपनाहरू भुलेर बाँचिन्।
आफ्नैबाट चिथोरिएकी अनि निचोरिएकी शैलजाले राजनीतिक यात्रामा त्यस्ता धेरै मोडहरूमा आफूलाई धेरै सम्हालेर हिँडेकी छिन्। जीवनको उत्तरार्द्धमा राजनीतिबाट अलि टाढा भइन् शैलजा। तथापि उनको राजनीतिक योगदानलाई नेपाली राजनीतिले कहिल्यै भुल्न सक्दैन। भुल्न पनि मिल्दैन। अन्तिम अवस्थामा रोगब्याधीसँग पनि लडिरहेकी शैलजा दिदीको २०६६ जेठ २९ गते निधन भयो।
शैलजा दिदीको त्यो अग्लो राजनीतिक कदलाई हामीले कहिल्यै होँचिन नदिऔँ। हार्दिक श्रद्धासुमन...।