धेरै मान्छेकाे सहारा बनेकाे फुटपाथ व्यापार आज सहरमा बन्देज छ। तर, नगर प्रहरीबाट छेलिँदै–छेलिँदै ‘नाङ्लाे’ पसल घुमाइरहेकी सीताकाे कयाैं दशकहरू त्यसरी नै कटिसक्याे। जीवनका धेरै उकाली-ओरालीहरूमा उनी रमाइहेकी छिन्। खुसी हुन ठुलाे कुरा चाहिन्न, जिउन जाने जीवनका खुसी साना–साना कुरामा भेटिन्छन्, जाे खुसी सीताकाे जीवनमा यही नाङ्लाे पसलले दिएकाे छ।
झण्डै सात दशक पुग्न लागेकी सीता अधिकारीलाई घरमा बस्ने रहर छ तर बाध्यताले उनलाई सडकमा पुर्याएकाे छ।
काठमाडौंको पिङगलास्थान पशुपतिनथा मन्दिर जाने गेटमा उनको सानो नाङ्लो पसल छ। त्यही पसल उनकाे आम्दानीको स्रोत बनेको छ।
उनकाे सानाे नाङ्लाेमा १० मानाे बदाम, पाँच प्याकेट चाउचाउ, ६ प्याकेट बिस्कुट, तीन बट्टा चुराेट र १० वटा चकलेट सजाइएकाे छ। र, नाङ्लाे छेउमा २ बन्डल पानीका बाेतलहरू पनि राखिएकाे छ।
आफूले बेच्न राखेको सामान देखाउँदै सीता भन्छिन्, ‘यहि बेचेर हातमुख जोड्न पुगिराकाे छ। याे काम गरिनँ भने त भाेकै मरिन्छ हाेला।’
६७ वर्ष पुगेकी सीताकाे घरमा चार दशक काटिसकेका छाेरा छन्। तर, काम गर्दैनन् उल्टै आमासँग पैसा मागेर दिन बिताउँछन्। उनका उनका दुई सन्तान छन्। जसलाई हजुरआमाले नै पढाइरहेकी छिन्।
‘छोराको काम छैन। मैले नपढाएर कसले पढाउँछ र? उनीहरूकाे बाउले पाँच कक्षाभन्दा धेरै पढ्न मानेन। पढेकाे भए जाँगिर त पाउँथ्याे कि!’, सीता एक्लैले थामिरहेकी छिन् परिवार।
तर धन्न सीताको साथी बनेकाे छ–फुटपाथ।
‘मान्छेहरूको साथी मान्छे नै हुन्छ तर मेरो साथी यही फुटपाथ हो। म कयाैँ पटक रूएकाे यही सडकले मात्र देखेकाे छ’, सडकबारे उनले बताइन्।
२०२९ सालमा पहिलोपटक श्रीमान जय अधिकारीसँग काठमाडौँ आएकी थिइन् सीता। काम गर्ने सपना लिएर।
‘म १६ वर्षकी थिएँ। अंशमा परेको १ हजार ४ सय रुपैयाँ बोकेर हामी बुढाबुढी काभ्रेबाट काठमाडौं आएका थियौं’, उनले भनिन्, ‘तर सोचेजस्तो भएन।’
अहिले जस्तो थिएन–त्योबेला काठमाडौंको स्वरुप। जंगलले घेरिएको थियो काठमाडाैं उपत्यका। न गाडीहरू थिए न त सडकहरू नै। दिउँसै अध्यारो हुन्थ्यो। काठमाडौंको त्यही रुप देखेर बिरक्तिएकी थिइन् सीता।
‘सहर कस्तो चाहिँ होला भनेर सोच्थें तर रमाइलो थिएन’, पहिलोपटक काठमाडौं आउँदाको अनुभव उनले सुनाइन्।
काठमाडौंमा काम गर्न आएकी उनको मन त्यहाँ अडिएन। त्यसपछि उनी श्रीमानसँग निजगढ गइन्। त्यहाँ ऐलानी जग्गा लिइन्। केही वर्षसम्म काम गरिन्। अनि फेरि काठमाडौं फर्किइन्।
000
निजगढबाट ४० हजार रुपैयाँ बाेकेर काठमाडौं फर्किएका दम्पत्तिले गौशाला चोकमा एउटा चिया पसल खोले। ‘एक कप चिया सुक्का पैसामा बेचेका थियौं’, उनले भनिन्, ‘त्योबेला त्यति पैसा पनि धेरै लाग्थ्यो।’
श्रीमान र श्रीमतीले चलाएकाे त्याे चिया पसल खुबै चल्याे। त्यही पसलबाट कमाएकाे पैसाले उनीहरूले टुसालमा १ लाख ८० हजार रुपैयाँ तिरेर एक टुक्रा जग्गा किने।
राजधानी एउटा घडेरी थियाे। चिया पसल राम्राेसँग चलिरहेकाे थियाे। त्यही पसलबाट बुढाबुढी र छोरालाई खान पुगिरहेकै थियाे।
जीन्दगीमा अरु के पाे चाहिन्थ्याे र?
