प्रचण्डको एक वर्षदेखिको ओली हटाउने प्रयास विफल, देखिए निराश 

Breaknlinks
Breaknlinks

कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न उनको निवास, बुढानिलकण्ठ पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराश भएर फर्किएका छन्। 

एमालेको माधव नेपाल समूहलाई फुटाएर भए पनि ओलीलाई हटाइछाड्ने एकसूत्रीय 'मिशन' बनाएका ओली अन्तत: ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केहीसिप नलागेको भन्दै निराश भएका हुन्। 

प्रतिनिधिसभा पुनर्स्थापना भएकै दिन ०७७ फागुन ११ गते भरतपुर रहेका प्रचण्ड र माधव नेपालले एकआपसमा लड्डु खुवाउँदै ओलीलाई प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिन माग गरेका थिए। त्यसपछि उनले ओली हटाएर आफैँलाई प्रधानमन्त्री बनाउने कोशिश गरेका थिए। 

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि प्रचण्डले आफू प्रधानमन्त्री हुने महत्वाकांक्षा त्यागेका थिए। अनि जसरी पनि ओलीलाई हटाइछाड्ने एकसूत्रीय अभियानमा थिए। 

त्यसका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने दौडमा लागेका थिए तर असंभव देखेका देउवाले भनी उत्तिको चासो दिएका थिएनन्। प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउने अभियानको नेतृत्व लिएका थिए।

माधव नेपाल समूहका २० सांसद्लाई राजीनामा गराएर भए पनि देउवालाई प्रधानमन्त्री बनाइछाड्ने उनको प्रयास पनि सफल भएन। ओलीले महन्थ ठाकुरलाई विश्वासमा लिन सकेका कारण उनी पूर्णत: विफल भएका हुन्। देउवनिवासबाट फर्केपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक राखेका प्रचण्डले त्यहाँ भनेका थिए, 'ओलीलाई हटाउन सकिएन। यो प्रयास सफल भएन। देउवाले पनि प्रयास सफल नहुने भन्नुभयो। अब ९ बजेपछि ओली प्रधानमन्त्री हुन्छन्।'

पहिलो कार्यकालमा ओलीदेखि माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईदेखि शेरबहादुर देउवालाई समेत आफूले प्रधानमन्त्री बनाएको बताउँदै अएका थिए यसपटक उनी असफल भएका छन्। 

संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा दलको समर्थनमा सरकार गठन गर्न तम्सिएका देउवालाई उकासेका प्रचण्ड  जसपा अध्यक्ष महन्थ ठाकुरको अडानका कारण निराश भएर फर्किएका हुन्।

जसपाको महन्थ ठाकुर पक्षलाई अनेक प्रयत्न गर्दा पनि विश्वासमा लिन नसकेपछि कांग्रेस, माओवादी र जसापको उपेन्द्र यादव पक्षमा जम्मा १२४ जना मात्रै सांसद हुने भएका छन्। बहुमतका लागि १३८ जना चाहिने भए पनि ठाकुरले आफूनिकट १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेपछि ७६ (२) अनुसारको सरकार बनाएर ओलीलाई ढाल्ने प्रचण्डको योजना विफल भएको छ। १५ वर्षपछि प्रचण्ड नेपाली राजनीतिको केन्द्रबाट किनारामा पुगेको देखिएको छ।

एमालेको माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर तत्काल कायम रहेको संख्या घटाउन आशमा रहेपछि उक्त समूहको राजीनामा समेत टरेको छ। नेपाल पक्षको राजीनामाबाट रोक्न पनि एमाले अध्यक्ष ओली सफल भएका छन्। गठबन्धन सरकार दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समय बिहीबार राति ९ बजे सकिँदैछ। समय सकिएलगत्तै ओली पुन: प्रधानमन्त्री नियुक्त हुने छन्।

प्रकाशित मिति: : 2021-05-13 19:48:00

प्रतिकृया दिनुहोस्