लेदो हटाएर ४ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग, बैरेनी बजार डुबानमा

मनीष दुवाडी

बैरेनी (धादिङ) : बुधबार रातिदेखि परेको पानीसँगै बालुवा मिश्रित लेदो बग्दा पृथ्वी राजमार्ग ४ घण्टा अवरुद्ध भएको छ। धादिङको गल्छी गाउँपालिका ६ बैरेनीबजारबाट गाउँ गाउँ जाने शाखा सडकहरू जताभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो थुप्रिन आइपुगेको हो।

गाउँ गाउँ जाने शाखा सडकहरूसँगै अवैधानिक बालुवा खानी पनि रहेको र अविरल वर्षातका कारण बालुवाखानीबाट बालुवाहरु बगाएर ल्याउदा विहान ४ बजेदेखि नै राजमार्गमा थुप्रिन पुगेको हो।

बालुवाको लेदोमा दर्जन भन्दा बडी सवारी साधन ५ घण्टासम्म फसेका थिए। सशस्त्र प्रहरी, नेपाल प्रहरी र  स्थानीयबासीले डोजरको सहायतामा ४ घण्टापछि अवरुद्ध राजमार्ग विहान ८ बजे खुलाएका थिए। बिहान ४ बजेदेखि नै राजमार्ग अवरुद्ध हुदाँ राजधानी जाँदै गरेका र राजधानी हुँदै पूर्व, पश्चिम हिडेका सवारी साधनहरु बीचमा नै रोकिएका थिए।

प्रकाशित मिति: : 2019-06-27 12:52:37

प्रतिकृया दिनुहोस्