बिएल संवाददाता
नेपाल प्रहरीले प्रहरी हिरासतमा रहेका पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि निगरानी बढाएको छ।
प्रहरी स्रोतका अनुसार घुसवापत घर लिएको र नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तले बज्राचार्यलाई घुसवापतको पैसा दिएको बयान दिएको रिपोर्टका आधारमा गृहमन्त्री सुधन गुरुङले चासो देखाएपछि प्रहरीले बज्राचार्यमाथि निगरानी थालेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा नेपाल ट्रष्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणमा तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव बज्राचार्य जोडिएका थिए।
सोही समयमा बज्राचार्यकी श्रीमती रश्मी शाक्यको नाममा बालकोटमा तारा एयर प्रालीको नाममा रहेको हाउजिङको घरजग्गा नामसारी भएको तथ्य खुलेको छ।
बजार मूल्य चार करोडमाथि पर्ने उक्त घरजग्गा मालपोत कार्यालयमा भने ९६ लाख रुपैयाँ मात्र देखाइएर पास गरेको खुलेपछि बाँकी रकम घुसवापत यतीले छुट दिएको सीआईबीको दाबी छ। रश्मीसँग सीआईबीले घर खरिद गर्दाको भुक्तानी र रकमको स्रोतको प्रमाण पेस गर्न समय दिँदा उनले प्रमाण पेस गर्न सकेकी छैनन्।
ओली स्वयंले पनि आफ्नो स्वकीय बज्राचार्यले यती समूहको कम्पनी तारा एयरको नाममा रहेको घर लिएको विषय स्वीकार गरेका थिए। केही महिनाअघि हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नका लागि निमेश बन्जाडेसँगको अन्तर्वातामा ओलीले यतिबाट घर लिए पनि भ्रष्टाचारको घर नभएको दाबी गरेका थिए।
ओलीले भनेका थिए, ‘मेरो निकटको मान्छेलाई लाञ्छना लगाउँदा कमसेकम मलाई पनि बाछिटा पार्न सकिन्छ कि भनेर हो। अर्को कुरा म राम्ररी जान्दछु राजेशको बारेमा। बच्चादेखि मसँगै हुर्केको मान्छे हो। उनले कुनै अनियमितता, भ्रष्टाचार, घुसखोरी काण्ड गर्दैनन्।’
यतिसँग घर लिएको स्वीकार गर्दै ओलीले भनेका थिए, ‘यतिसँग घर लिन पाइँदैन? बैंकमा भुक्तानी देखिएन, २/४/५/१० लाख गरेर दिएको कुरो सबै बैंकिङ कारोबार मात्रै हुँदैनन्। त्यतिबेर पनि थिएन। यो सबै प्रायोजित हो। यो सरकार (तत्कालिन सुशीला कार्कीको अन्तरिम सरकार)ले उसले रिस उठेको मान्छेमाथि के मात्र गर्दैन? अनुसन्धान गरे भइहाल्यो नि।’
सो घुस प्रकरण ओलीका अति नै प्रिय पात्र बज्राचार्यले उनको आदेश बिना गर्नै नसक्ने प्रहरीको बुझाइ छ। सोही विषय रिपोर्टिङ भएपछि गृहमन्त्रीले चासो देखाएका हुन्।
भुटानी शरणार्थी प्रकरणमा यस्तो कनेक्सन
त्यस्तै बज्राचार्य नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि मुछिएका पात्र हुन्। शरणार्थी प्रकरणमा पक्राउ परेका गिराेहका नाइके केशवप्रसाद दुलालले तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका थिए।
‘तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत् मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको,’ उनले प्रहरीलाई बयानमा भनेका छन्।
दुलालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसँगको बयानमा बज्राचार्यलाई २०७६ असारमा बालुवाटारमै गएर १ करोड रुपैयाँ बुझाएको बयान दिएका हुन्।
‘म र मेराे आफन्तलाई रामबहादुर थापा बादल, प्रेमकुमार राई, इन्द्रजीत राई, राजेश बज्राचार्य, प्रतीक थापा, सन्देश शर्मा, डा. अजय क्रान्ति शाक्य, राजेश्वर बज्राचार्य समेतले भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी रकम लिइ म आफैं ठगिएकाे पीडित व्यक्ति हुँ। मैले काेही कसैलाई भुटानी शरणार्थी बनाई तेस्राे मुलुक पठाइदिन्छु भनी काेही कसैसँग कुनै रकम लिएकाे छैन,’ दुलालले बयानमा भनेका छन्।
त्यसैगरी उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा निर्वाचन हुनुअगावै ३ मन्त्री क्वाटर पुल्चोकमा ३ कराेड नगद बुझेकाे र बादलका छाेरा प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाएर २०७६ साल असारमा १ करोड बुझेकाे बयान दिएका छन्।
गृहमन्त्री गुरुङले यी दुवै प्रकरणमा गम्भीर चासो देखाएका छन्। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने घोषणा गरेको बालेन सरकारका शक्तिशाली गृहमन्त्री गुरुङ कार्यभार सम्हालेको केही घण्टाबाटै एक्सनमा उत्रिइसकेका छन्। जिम्मेवारी सम्हालेको दुई दिनमै पुराना पार्टीका शीर्ष नेताहरूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थाल्न निर्देशन दिइसकेका छन्।
आइतबार मात्रै सम्पत्ति शुद्धीकरणमा कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परिसकेका छन्। उनीमाथि अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु भइसकेको छ।
त्यस्तै गुरुङकै निर्देशनमा जेनजी आन्दोलनमा गैरकानुनी दमन गरेको आरोपमा जाँचबुझ आयोगको सिफारिस बमोजिम तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनीहरूमाथि पनि ५ दिनको म्याद लिएर अनुसन्धान सुरु भइसकेको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया