साथीहरूकाे लहलहैमा काठमाडौं छिरेका विवेकका कलिला सपनाहरू यही सहरका निर्दयी सडकहरूमै बिते। यही सडककाे ‘नशा’ले उनलाई बेराेजगार बनायाे। लुटेरा बनायाे अनि माग्ने बनायाे। र, यही सडकमा एउटा यस्ताे माेड आयाे जहाँबाट उनी हिँड्ने बाटाे फेरियाे। गाह्राे त थियाे। तर सुधारकाे संकल्पले उनलाई अहिले यही बाटाे प्याराे लाग्न थालेकाे छ, यही सडकले लुटेका बालापनका सपनाहरू उनले यही बाटाेमा फेरि अंकुराउन सुरु गरेका छन्।
काठमाडौंका गगनचुम्बी घरहरू, सडकमा कुनै पल नथामिने बग्रेल्ती मोटरगाडीहरू अनि झिलीमिली बत्तीका रङ्गीविरङ्गी कथाहरूले विवेककाे कलिलाे मस्तिष्कलाई निकै हल्लाइदिन्थ्याे।
काठमाडौं आउने-जाने उनका दौंतरीले सुनाउने यी कथाहरू सुनिरहँदा हेटौंडाका विवेक तामाङकाे मन पनि फुरुङ्ग उडेर त्याे डाँडापारिकाे काठमाडौंं पुगिहाल्थ्याे।
घरका एक्लो छोरा थिए विवेक। उनकी एउटी बहिनी थिइन्। बुबा गाडी चलाउँथे र आमा गिट्टी बोक्ने काम गर्थिन्। अभिभावकले दुःख गरेर भए पनि सुखमै हुर्काइरहेका थिए छोराछोरीलाई।
कुनै कुराको कमी थिएन। सबथोकले भरिपूर्ण थियो। तर सात वर्षका विवेकको मनमा काठमाडौं जाने हुटहुटी थियाे। तर पुग्ने कसरी?
न उनलाई बाआमाले घुमाउन लैजान्थे न त आफैं जान सक्थे। तरपनि विवेकलाई काठमाडाैं पुग्नै थियाे।
एकदिन उनले आफूभन्दा उमेरले ठुला १२ वर्षका साथीहरूसँग काठमाडौं जाने बताए। उनकाे रहर सुनेर साथीहरूले पनि विवेकलाई काठमाडौं लैजान तयार भए।
त्यसपछि आफूले लगाएकाे एक जाेर कपडा मात्रै लिएर उनी दुई साथीहरूकाे साथमा काठमाडाैं हुर्रिए।
...अनि सुरु भयो सडक यात्रा
घरबाट भाग्दा उनकाे मनमा डर थियाे, भेट्याे भने बाआमाले मार्छन् कि! तर उनकाे त्याे डर हावामा बिल्लायाे। गाडीले फ्याँकिरहेकाे धुँवा जस्तै।
पहिलाे पटक गाडीमा गुड्दा विवेकलाई रमाइलाे लाग्याे। काठमाडाैं घुम्ने देखेकाे आफ्नाे सपना पूरा भइरहेकाे जस्ताे लाग्याे उनलाई।
‘गाउँबाट भाग्दा मात्र ७ वर्षको थिएँ तर त्यो दिन दिमागमा ताजै छ’, हेटौंडाबाट भागेर काठमाडौं आउँदा उत्साहित थिए विवेक।
२०६५ सालमा पहिलापटक काठमाडाैंमा पाइला टेकेका उनी खुसी थिए। बिल्डिङका घर अनि मानिसहरूकाे चहलपहल। त्यहि दृश्यले विवेककाे मन फुरूङ्ग थियाे।
साथीहरूको संगतमा लागेर काठमाडौं आएर उनी ठमेल पुगे। जहाँ साथीहरूले अड्डा बनाएका थिए। ठमेलका साँघुरो गल्लीका सडकहरू नै उनीहरूकाे घर थियाे।
‘चाउचाउ’ र ‘बिस्कुट’का कार्टुनहरू नै उनीहरूका लागि ओढ्ने र ओछ्याउने थियो। त्यही पनि खुसी थिए सडकलाई घर बनाएका बालबालिकाहरू।
न कसैकाे चिन्ता हुन्थ्याे न त डर नै। विवेकलाई बिन्दास लाग्याे ‘सडक जीवन’। त्यसपछि उनले त्यही जीवन जिउने सकंल्प गरे।
घरमा बाआमाको न्यानो काख र ओछ्यान जस्तो मुलायम त कहाँ हुन्थ्यो र काटुनका बिछाैना।
पहिलाेपटक सडकमा ओछ्याएका काटुनमा सुत्दा उनलाई निन्द्रा परेन। त्याे रात विवेकलाई घरकाे यादले सतायाे। बेक्कारमा काठमाडाैं आएछु जस्ताे पनि लाग्याे।
तर भाेलिपल्टदेखि फेरि साथीहरूसँगै काममा लाग्न थाले।
