 
                                            
                                        
                                     
                                दिपक लोहनी
 
                                अहिले देश कोरोना महामारीले आक्रान्त छ।
अस्पतालमा बेड नपाएर र अक्सिजनको अभावमा मानिस मरिरहेका छन्। यो महामारीसँग लड्ने क्रममा विश्वको अनुभवले देखाएको महत्वपूर्ण तथ्य के हो भने– कोरोनाको अचुक औषधि आजका मितिसम्म आविस्कार भइसकेको छैन।
खोपले धेरै हदसम्म जनताको जीवन यस रोगबाट बचाउन सकिने देखिएको छ। तर दुर्भाग्यवश यस्तो अवस्थामा वर्तमान सत्ताधारीहरुले कमिसनको लोभमा परेर खोपको व्यवस्था गर्ने काममा ढिलाई गरेर जनताको जीवनसँग खेलवाड गरिरहेका छन्। यो जघन्य अपराध बोध प्रधानमन्त्री केपी ओली एण्ड कम्पनीको बोली, व्यवहार तथा अनुहारमा झल्केको देखिदैन।
प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेस त नुर गिरेको, मुश्किलले बोली फुटने, मनोबल कमजोर भएको हैसियतमा सत्तामा जाने चोर बाटो पाइन्छ कि भन्ने आशामा छ। प्रचण्डको गन्तव्य त हेग हुनुपर्ने हो। तर विडम्बना, भारतको डिजाइनमा गिरिजाबाबुको ढाडमा चढाएर सिटौलाजीहरुले ‘नेपालको भेगमा डामेको साढे जस्तो’ सबै तिर रजगज गर्न खुला छाडिदिए। र नेपाली जनता र राष्ट्रका विरुद्ध विदेशी प्रायोजनमा जघन्य अपराध गरेको भएतापनि जनताको सदासयताका कारण प्रचण्ड राष्ट्रिय शक्ति बन्ने पर्याप्त अवसर पाएर पनि ओलीजी को शब्दमा भन्दा' राष्ट्रिय समस्या' बन्न पुगेका छन्।
तथाकथित मधेशवादी भनाउँदाहरु तराइबासीको हितभन्दा पनि छिमेकीको एजेण्डाका संबाहक भएर सत्ता र बिपक्ष दुबैतिर मोल मोलाई, दलालीमा अहिले लागेको देखिन्छ। राष्ट्रहित कुनै पार्टीको प्राथमिकता भित्र परेको देखिदैन। यस्तो संकटको घडीमा प्रधानमन्त्री ओलीले पार्टी भित्रको आन्तरिक समस्या समाधान गर्न नसकेर संविधानका धाराहरु एवम राष्ट्रपतिको संस्थाको दुरूपयोग गर्दै मुलुकलाई जटिल मोडमा पुर्याइदिएका छन्।
संसदमा विश्वासको मत गुमाएर पनि अनेक तिकडमबाजी गर्दै या त अन्य पार्टीहरुले उनलाई समर्थन गरेर सत्ता एकलौटी रुपमा चलाउन दिनुपर्ने अन्यथा कोरोनाको प्रकोपबीच ज्यान जोखिममा हालेर मध्यावधि निर्वाचनमा जानु पर्ने वा अपवित्र गठबन्धन गरेर भए पनि उनको बहिर्गमन गराउन सक्नु पर्ने अप्रिय परिस्थिति निर्माण गरिदिएका छन्। कांग्रेसका रामचन्द्रजी लगायतका केही नेताहरु ओलीको विकल्पमा महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर कांग्रेसलाई अझ ठूलो भड्खालोमा हाल्ने प्रयासमा छन्।
भुकम्पले हाहाकार गरिरहेका नेपाली जनतामाथि त्यतिबेला 'मित्र राष्ट्र' भारतले नाकाबन्दी लगाउँदा ‘प्रोक्सि वार’ का प्यादाहरुले बोर्डरमा खेलेको रक्तरञ्जीत खेल, जसका प्रमुख पात्र यिनै महन्थ, राजेन्द्रहरु थिए, बिर्सेका हुन रामचन्द्रजीहरुले?
उनीहरुले बिर्से पनि नेपाली जनताको बिस्मृतिमा गएको छैन त्यो कुकृत्य। कांग्रेसले त्यो गल्ती न गरोस् यदि प्रजा परिषद् बन्नु छैन भने। जसपा र ओली मिलुन, सत्ता चलाउन। ओलीको राष्ट्रवादको कोपिन पनि खुसकिने, जसपाको सत्ता लोलुपता पनि देखिने कुरा कांग्रेसको लागि आगामी निर्वाचनमा फलदायी नै होला। राष्ट्रपतिको पक्षपातपूर्ण व्यवहारले अब यो संस्थाको प्रयोग नेपालमा असफल सिद्ध भयो।
यस सत्यलाई स्वीकार गर्न जरूरी छ। कांग्रेसले देश बचाउने र आफू पनि बलियो हैसियतमा पुनर्स्थापित हुने हो भने आफैले नेतृत्व गरेर बनाएको तर विदेशी इशारामा बिना कारण फालेको २०४७ सालको संबिधान कै आधार स्तम्भहरु पुन: अपनाएर समसामयिक परिवर्तनका साथ अगाडी बढ़ने ऐजेण्डासहित जनताबीच जानुको विकल्प छैन।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया