स्वर्गीय शैलजा आचार्यलाई सम्झदा एउटा देदीप्यमान ब्यक्तित्व, अग्नितेज बलेको मुहार अनि स्वाभिमान आँखामा टल्केको अनुहार जीवन्त भएर मेरो मानस पटलमा आउछ।
समय त आफ्नै गति र प्रवाहमा ब्यतित हुने रहेछ। शैलजा दिदीले यो धरा छोडेको पनि १२ बर्ष बितिसकेछ। करीब साढे छ दशकको जीवन तथा आफू आबद्द पार्टी नेपाली कांग्रेसको छ दशकको जीवन मध्ये पाँच दशक अर्थात आधा शताब्द्धी प्रजातान्त्रिक आन्दोलन एवम् राष्ट्र सेवामा समर्पित भयो उहाँको जीवन। कैशोर्यको अवस्थादेखि नै संघर्ष, त्याग, जेल र निर्वासनले भरिपूर्ण जोखिमयुक्त उथल पुथल उहाँको जीवनयात्रा २०६६ सालमा दुःखद अन्तमा टुंगिन पुग्यो।
बीपीले ‘शैलजा अग्निगर्भा हो, कुनै पुरुषको आत्मिय प्रेमको बन्धनमा मात्र यसको असीम ऊर्जाले सार्थकता पाउने छ। अन्यथा त्यो ऊर्जाले उसैलाई जलाउने संभावना रहन्छ’ भन्नु भएको थियो। एउटा सम्भ्रान्त ,सम्पन्न परिवारकी सुशील, सुन्दर र शिक्षित युवतीको स्वभावीक अभिलाषा त सुखी पारिवारिक जीवन नै हुने गर्दछ। शैलजा दिदीको लागि सबै परिस्थिति यस प्रकारको जीवनको लागि अनुकुल थियो।
पिता डाक्टर पिनाकिप्रसाद आचार्य आभिजात्य वर्गबाट आएको एक सम्पन्न विद्वान चिकित्सक हुनुहुन्थ्यो भने आमा क्रान्तिकारी विरासत र चरीत्रकि प्रतिनिधि पात्र। शैलजा अग्निगर्भा त हुनुहुन्थ्यो नै अझ उहाँमा रहेको प्रबल संवेगले गर्दा शैलसुता पार्वतीको नध्य अवतार अविवाहिता अति चंचल, प्रलयंकारी वेगयुक्त कौशिकीको मानवीय अंशावतार रुप धारण गरेर अन्याय अत्याचारका विरुद्ध परिवर्तनको बाढी ल्याउने संकल्प लिएर दुष्कर र कठिन मार्गमा प्रवाहित हुन थाल्नुभयो। उँहाले आमा र मामाको विरासत अँगाल्न मन पराउनु भयो। नियतिको त्यही खेल थियो सायद।
आज शैलजालाई औपचारिकतावश कांग्रेसका पदाधिकारीहरुले र श्रद्धावश केहि सिमित मानिसहरूले सम्झना गर्ने गर्दछन्। पौष १, २०१७ सालमा राजा महेन्द्रले बलात् प्रजातान्त्रको हत्या गरेको विरोधमा फागुन ७, २०१७ मा विराङगना शैलजाले कालो झण्डा देखाएको विषय सर्वाधिक चर्चाको रहने गरेको छ।
यो वास्तवमै दिदीको राजनैतिक जीवनको शुरुवात भएकोले मात्र नभइ उनको ह्रदयमा ठोस रुपमा जमेर बसेको क्रान्तिचेतको संवेग र मानवीय संवेदनशीलताको अजस्र स्रोत द्रविभूत भएर सारा बाधाहरु भत्काई शैलजाको जीवनधारा परिवर्तन गर्ने निर्णायक बिन्दु पनि थियो त्यो परिघटना।
लगभग ३ वर्ष भन्दा वढी जेलमा बसेर छुटेर पछि शैलजा निर्वासनमा पनि जानुभयो। बिपिले प्रवासबाट संचालन गरेको सशस्त्र संघर्षमा ज्यानको बाजी राखेर उहाँ पंचायतविरुद्ध होमीनु भयो। मेलमिलापको नीति लिएर स्वदेश फर्कंदा समेत ज्यान दाउमा राख्न शैलजाले किंचित पनि संकोच मान्नु भएन।
बीपीले राजासँगको संघर्षको जून सीमारेखा कोर्नुभयो, त्यो भित्र रही मृत्युपर्यन्त क्रियाशील हुनुभयो। प्रजातन्त्रको लागि रास्ट्रियताको बलि दिन र विदेशीको आडमा प्रजातन्त्र देशमा ल्याउने शर्त शैलजालाई कहिल्यै मन्जूर भएन। मन्त्री हुँदा भ्रस्टाचारविरुद्ध आफ्नै नेताको विरोध गर्दै पदबाट राजीनामा गर्ने साहस शैलजाको अनुकरणीय कार्य थियो। कृषिको विकासको लागि २० वर्षे ‘एग्रिकल्चर पर्सपेकटिभ प्लान’ बनाउन उहाँले महत्वपूर्ण भूमिका खेल्नु भएको हो तर त्यस प्लान अनुसार काम भने हुन सकेन।