मान्छेकाे घर फाेड्ने, पर्स लुट्ने अनि ठग्ने काम नै उनकाे दैनिकी बनेकाे थियाे। त्यही काम गरेर रमाउन थालिसकेका थिए विवेक।
अब उनकाे लागि सडक घर थियाे अनि साथीहरू घरका परिवार।
‘सुरुमा मैले घरलाई सम्झिएको थिएँ तर विस्तारै मलाई सडक नै प्यारो लाग्न थाल्यो’, उनी भन्छन्, ‘त्यसपछि बुबाआमा र बहिनीको याद कहिल्यै आएन।’
आफ्नो ज्यान पाल्नका लागि उनले कयौं मान्छेलाई रुवाए। कति जनालाई कुटे अनि कत्तिको हातबाट आफैंले पनि कुटाइ खाए। कुलतकाे बाटाे राेजे।
गाउँबाट काठमाडौं आएपछि चुरोट पिउन थालेका थिए विवेक। त्यही साथीहरूको संगतले। ‘चुरोट खाने साथीहरूले मलाई पनि चुरोट तान्न सिकाए’, देखासिकीले विवेकलाई ‘चुराेटे’ बनायाे।
तर चुराेटकाे लतमा मात्रै सीमित रहेनन् विवेक। उनले ‘ड्रेनराइड’को पनि सेवन गर्न थाले।
पहिलाेपटक दूधकाे प्याकेटमा ड्रेनराइड हालेर सुँघ्दा संसार घुमेजस्ताे लाग्याे उनलाई। रिंगटा लाग्याे। तर मज्जाकाे ‘ट्रिप’ दियो।
नशा उनकाे लागि उमेरजस्ताे बन्याे। घट्नुकाे सट्टा बढिरह्याे। चुराेट, ड्रेनराइड हुँदै उनी ट्याब्लेट र सिरिन्जसम्म पुगे। ‘मेरो नशा बढ्दै गयो। जे पाए त्यही खाइदिएँ, रक्सी पनि छोडिनँ’, उनले सुनाए।
११ वर्षको उमेरदेखि कुलतमा बाटो पछ्याउन थालेका उनले आफ्नो डोज पुर्याउनका लागि चोरी मात्रै गरेनन् सडकमा हिड्ने मान्छेकाे हात र खुट्टा ढाेक्न समेत पछि हटेनन्।
सधैं नशामा टिल्ल रहने उनी कयाैं पटक चाैकी पनि पुगे। तर सुध्रिएनन्। बरू, उल्टै पुलिसलाई पनि थर्काए। त्यहि नशाकाे मातमा।
‘म धेरै पटक जेलमा बसें तर पुलिसहरू मसँगै डराउँथे। ब्लेडले घाँटी र हात काटिदिन्थें’, उनी सम्झिन्छन्, ‘अनि पुलिसहरूले यो केटा यहीं मर्छ भन्दै मलाई छोडिदिन्थे।’
जेलबाट छुटेको दिनदेखि उनी फेरि मान्छे लुट्ने काममा लागिहाल्थे।
मान्छेलाई छक्काएर चाेर्नु उनकाे लागि रहर मात्रै थिएन बाध्यता पनि थियो। किनकी खाली हात घर फर्किदा उनले आफ्नो ‘नाइके’को कुटाइ खानुपथ्यो। जोसँग विवेकमात्र होइन उनीहरू काे १४ जना टिम नै डराउथ्यो।
‘राजु’ उनीहरूकाे सिनियर थिए। उसैकाे लागि भएपनि विवेकहरूले पैसा कमाउनुपथ्याे। र, चाेरेर ल्याएकाे सबै पैसा उसैलाई बुझाउनुपथ्याे।
‘ठमेलको सडकमा ग्याङ फाइट गरेर राजु हिरो भएको थियो। उनी धेरै वर्ष सडकमा बसिसकेको पनि थियो। त्यसैले उनी हाम्रो नाइके थियो’, स्वर्गीय राजुलाई सम्झदै विवेकले भने, ‘ हामी सबैजना डराउँथ्यो। उसले भनेको नमान्दा हामीलाई करेन्ट लगाउने र चक्कु देखाएर डराउने गथ्यो। उसको सबै कुरा हामीले मान्नैपथ्यो।’
विवेकहरूलाई चोर्न, मान्छे कुट्न अनि घर फोड्न लगाउने पनि तिनै राजु थिए। जसको इसारामा ठमेलका सडक बालबालिकाहरू काप्न गर्थे।
दिनभरि मान्छेलाई लुटेर ल्याएकाे पैसा उनले राजुलाई दिन्थे। त्याे पैसा राजुले सडकका केटीहरूलाई सपिङ गरेर सक्काउँथे।
‘हामीले लुटेको पैसामा राजुको शासन चल्थ्यो। सबैले चोरेर ल्याएको पैसामध्ये हामीलाई २–४ सय रुपैयाँ दिन्थ्यो’, राजुले दिएको पैसाले नै विवेकहरूको छाक टथ्यो। चाउचाउ, चिउरा र भूजा खाएर।
सुधारकाे बाटाे...