खुसी र सुखी थियो सीताको परिवार। तर २०५१ सालमा बज्रपात पर्याे। उनका श्रीमान जयले सदाका लागि संसार त्यागे।
३८ वर्षको उमेरमा श्रीमान गुमाएकी उनलाई धर्ती फाटेजस्तो भयो। आकाशले थिचेजस्तो लाग्यो। उनमा जिउने रहर पनि हरायो।
तर, सीतालाई छोराको लागि बाँच्नु थियो। छोराको भविष्य बनाउनु थियो। त्यसैले त श्रीमानले छोडेर गएपनि उनले एक्लै छोरालाई हुर्काइन्।
बिस्तारै समयहरू बित्दै गयो। छोरा पनि हुर्किँदै गए। छोराले बुहारी ल्याए। र, सीताले चिया बेचेर कमाएको पैसाले किनेको जग्गा पनि बेचिदिइन्। अनि बौद्धमा एउटा चार कोठेको घर किनिन्।
‘छोराले बुहारी ल्याएपछि कोठा चाहियो। त्यसैले घर ३५ लाख रुपैयाँमा घर किनेँ’, उनी भन्छिन्, ‘३० लाख रुपैयाँमा जग्गा बेचेँ अनि पाँच लाख थपेर घर किनिदिएँ।’
छोराले बुहारी भित्र्याएपछि खुसी थिइन्–सीता। अब छोराबुहारीले पनि काम गर्छन् कि! तर कहिल्यै उनको दु:ख बुझेनन् छोराबुहारीले।
‘छोरा जन्माइदिएँ बुहारी ठिक्क भयो। उनीहरूले के काम सघाउँथे र!’, उनी भन्छिन्, ‘छोराले त मेरो दु:ख बुझेन अरुकी छोरी के बुझ्थ्यो र?’
श्रीमानसँग चलाउँदै आएको चिया पसलमा छोराबुहारीले चासो नदेखाएपछि उनले त्यो पसल बेचिदिइन्। अनि सुरु गरिन् नाङ्ग्लो पसल।
‘मलाई चिया पसल बेच्ने मन थिएन तर एक्लै चलाउन सकिनँ। छोराबुहारीले मलाई साथ दिएन’, उनले गुनासो गरिन्।
गौशाला चोकमा नाङ्लो पसल थापेर घर चलाइरहेकी थिइन् सीताले। त्यहिबाट भएको कमाइले छोराले पनि थुपार्दै गए। छाेराले तीन वटी श्रीमती घरमा ल्याए। तर अहिले एउटै पनि छैनन्।
‘छोराले काम गरेन। बुहारी मात्रै ल्यायो। तीनटीले नै छोडेर भाग्याे। पैसा नकमाउने लोग्नेसँग किन बस्थ्यो र?’, उनी भन्छिन्, ‘छोराले ल्याएका दुलहीहरूलाई पनि म आफैँले पाल्नु पर्याे।’
फुटपाथको व्यापारले घर सम्हालिरहेकी सीता अहिले गौशालाबाट पिङ्गलस्थानतिर पुगेकी छिन्। काठमाडौं महानगरपालिकाले नयाँ ठाउँमा सारेकाे हटाएको उनले बताइन्।
‘गौशालाको जस्तो यहाँ व्यापार छैन। नगर प्रहरीले त्यहाँबाट धपाइहाल्यो’, उनी भन्छिन्, ‘म बुढीमान्छे भएर पसल राख्न दिएको भन्छ। नगरप्रहरीले गरिखानै दिएन।’
000
कुनैबेला फुटपाथमा व्यापार गरेर उनी तीन–चार हजारसम्म कमाउँथिन्। तर, अहिले हजार रुपैयाँ कमाउन पनि मुस्किल छ। तर, काम नगरे हुँदैन।