रास्ट्रहितविरुद्धको कुनै पनि निर्णय उहाँलाइ स्वीकार्य थिएन। यस सन्दर्भमा केही संस्मरण उल्लेख गर्न अनुचित न होला। बहुचर्चित महाकाली सन्धी हुँदा दिदी विराटनगरमा हुनुहुनथ्यो। म सन्धीका विषयमा उहाँको धारणा बुझ्न् उहाँको निवासमा गयें। उहाँ त्यो सन्धी प्रति सकारात्मक न भएको पाएर पंचेश्वर प्रोजेक्टका सम्बन्धमा मैले बुझेको तथ्यहरु दिदीलाई बताये। सन्धी हाम्रो देशको भन्दा बढी भारतको लागि लाभकारी रहेको मेरो अध्ययनले भन्थ्यो। यस बारे पूर्व प्रधानमन्त्री, राष्ट्रभक्त नेता श्रद्देय किर्तिनिधी बिष्टजीले मलाई बिस्तृतमा परियोजनाका धेरै पक्षहरुमा प्रकाश पारिदिनु भएकोले पनि त्यो आधारमा दिदीलाई त्यो सन्धी देशहितमा नभएको तथा त्यो सन्धी गर्न बिष्टजी लाई सन् १९७२ मा प्रधानमन्त्रीको हैसियतमा उहाँ इन्डिया जाँदा तत्कालीन भारतीय प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीले ठूलो दबाव दिएको र उहाँको असहमतिपूर्ण जवाव सुनेर गान्धी रिसाएको समेतको प्रसंग मलाई सुनाउनु भएको कुरा दिदीलाई भने।
त्यसबारे किर्तिबाबु र दीपक ज्ञावाली, रामेश्वरमान अमात्य आदि विशेषज्ञसँग सम्पर्क गर्न आग्रह गरें। उहाँले काठमाडौं गएर ती ब्यक्तित्वसँग सल्लाह गरेर आफू सन्तुष्ट भये पछि पार्टीको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेख्नु भयो। २०५५ सालमा गिरिजाबाबू प्रधानमन्त्री हुनुभयो, शैलजा दिदीलाई जलस्रोत बनाउनु भयो।
दिदीको यो कार्यकाल राष्ट्रियहितका दृष्टिले उल्लेख्य रहेकोले छोटकरीमा चर्चा गर्न उपयुक्त होला। ५ मेघा वाटसम्मको हाइड्रो पावर प्रोजेक्टको स्वत पीपीए गरिदिने र हिउँद र बर्षा यामको विधुत खरीद दर नेपाली मुद्रामा तय गर्ने। ‘टेक अर पे’ तथा ‘गिभ अर पे’ को नीति दिदीले लागू गर्नुभयो। यो नीति भोटेकोशी परियोजनामा डलरमा भुक्तानी गर्ने गलत नीति बिपरित प्राधिकरणलाई फाइदा हुने प्रबन्ध भएकोले पावर उत्पादनमा सकारात्मक प्रभाव पार्ने भनि बिज्ञहरुले प्रशंसा गरेका छन्।
पंचेश्वर परियोजनाको बिस्तृत परियोजना प्रतिबेदन तयार गर्ने म्याद समाप्त भएको अवस्थामा भारतीय सरकार पुनः म्याद थप गराउन दबाव सृजना गरिरहेको थियो। छ महिनाभित्र सम्पन्न गरिसक्नु पर्ने काम भारतले आलटल गरेर बसेको हुँदा शैलजा दिदीले एउटा दरो अडान लिनुभयो। परियोजनाको सबभन्दा त्रुटिपूर्ण बुँदा बिजुली उत्पादनका लागि ‘रिजर्भवायर’ मा जम्मा भएपछि ‘डिस्चार्ज’ गरिने पानी टनेलबाट गएर ‘टर्बाइन्स’ हुॅदै पुनः तल्लो तटमा बगेर भारत पुग्ने नेपालको हिस्साको अतिरिक्त पानीले भारतलाई सिंचाई, पिउने प्रयोजन, उद्योग आदिमा पुग्ने बिबिध लाभ ९ डाउन स्ट्रिम बेनिफिट० को मूल्य नेपालले पाउनुपर्ने उहाँको शर्त रह्यो। त्यो भारतले मन्जूर गरेन।
कर्णाली चिसापानी आयोजनाको सर्भेक्षण इजाजत आफनो शर्तमा दिनुपर्ने भनि अमेरिकी कम्पनी एनरोनले मन्त्रालयमा आवेदन दिएकोमा नेपालको हात तलपर्ने गरी लाइसेन्स दिन उहाँले इन्कार गर्नुभयो। कमिसन एजेन्टहरु कसैले पनि आफ्नो स्वार्थ पुरा गराउन दिदीबाट नसक्ने भएपछि विशेष गरि भारतको दबावमा दिदिलाई हटाउने उपक्रम शुरु भयो।