सडकलाई घर बनाएका विवेकहरूकाे भान्सा घर भने खाली मैदान हुन्थ्याे।
त्रिपाल टाँगेर उनीहरूले कपडा राख्ने र खाना पकाउने ठाउँ बनाएका थिए। जहाँ उनीहरूले चाेरेर ल्याएका भाँडा-बर्तनहरू थुपारिएकाे थियाे। ‘सधैं खाना पाक्दैन थियो तर भाँडाकुँडा चोरेर भेला पारेका थियौं’, उनले भने।
लुट्दै- चाेर्दै र माग्दै जीन्दगी चलिरहेकाे थियाे।
तर २०७३ साल वैशाख–२७ गतेदेखि बालबालिका खोजतलास समन्वय केन्द्र–‘१०४’ ले सडक बालबालिकाहरूको व्यवस्था कार्यक्रम सुरु गर्यो।
संस्थाले उद्धार कार्य गर्नअघि बालबालिकाहरूलाई सडकबाट उठाउँदै भन्ने सूचना दिएका थिए विवेकालाई चिनेका एक दाइले। तर ति मानिसकाे कुरा मानेनन् उनीहरूले।
‘हामीलाई एक जना दाइले सडकमा छाेडेर काेठा भाँडामा लिएर बस् भन्दै सम्झाउनुभएको थियो तर हामी कसैसँग डराउँदैनौं भनेर उहाँको कुरा सुनेनौं’, उनले बताए।
बालबालिका खोजतलासले विवेकहरूलाई सडकबाट उठाउन खोज्नुअघि धेरै संस्थाहरू आइसकेको थियो उनीहरूलाई उद्धार गर्न। तर सधैं थर्काएर पठाए। सडकलाई नै आफ्नो घर बताए।
‘मलाई पढाउँछु भनेर धेरै संस्थाहरू सडकमा आएको थियो तर मैले कहिल्यै मानिनँ। म सडक र सडकका साथीहरूलाई छोड्न चाहदिन थिएँ’, उनी भन्छन्, ‘गाली गरेर पठाइदिन्थें।’
धेरै संस्थाहरूलाई अटेरी गरेका विवेकहरूले बालबालिका खाेजतलास केन्द्रलाई पत्याएन। संस्थाले केही गर्न सक्दैनन् भन्ने घमण्ड थियाे उनीहरूमा। तर त्यही साेच उनीहरूकाे भ्रम थियाे।
बालबालिका खोतलासले विवेकहरूलाई उद्धार गर्ने दिन।
रातकाे ११–१२ बजेकाे थियाे।
दिनभरिकाे थकाइ मेट्न विवेकसहित १५ जना बालबालिकाहरू बेवारिसे जस्तै सुतिरहेका थिए। त्यहीबेला संस्थाका कर्मचारीहरूले उनीहरूलाई झ्यापझुप समात्यो।
पानीबिनाको माछाजस्तै विवेकहरू छटपट्टिए। तर केही सीप लागेन।
‘हामीलाई सडकबाट उठाउँदा पनि म नशामै थिएँ। मैले धेरै गाली पनि गरें तर केही लागेन’, उनी सुनाउँछन्, ‘उहाँहरू धेरै हुनुहुन्थ्यो। त्यसैले हामीले सकेनौं।’
सडकबाट उठाएपछि उनको मनमा त्रास जाग्यो, हामीलाई कहाँ लैजादैंछ? तर संस्था पुगेपछि उनकाे सामान्य उपचार भयाे।
त्यसपछि विवेकलाई ‘सोबर रिकवरि ट्रीटमेन्ट एण्ड रिहाबीलिटेशन सेन्टर’ पठाइयाे। जहाँ उनीजस्तै बालबालिकाहरूकाे उपचार गरिन्थ्याे।
जाेरपाटीकाे त्याे संस्थामा उनले केही महिना बिताए, त्यसपछि विवेक फेरि ठमेलकै सडकमा पुगे। उनकाे जाने अरू ठाउँ थिएन। काम गर्ने उनकाे कुनै याेजना थिए।
सडकमा बस्न थालेको केही वर्षपछि उनलाई फेरि उद्धार गरियो। अनि फेरि सोबरमा पठाइयो। तर यो पटक भने उनी सुध्रिन चाहन्थे। किनकी उनले आफ्नो साथीको मृत्यु देखेका थिए।
