गाडी खरिद अनियमितता छानबिन समितिले भन्यो- आर्थिक अनियमतिता भएको छैन (भिडियोसहित)

तस्बिरः बिएल

संघीय संसदको विभिन्न समितिका सभापतिका लागि गाडी खरिद गर्दा भएको अनियमितता छानबिन गर्न गठित समितिले आर्थिक अनियमतिता नभएको निष्कर्ष सहितको प्रतिवेदन सभामुख कृष्ण वहादुर महरालाई बुझाएको छ।

राष्ट्रियसभाका सांसद रामनारायण बिडारी नेतृत्वको छानबिन समितिले मंगलबार सिंहदरबारमा सभामुख महरालाई खरिद प्रक्रियामा कुनै कमजोरी नरहेको र प्राविधिक हिसाबले केहि बाहेक अधिकांश गाडी ठीकै रहेको उल्लेख गरिएको प्रतिवेदन बुझाएको हो। छानबिन समितिले गाडी खरिदबारे थप निर्णय गर्ने अधिकार सभामुखलाई नै दिएको छ।

प्रतिवेदन बुझ्दै सभामुख महराले समितिको प्रतिवेदन अध्ययन गरेपछि कार्यान्वयन गरिने बताए। उनले छिटै उक्त प्रतिवेदन सार्वजनिक गरिने पनि बताए।

छानबिन समितिका सभापति बिडारीले गाडी खरिदमा कुनै अनियमता नदेखिएको बताए। उनले केहि गाडीमा मात्र प्राविधिक समस्या देखिएको र बिक्रेतालाई सात दिन भित्र मर्मत गर्न भनिएको बताए। तोकिएको समयमा पनि गाडी मर्मत नगरे कानूनबमोजिम कारवाही गर्न सुझाव दिइएको उनले बताए।

संसदीय समितिका सभापतिहरुका लागि संसद सचिवालयले खरिद गरेको ११ वटा स्कोरपियो गाडी प्रयोगमा आएको एक महिनामै बिग्रन थालेपछि सभामुख महराले पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए। समितिमा सांसदहरू कृष्णभक्त पोखरेल, कृष्णप्रसाद दाहाल, भरत कुमार शाह र तारादेवी भट्ट सदस्य रहेका छन्।

प्रकाशित मिति: : 2019-09-03 16:45:33

प्रतिकृया दिनुहोस्