मालेका बामदेव गौतमहरुले सरकार छोडेपछि एमालेले भरतमोहनको नेतृत्वमा गिरिजा सरकारमा सामेल हुने निर्णय गर्यो। उसले उपप्रधानमन्त्री पद नराख्न दबाव दियो। दिदीलाई सरकारबाट हटाउन भारत, एमाले र सम्भवतः गिरिजाबाबुको पनि इच्छा भएकोले होला यस प्रकारको शर्त राखियो। २०५६ को चुनावमा यिनै तत्वहरु, पार्टी र परिवारको संयुक्त षड्यन्त्र स्वरूप उहाँको हार हुन गयो। पार्टीको नेतृत्व र प्रधानमन्त्री पदको स्वभावीक दाबेदारी शैलजा दिदीको हुने देखेर यो प्रपञ्च रचिएको प्रस्टै थियो।
बीपीले यो देशको समृद्धि एवं अश्मिताको रक्षा–सुत्रको रुपमा रास्ट्र, राष्ट्रियता, प्रजातान्त्र र समाजवादलाई स्थापित गर्न जीवनभर प्रयत्न गरिरहनु भयो। महेन्द्र राजाले यो मन्त्र बुझ्न् सकेनन्, वीरेन्द्रले केही हदसम्म बुझे तर दुर्भाग्यवश बीपीकै सहोदर भाई गिरिजाबाबूले स्वार्थवश यी सूत्रको परित्याग गरेर बिदेश सञ्चालित कथित् माओवादीसँग १२ बुँदे समझौता भारतीय प्रायोजनमा गर्नुभयो, नेपालको बिघठनको प्रक्रियालाई बल पुर्याएर जानुभयो। अहिले शेरबहादुर जी, रामचन्द्रजी लगायत सम्पूर्ण कांग्रेस नेतृत्व गिरिजाबाबू कै पदचिन्हमा बेगले दौडिरहेको देख्दा उदेक लाग्छ। दुःख लाग्छ।
शैलजा दिदी संबिधानसभा, संघीयता, धर्मनिरपेक्षता तथा गणतन्त्रको बिल्कुल बर्खिलाफ हुनुहुन्थ्यो। पार्टीको स्थापनाकालीन सिद्दान्त जून बीपीले चार वटा सूत्रमा परिभाषित गर्नुभएको थियो त्यसका लागि शैलजाले मृत्युपर्यन्त प्रतिबद्धता प्रकट गरिरहनु भयो। तर, आफ्ना नेताका विरुद्ध जीवनको अन्तिम तर निर्णायक घडीमा धर्मयुद्ध प्रारम्भ गर्न असफल हुनुभयो।
बीपीले शैलजाले नेपाली कांग्रेसको इतिहास लेखनेछ भन्नु भएको तर बिडम्बना, शैलजा दिदीले कांग्रेसको इतिहास लेखन गर्नु भएन। कहिले काहीं रिस उठेको बेला शैलजा दिदीले धेरै गम्भीर रहश्यको कुरा पनि बताउनु हुन्थ्यो। एक पटक त्यस्तै क्रोधित अवस्थामा ‘ल सुन्नुहोस१ भनेर भारतीय प्रधानमन्त्री चंद्रशेखरले नेपालको नेतृत्वको सम्बन्धमा चर्चा चलेको बखत ‘सुनो शैलजा१ तुम्हारे देशके अधिकांश पार्टी, तुम्हारा खुदका कांग्रेस के बहुत सारे नेता हमारे ‘रअ’ के पैरोल में हैं, तुम्हारा देशका क्या होगा, उपरवाला ही जाने’ भनेर ती नेताहरु को नाम नै चंद्रशेखरजीले उहाँलाई बताउनु भएको तथ्य दिदीले मलाई भन्नू भाथ्यो। तर, ती पैरोल वाला महानुभावहरुको नाम मैले सोध्द्दा ‘कुरा त कुनै हालतमा उद्घघाटन गर्दिन। रिस उठेमा चाहिं सार्वजनिक पनि गरिदिन सक्छु’ भनी जवाफ दिनुभयो।
इतिहास लेखेको भए दिदीले यी कुराहरुका बारेमा अवश्य लेख्नुहुन्थ्यो होला। देशका गद्दारहरुलाई चिन्ने मौका जनताले पाउँथे। उहाँको ईमान्दारी, बुद्धि, क्षमता, रास्ट्रप्रेम, आदर्श र निष्ठाको राजनीतिका कारण जुन स्थान र मौका प्राप्त गर्नुपर्ने हो, सो शैलजा आचार्यले पाउनसक्नु भएन। अंग्रेजी साहित्यमा भनिएको जस्तो ‘पोएटिक जस्टिस’ उहाँको हकमा नियतिले गरेन। बस यत्ति कुरा सधैं मलाई खड्की रहन्छ।
अन्तमा श्रद्देय शैलजा आचार्यको पवित्र आत्मप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु। ॐ शान्ति।
राजा वीरेन्द्रको हत्या र गम्भीर मोडमा उभिएको मुलुकको अस्तित्व