विवेकलाई यकीन भइसकेकाे थियाे, अब पनि सुध्रिएन भने सँगैका साथीहरूजस्तै उनकाे पनि अकालमै मृत्यु हुन्छ। त्यसैले बाँच्नका लागि भएपनि कुलतकाे बाटाे त्याग्नैपर्छ।
‘मसँगैका साथीहरू धेरै नशाको सेवन गरेर भटाभट मर्दैथिए’, उनले भने, ‘त्यो देखेर मेरो मनमा पनि डर पलायो अनि सुध्रिनुपर्छ भन्ने सोच आयो।’
शरीरलाई समातिसकेको नशालाई छोड्नु उनका लागि चानचुने कुरै थिएन। तर उनले नशामुक्त हुन प्रयत्न गरिरहे। र, केही महिनाकाे संघर्षपछि विवेक नशाबिना पनि बाँच्नसक्ने भए।
‘नशा छोड्नका लागि मैले धेरै संघर्ष गरें र सफल पनि भएँ’, सिकनेस पेरियडबाट निस्किएपछि खुसी भएका थिए विवेक।
जीन्दगीको योजना
नशाबाट मुक्त भएका विवेक त्यही साेबरमा काम गर्न थाले।
आफूजस्तै सडकबाट आएका साना भाइहरूको हेरचाह गर्छन्। उनीहरूलाई आफ्नो कथा सुनाउँछन्। अनि सडकको जीवन त्याग्नका लागि प्रोत्साहत गर्छन्।
हिजोआज उनलाई लाग्न थालेको छ, उसले गरेको गल्ती कुनै पनि बालबालिकाहरूले नगरोस्। आफूभन्दा साना भाइबहिनीहरूलाई देख्दा उनलाई आफ्नी बहिनीको याद आउँछ।
त्यसैले त उनी आफूले सोबरमा कमाएको पैसालाई तिनै बालबालिकाहरू खर्चिन्छन्। कहिले चकलेट किनिदिन्छन् त कहिले चाउचाउ र बिस्कुट।
‘म काठमाडौं भागेर आउँदा बहिनी मात्रै ३ वर्षकी थिइन्। अहिले ठुली भइसकिन् तर सानो भाइबहिनी देख्दा बहिनीको सम्झदा आउँछ’, बहिनीलाई सम्झिएर भावुक हुन्छन् विवेक।
कुनैबेला सडकलाई जीन्दगी अर्पित गरेका विवेक अब नयाँ जीवनको सुरुवात गर्न खाेज्दैछन्। त्यसका लागि उनी गाउँ गएर बाआमासँग बस्न र एउटी श्रीमती भित्र्याउन चाहन्छन्।
‘मलाई आफ्नो गाउँ थाहा छ, बुबाआमाको अनुहार पनि याद छ। उहाँहरूलाई कतै देखे भने मज्जाले चिन्छु तर गाउँ जाने आँट गरेको छुइनँ’, उनी भन्छन्, ‘अब उहाँहरूको लागि एउटी बुहारी लगेर जान्छु।’
सडक र कुलतको दुनियाँमा रमाइरहँदा उनकी एउटी प्रेमिका थिइन्। जसलाई उनले धेरै प्रेम गरे। तर प्रेमिकाले उनलाई धोका दिइन्।
‘मैले त उसलाई माया गरेको थिएँ तर उसले मलाई डोजको लागि मात्रै माया गरेकी रहिछे’, पूर्व प्रेमिकालाई सम्झिएर उनले भने, ‘दुई वर्ष माया गरेकी प्रेमीकासँग छुटेपछि म अहिले खुसी छु। तर अहिले उनी त्यही सडकमा नशाले लठ्ठिएर धेरै प्रेमीहरूसँग हिडिरहेकी होलिन्।’
तर धन्न विवेक कुलतबाट उस्किए।
विगतमा निर्दोष मानिसहरूलाई आफूले दिएको चोट सम्झिएर अहिले पनि पछुताइरहेका छन् उनी। अब विगतमा कहिल्यै फर्किन चाहदैनन्।
‘मैले धेरै जनालाई दुःख दिए, मलाई पाप नलागोस्’, भगवानसँग उनको त्यही प्रार्थना छ।