‘छोराले पैसा माग्छ, नातिनातिनाले पैसा मागेर हैरान बनाउँछ। काम गर्न चाहिँ मान्दैन’, उनले भनिन्, ‘छोरा र नाति झगडा गर्छ। मैले गाली गरिदिन्छु तर टेर्दैन। कुनबेला झगडा गरेर मर्छ कि भन्ने डर लाग्छ।’
गत मंगलबार राति छोरा र नातिको झगडा भयो। त्यो झगडा छुट्याउन सीता छोरा र नातिको बिचमा गइन्। तर, उनी आफैँ घाइते भइन्। नातिले उनको हातै मड्काइदियो।
‘नाति गुण्डा जस्तै छ। मैले बेच्ने सबै चुरोट खाइदिन्छ। पैसा मागेर हैरान बनाउँछ’, मलिन स्वरमा उनले भनिन्।
चार वर्षको उमेरमा विवाह
अहिले बुढेशकालमा छोरा र नातिनातिनाले दिएको दु:ख सम्झिँदा कहिलेकाहीँ एक्लै भक्कानिने गर्छिन् सीता। स्वर्गीय श्रीमानलाई स्मरण गरेर रुन्छिन्। अनि मनमनै सोच्ने गर्छिन्, ‘श्रीमान जस्तो नहुँदो रहिछ, छोरा र नातिनातिना।’
५६ वर्षकाे उमेरमा संसारबाट बिदा भएका श्रीमानसँग बालखैमा बाँधिएकी थिइन् सीता।
तोते बोली नफुट्दै चार वर्षको उमेरमा २२ वर्षका जय अधिकारीसँग उनकाे विवाह भएको थियो।
सीताको हात माग्न काभ्रेबाट रामेछाप पुगेका थिए जयका परिवार।
‘मलाई थाह नदिइकन मेरो विवाह भएको रहिछ’, बिएल नेपाली सेवासँग उनले भनिन्, ‘जब म बुझ्ने भए त्यसपछि बल्ल थाह पाएँ। म गुरागाईंबाट अधिकारी भएकी रहिछु।’
बालखैमा विवाह भएपनि १३ वर्षसम्म माइतीघरमै बसिन् सीता। विवाहअघि नै १४ वर्षमा मात्र श्रीमानको घर जाने सर्त राखिएकाे थियाे।
१३ वर्षसम्म माइतीघरमा बसेकी सीता पढ्न पाइनन् तर चुराेट पिउन सिपालु भइन्। उनले पिताबाट सिकिन् चुराेट तान्न।
उनका बुबा नेपाल प्रहरीमा आबद्ध थिए। सधैं चुरोट पिउँथे। छोरी सीतालाई आगोमा चुरोट सल्काउन लगाउँथे। त्यही चुरोट सल्काउँदा–सल्काउँदै सीता पनि ‘चुरोटे’ भइन्।
‘बुबाले चुरोट सल्काएर ल्याइज छोरी भन्थे त्यसैगरी बानी पर्याे चुरोट खाने’, आफैँले बेच्न राखेको चुरोटको सर्को तान्दै उनले भनिन्, ‘चुरोटको स्वाद छैन। तर, मिठो लाग्छ।’
बिहानको ८ बजेदेखि साँझको ५ बजेसम्म व्यापार गर्ने सीता आफैँसँग सन्तुष्टि छिन्। उनी भन्छिन्, ‘अरुले जस्तो भिख मागेर खाएकी छुइनँ। आफ्नै मेहनतले कमाएर खाएकी छु। छोराले पाल्छ कि भन्ने आसा थियो तर पूरा भएन। अब बाँचुन्जेल काम गर्न पाए हुन्छ।’
तस्बिर: रविन भण्डारी