स्वावलम्वी पुस्ता–२

२१ वर्षको उमेरमा काम गरेर भाइहरु पढाइरहेकी मुना

ईश्वरी राई (इशु)

काठमाडाै‌ं

धेरै पढेर शिक्षिका बन्ने सपना बुनेकी मुना लिम्बुलाई कक्षा १० सम्म पढ्ने सौभाग्य मात्र प्राप्त भयो। उनलाई उच्च माध्यमिक तह पढ्ने इच्छा नभएको होइन। तर घरको आर्थिक अवस्था नाजुक भएकै कारण आफ्नो अध्ययनलाई बीचैमा परित्याग गर्नुपर्यो। 

घरको अवस्था हेर्दा पढ्छु भनेर जिद्दी गर्नेस्थति पनि थिएन। पिता शुक्रराज बहादुर लिम्बु र माता कृष्णमाया लिम्बुकी जेठी सन्तान मुनापछि तीन भाइ जन्मिए। उनी सानैदेखि मिहिनेती थिइन। स्कुल पढ्दै गर्दा घर खर्च चलाउन उनले अन्यत्र काम गर्नुपर्यो।

कक्षा ८ मा अध्ययन रहँदा उनी एउटा पार्टी प्यालेसमा वेइटरको काम गर्न थालिसकेकी थिइन। जसबापत दैनिक २ सय ५० रूपैयाँ प्राप्त हुन्थ्यो। उनले कमाएको पैसाले घरमा नुनभुटनको जोहो मात्र हुन्थ्यो। 

आफूसँगै पढ्ने दौतरी स्कुलबाट फर्किएपछि खेल्न हिँड्थे। तर, मुना काम गर्न पार्टी प्यालेस धाउँथिन्। कहिले काहिँ काममा छिट्टै निस्किनुपर्दा बीचैमा कक्षा हाप्नुपर्ने बाध्यता पनि थियो उनको। कामको दबाबकै कारण उनले पढाईमा त्यति ध्यान दिन सकिनन्। जसको असर कक्षा १० को रिजल्टमा देखियो। उनी सामाजिक विषयमा फेल भइन्।

 एक त पढाईका लागि पैसा नहुनु र अर्कोतर्फ फेल हुनु उनको जीवनको दु:खद घटना थियो। तर दु:खलाई सधै सम्झिएर जीवन काट्न पनि सकिन्न नि! दिन बित्त्दै गर्दा २०७४ सालमा लिम्बु परिवारमा ठूलो बज्रपात पर्यो। सबै परिवारलाई जोड्दै आएकी आमा कृष्णमायाको अल्पआयू मै निधन भयो। 

यो घटनापछि मुनाको जीवनमा जिम्मेवारी थपियो। पहिले उनी भाइहरुको दिदी मात्र थिइन, अब उनले आमाको जिम्मेवारी पनि बोक्नुपर्ने भयो। बुबा काममा गैहाल्थे। दिनभरी भाइहरूको हेरचाह उनैले गर्नुपर्थो।  तर आमा जस्तै दिदी कहाँ हुनसक्छन्! भाइहरूलाई सम्हाल्दासम्हाल्दै पनि माइला भाइ विवश १३ वर्षकै उमेरमा पढाई त्यागेर ग्रिलतिर काम गर्न थाले। 

जेठा भाइ विश्वास र कान्छा भाइ विसमत कलेज र स्कुलमा पढ्दैछन्। जेठा भाइ उनी पढ्कै स्कुलमा प्लस टु गर्दृछन्। कान्छो भाइ भने तारा सदन सेकेण्डरी स्कुलमा कक्षा १ मा अध्ययनरत छन्। एउटा भाइले त पढाई छोड्यो तर दुई भाइले खुब पढाई गरोस् भन्ने उनको कामना छ।

‘के गर्ने सोचे जस्तो नहुने रहेछ। आफूले पढ्न नपाए पनि तीनवटै भाइले खुब पढेको हेर्न मन थियो। तर अफसोच त्यो हुन सकेन। माइला भाइ पढाई छोडेर ग्रिलमा काम गर्न थाल्यो। अब दुई भाइले पढोस् भन्ने चाहना छ’, भर्खर २१ वर्षमा प्रवेश गरेकी मुनाले बिएल नेपाली सेवासँग भनिन्। 

उनी भाइहरुको शिक्षाका लागि आफूले जे गर्न पनि तयार भएको बताउँछिन्। हाल उनी आरुबारीस्थित 'वाउ ब्रोदर्स' कम्पनीमा कार्यरत छिन्। जहाँ मार्केटिङको काम अर्थात पसलपसल पुगेर विभिन्न किसिमको बिस्कुट बेच्ने गर्छिन्।

उनले मासिक आम्दानी १० हजार रुपैयाँ छ। उनी थप कमाईंका लागि बिस्कुट मात्र होइन, चकलेट,चाउचाउ र चिजबल पनि बेच्ने गर्छिन्। 'मासिक तलबले मात्र कहाँ पुग्छ र? अतिरिक्त काम गर्नेपर्छ। अलिकति धेरै काम गरे भने मात्र घर चलाउन अलि सहज हुन्छ’,उनी आफ्नो बाध्यता बताउँछिन्। 

उनी जस्तै ५१ वर्ष पुगिसकेका पिता पनि त्यतिकै बस्दैनन्। उनी दिनहुँ काममा खट्ने गर्छन्। बिहानको ६ बजेदेखि साँझ ५ बजेसम्म ज्यामी काम गरेर दैनिक १ हजारदेखि १२ सयसम्म कमाउने गर्छन्। काठमाडौंको महंगीमा घर चलाउन र भाइहरूको पढाई खर्चका लागि पिताको मिहिनेतले मात्र पुग्दैन। त्यसैले उनी पनि काममा निस्किन्छिन्। 

उनलाई आफ्नो भविष्यको कुनै चिन्ता छैन। आफूले अधुरो छोडेको पढाईमा भाइहरु पारंगत हुँदै आएकोमा खुसी छिन्। उनको योजना छ, भाइहरुलाई खुट्टा टेकाएपछि मात्र बिहे गर्ने। नेपालमा जति मिहिनेत गर्दा पनि पैसा कमाउन नसकेकोमा उनलाई दु:ख लागेको छ। त्यसैले केही महिनायता बिदेश जाने सोच पनि बनाएकी छिन्।

यसले परिवारको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने उनको ठम्याई छ। ' नेपालमै बसेर जीवन धान्न मुश्किल भएको छ,’ उनी भन्छिन्, अब विदेश गएर पैसा कमाउने विचार गरेको छु। पैसा कमाएर भाइहरूलाई ठूलो मान्छे बनाउँछु।' 

प्रकाशित मिति: : 2020-12-15 12:36:00

प्रतिकृया दिनुहोस्