भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति

तस्बिरः बिएल

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्य विधि शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषद् सञ्चालनसम्बन्धी संशोधन गरिएको कार्यविधि फिर्ता लिन सरकारसँग आग्रह गरे।

‘उच्च र आधुनिक प्रविधिको प्रयोग गर्नु राम्रो पक्ष हो, पछिल्लो कार्यविधि संशोधनबाट अधिकारको दुरुपयोग भएको छ’, उनले भने, ‘प्रधानमन्त्री स्वदेशमा नभए पनि उहाँकै अध्यक्षतामा बैठक सञ्चालन गर्नु ठीक होइन, भिडियो कन्फ्रेन्सबाट बैठक गर्दा सूचना चुहिने मात्र होइन, लिएको शपथ विपरीत हुन जान्छ ।’

प्रमुख सचेतक खाँणले प्रधानमन्त्री बाहिर जाँदा उहाँको कार्यभार सम्हाल्ने व्यवस्थाअनुसार कार्यभार तोकिएको जानकारी सभामुखले संसद्लाई गराइसकेको बताउँदै प्रधानमन्त्री अध्यक्षतामा भिडियो कन्फ्रेन्सबाट बैठक बस्दा कार्यभार तोकिनुको अर्थ के रह्यो भनी प्रश्न गरे।

‘हालै मन्त्रिपरिषदले मन्त्रिपरिषदको बैठक सञ्चालन कार्यविधि संशोधन गरेको छ। मन्त्रिपरिषदको सञ्चालनको कार्र्यविधि यो ज्यादै नै गम्भीर विषय हो र यसको गम्भीरता प्रधानमन्त्रीजी, मन्त्रिपरिषदका सदस्यहरुले यो नियमावली बदल्न पाउँने बैधानिक अधिकारको प्रवन्ध गरिएको छ। तथापि यो संशोधन गर्दा अधिकारलाई दुरुपयोग गर्नु भएन भन्ने म आग्रह गर्न चाहन्छु,’ खाणले भने।

बैठकमा प्रमुख सचेतक खाँणले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको तर्फबाट स्वास्थ्य उपचारको क्रममा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरे।

‘तर प्रधानमन्त्रीजी बाहिर जाँदा सम्माननीय सभामुखमार्फत हामीले यहाँ सुन्यौँ, प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेगरी उहाँको विभागिय र प्रधानमन्त्री कार्यालयको कार्यभार सम्हाल्नेगरी कार्यबहाक प्रधानमन्त्री पनि तोकिएको छ। सम्माननीय राष्ट्रपति कहाँबाट आएको सूचना हामीले यहाँ सुन्यौँ। एकातिर भिडियो कन्फरेन्सबाट हेर्दाखेरी प्रधानमन्त्री ओल िकार्यरतै हुनुहुन्छ। अर्कोतर्फ कार्यबहाक प्रधानमन्त्री पनि तोक्नु भएको छ। यो आफैमा पनि नमिल्ने कुरा भयो,’ उनले भने।

उनले यसलाई गम्भीर गल्ती गरेको भन्दै यस्तो गल्ती नदोहोर्याउन चेतावनी दिए।

‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटा हामीहरुका अंगहरु छन्। अब सम्माननीय प्रधानमन्त्रीजी नहुँदाखेरी भिडियो कन्फरेन्सबाट क्याविनेटको बैठक सञ्चालन गर्न मिल्ने हो भने, यदि सम्माननीय सभामुखज्यू भोलि हुनु भएन भने यो प्रतिनिधि सभाको पनि बैठक बस्न सक्छ?’ उनले प्रश्न गर्दै भने।

त्यसैगरी राष्ट्रिय सभाको अध्यक्ष नहुँदा कार्र्यविधि बदलिदिएर नियमावली बदलेर राष्ट्रिय सभाको अध्यक्ष अमेरिका गएको बेलामा त्यहिबाट भिडियो कन्फरेन्सको माध्यमबाट राष्ट्रिय सभा चलाउन मिल्छ कि मिल्दैन भनि गम्भीर प्रश्न उनले गर।

त्यसैगरी सम्माननीय प्रधानन्यायाधीश पनि विदेश जानु होला, त्यतिबेला न्यायपालिकाको बैठक पनि भिडियो कन्फरेन्सकै माध्यमबाट गरिदिनु भयो भने के होला भन्दै उनले भने, ‘यो विल्कुलै अस्वभाविक छ। यसलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ।’

उनले मन्त्रिपरिषदको बैठक सञ्चालन कार्यविधि बदलेर प्रधानमन्त्री र मन्त्री काठमाडौंमा नभएको बेलामा पनि भिडियो कन्फरेन्सको माध्यमबाट बैठक बसाल्ने जुन संशोधन गरिएको छ त्यसलाई अविलम्ब संशोधन गरी पूर्ववत स्थानमा लान माग गरे।

‘यसले हाम्रो परम्परा पनि विग्रीन्छ। यो उच्च प्रविधिको सदुपयोग होइन, दुरुपयोग हो र यसले जग हसाउने काम भएको छ,’ खाणले भने।
‘भिडियो कन्फरेन्सको माध्यमबाट मन्त्रिपरिषदको बैठक भयो भने नेपाली कांग्रेसले बडो गम्भीरतापूर्वक लिन्छ। हामीले विधिको शासनकै लागि बोलेको हो। उच्च प्रविधि प्रयोग गर्दा कहिलेकाही त हामीलाई पनि खुशी नै लाग्दछ। तर, यो सदुपयोग होइन दुरुपयोग भयो।’

उनले यो प्रविधिको प्रयोग डाक्टरले, इन्जिनियरले गर्ने, विज्ञहरुले प्रयोग गर्ने, व्यवसायिकहरु प्रयोग गर्ने भिडियो कन्फरेन्सलाई अत्यन्तै संवेदनशील निकाय मुलुकको ज्यादै नै गम्भीर निकाय मन्त्रिपरिषदको बैठक नै भिडियो कन्फरेन्सबाट गरिनु घोर आपत्ति जनक भएको बताए।

प्रकाशित मिति: : 2019-08-27 16:25:02

प्रतिकृया दिनुहोस्