उपनिर्वाचनमा दल दर्तागर्न निर्वाचन आयोगको आह्वान

निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ।

आयोगका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ।

२०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भाग लिएका दलहरुले उपनिर्वाचनका लागि दल दर्ता गर्नुपर्ने छैन तर २०७४ सालको निर्वाचनपछि एकीकरण भई नयाँ नाम कायम भएका र नयाँ दर्ता भएका दलले भने उपनिर्वाचन प्रयोजनका लागि अनिवार्यरुपमा दल दर्ता गराउन पर्नेछ।

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिकाको प्रमुख एक, गाउँपालिकाको अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४२ गरी ५१ पदका लागि उपनिर्वाचन हुँदैछ।

राजनीतिक दलले विधान, नियमावली, घोषणापत्र, निर्वाचन चिह्न, दर्ताका लागि भएको केन्द्रीय समितिको निर्णय, वार्षिक लेखा परीक्षण प्रतिवेदन, पछिल्लो महाधिवेशन सम्पन्न भएको मिति, कार्यकारिणी समितिका पदाधिकारी र सदस्यको सङ्ख्याजस्ता विषय खुलाएर

निवेदन दिनुपर्ने आयोगले जनाएको छ। अहिले निर्वाचन आयोगमा दर्ता रहेको राजनीतिक दलको सङ्ख्या १३२ रहेको आयोगले जनाएको छ। उपनिर्वाचनको तयारीका क्रमममा मतदाता नामावलीलाई अन्तिम रुप दिने कार्यमा आयोग अघि बढिरहेको आयोगले जनाएको छ।

प्रकाशित मिति: : 2019-09-02 16:25:46

प्रतिकृया दिनुहोस्