पशुपतिको सुन कहाँ गयो ?

पशुपतिनाथको जग्गा हराएको शृंखलाबद्ध समाचार नटुंगिँदै सुन गायब भएको खबर आएको छ। एकातिर पाशुपत क्षेत्रका जात्रापर्व र पूजा आर्थिक अभावमा बन्द हुनु अर्कोतिर भएको जायजेथा हराउँदै र मासिँदै जानुले जनमानसमा गलत सन्देश प्रवाह भइरहेको छ। 

पशुपतिनाथ मन्दिर सञ्चालन सुरु भएको सयौं वर्षपछि ०४३ सालमा स्थापित पशुपति क्षेत्र विकास कोषले ३२ वर्षसम्म पशुपतिनाथको नाममा के-कति जग्गाजमिन, सम्पत्ति र सुनचाँदी छ भनेर खोजेन। जुन विश्वकै करोडौं हिन्दू धर्मावलम्बीका लागि दुःखद विषय हो।

छानबिन समिति बनाए पनि राजनीतिक दबाब र समितिकै पदाधिकारीको स्वार्थका कारण कुनै प्रतिवेदन बाहिर आउन सकेन। ढिलै भए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्‍यो। वर्ष दिनमा यो समितिले ६२४ पृष्ठको प्रतिवेदन तयार पारेर सार्वजनिकसमेत गरेको छ। प्रभाव र दबाबका बाबजुद पनि जनसमक्ष ल्याइएको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो २७६.६४ ग्राम सुन रहेको तथ्य छ। यसैगरी, चाँदी ३१६ किलो ५८६ ग्राम रहेको पाइएको छ। प्रतिवेदन सार्वजनिक भएसँगै प्रश्न पनि उब्जेको छ, २०१९ सालयता पशुपतिनाथमा चढाइएको सुन यति मात्रै हो त ? त्यसअघिको अभिलेख किन राखिएन ? यसबीच किन आठ÷दस वर्षकै अभिलेखमा सुनको मात्रा उल्लेख छैन ?

प्रकाशित मिति: : 2019-06-10 09:00:26

प्रतिकृया दिनुहोस्