वैशाख २७ गते आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत मागिरहँदा अर्का नेता माधव नेपाल अनुपस्थित भए।
त्यतिबेला उनी मात्र होइन, आफूसँग भएका २८ एमाले सांसदलाई पनि उनले प्रधानमन्त्री ओलीको उद्देश्यपूर्ति हुन नदिन अनुपस्थित गराए।
माधव नेपाललाई लागेको थियो– आफूहरू संसदमा अनुपस्थित हुँदा ओलीको सरकार तत्कालै ढल्ने छ र नयाँ सरकार निर्माणका लागि मार्ग प्रसस्त हुनेछ। उनी ओलीको सरकारलाई केही समयका लागि अल्पमतमा पार्न त सफल भए, तर नयाँ सरकार बनाउने रणनीति भने फेल खायो।
माधव नेपालको वैशाख २७ को रणनीति थियो– प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल भएपछि आफूसँग प्रत्यक्ष चुनावमार्फत जितेका २० सांसदलाई राजीनामा गराउने, जसका कारण अर्को बन्ने सरकारलाई १ सय २५ मत मात्र प्राप्त गरे पुग्ने। यसअघि सरकार बनाउन १ सय ३८ मत आवश्यक पर्ने थियो।
यसका लागि माधव नेपालले भरपुर प्रयत्न नगरेका होइनन्। बैशाख २८ गते प्रधानमन्त्रीका सम्भावित उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठमा भेट्न जाँदा माधव नेपालले यही प्रस्तावअघि सारेका थिए।
उनले १ सय २५ को आंकडा जनता समाजवादी पार्टी (जसपा–उपेन्द्र यादव पक्ष) को सहयोगमा सहजै पुरा हुने आश्वासन पनि देउवालाई दिएका थिए। माधव नेपालको प्रस्ताव सुनेपछि हौसिएका देउवासँग नेपाली कांग्रेस र माओवादीको समर्थनमा उनलाई चुनाव लडाउने तथा रुख चिन्ह दिलाएर पुनः प्रतिनिधि सभामा ल्याउने ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको थियो।
शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार निर्माणको समीकरण आफूले तयार पारिसकेको अवस्थामा कसरी माधव नेपाल ३६० डिग्री ‘युटर्न’ भएर नेकपा एमालेमै फर्किए? राजनीतिक पण्डितका लागि वास्तवमै यो रोचक प्रश्न हो।
ओलीको सरकार ढाल्ने रणनीति अनुरुप अगाडी बढिसकेका माधव नेपालसँग त्यस्तो के घटना भयो, जसका कारण ४८ घण्टामै उनको नौ–नाडी गल्यो?
नेपालमा राजनीतिक अस्थिरता बढेसँगै भारतको गुप्तचर संस्था ‘रअ’ का प्रतिनिधि नेपाल आउनु र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधव नेपालले थालेको अभियान बीचैमा तुहिनु संयोग मात्र होइन। सरकार फेर्ने अभियानमा बीचमा भएका खेलहरू सबैसामु छर्लङ छ। वास्तवमा भारत सुरुदेखि नै केपी ओलीको विकल्प अर्को सरकार चाहदैन्थ्यो। उसको सबैभन्दा ठूलो चिन्ता केपी सरकार चीनतर्फ अलिबढी ढल्कियो भन्ने मात्र हो।
फेरि बीचमा लिपुलेक, कालापानी तथा लिम्पियाधुराको नक्सा सर्वसहमतिले पास गराएपछि त झन् भारत केपीलाई सत्ताबाट बाहिर राख्ने कुराको विरोधमा थियो। किनभने भारतलाई यो थाहा थियो–‘सत्तामा हुँदाको केपीभन्दा, सत्ता बाहिर बसेका केपी’ भारतका लागि ठूलो टाउको दुःखाईको विषय बन्नेछन्। उनको ‘इमेज’ नेपालको अहिलेसम्मकै सबैभन्दा अग्लो राष्ट्रवादीको भएर निस्किने छ।
आफूलाई चतुर राजनीतिक खेलाडी मान्ने प्रचण्ड वास्तवमा चुकेका नै यही हुन्। भारतको रणनीति–केपीलाई सत्तामै राख्ने तर बदनाम गराउने भन्ने थियो। तर, प्रचण्डले यसलाई भारत चिढिएको बेला आफू प्रधानमन्त्री हुन सकिन्छ कि भन्ने अर्थमा बुझे।
माधव नेपाललाई आफ्नो पक्षमा पारेपछि विघटित प्रतिनिधि सभामा पुस ५ गते प्रधानमन्त्री केपी ओलीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्नुनै प्रचण्डको महाभूल थियो।
यसपछि उनी भारतको समर्थन जुटाउन श्रीमतीको उपचार गराउने बहानामा मुम्बई गएका थिए। तर, भारतीय पक्षले खासै चासो नदेखाएपछि उनी श्रीमतीलाई उतै छोडेर नेपाल फर्किएका थिए। बीचमा उनले आफ्नो सरकार निर्माण भएको खण्डमा ‘छिमेकीका लागि कम्फर्टबेल’ हुने प्रतिक्रिया पनि दिएका थिए। तर, यी सबै अहिले भुत्तै सावित भएको छ।
वास्तवमा दुई दिनयता नयाँ सरकार निर्माणका लागि प्रचण्ड र माधव नेपाल मिलेर हदैसम्मको ‘प्लान’ नबनाएका होइनन्। तर, जति बैठक गर्दा पनि घुमिफिर महन्थ ठाकुरको नाम अगाडी आएपछि माधव नेपाललाई ‘ब्याक’ हुन कर लाग्यो।
अझ, नेपाली कांग्रेसमा देउवाको विकल्पको रूपमा महामन्त्री शशांक कोइरालाको नाम अगाडी आएपछि त नयाँ प्रधानमन्त्री बनाउने खेल नै तुहियो।