कतै प्रधानमन्त्रीलाई दिएको 'अञ्जनाको मृगौला'ले काम गर्न छोडेको त हैन ?

प्रधानमन्त्री के पी शर्मा ओली र उनकी मृगौलादाता अञ्जना घिमिरे । तस्बिर : फाइल ।

प्रधानमन्त्री के पी शर्मा ओली सिंगापुरबाट औषधोपचार गरेर फर्के लगत्तै थला परेका छन् । यो समाचारले फेरि एकपटक सारा नेपालीको मन अमिलो बनाइ दिएको छ । 

नेपाललाई अहिले स्वस्थ र गतिशील प्रधानमन्त्री चाहिएको छ । तर, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा जुन किसिमले ह्रास आइरहेको छ, त्यो हेर्दा अब उनीमा स्वस्थ प्रधानमन्त्री नपाइने हो कि जस्तो देखिएको छ ।  

मुलुकको कार्यकारी प्रधानमन्त्रीको स्वास्थ्य एक सामान्य मानिसको स्वास्थ्य जस्तो हैन । उनको स्वस्थ जीवनको सक्रियतामै मुलुकको गति र दिशा निहित हुन्छ । 

प्रधानमन्त्रीमा सामान्य रोग छैन । बैंकक र सिंगापुरका अत्यन्त उम्दा अस्पतालमै उपचार गर्न गैरहनु परेकोले पनि त्यसको संकेत गर्छ । 

उनको २०६४ साल असारमा भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको हो । उनलाई आफ्नै बडाबाबुकी बुहारी नाताले भाइ बुहारी पर्ने अञ्जान घिमिरे ओलीले मृगौला दान गरेकी हुन् । अहिले प्रधानमन्त्री ओली तिनै अञ्जानको मृगौलाको सहारामा बाँचिरहेका छन् । 

१२ वर्ष भैसक्यो मृगौला प्रत्यारोपण गरेको । चिकित्सकहरू भन्छन्- यदि पूरा स्वस्थ र म्याच गर्ने मृगौला पाइयो र प्रत्यारोपण पनि दुरूस्तै भयो भने त्यसको आयु १४ देखि २० वर्षसम्म हुन्छ । तर, त्यस्तो मृगौला पाउँन पनि मुस्किल हुन्छ र आइडियल परिस्थिति सिर्जना गर्न पनि लगभग असम्भव नै हुन्छ । 

भारतको अपोलो अस्पतालको अभिलेख हेर्यो भने बढीमा १४ वर्ष मात्र प्रत्यारोपण गरिएको मृगौलाले काम गरेको देखिन्छ । यसलाई आधार मान्ने हो भने कतै प्रधानमन्त्रीको प्रत्यारोपित मृगौलाले नै काम गर्न छोडेको त हैन भन्ने प्रश्न उठाउन सकिन्छ । 

हुन त उनका चिकित्सकहरू पनि उनी स्वस्थ भएको बताउँछन् । सल्लाहकारहरूले त भन्ने नै भए । हाम्रो संस्कारमै मरिसकेको मान्छेलाई त अन्तिम अवस्थामा छ वा केही भन्न सकिदैन भन्ने चलन छ । यस्तो अवस्थामा कतै यी निजी चिकित्सक र सल्लाहकारहरू 'केही भन्न सकिदैन' भन्न त सकिरहेका छैनन् ? प्रश्न यो कोणबाट पनि उठान गर्न सकिन्छ ।

यो खुला सत्य हो कि प्रधानमन्त्री ओली अस्वस्थ छन् । यस्तो अवस्थामा अब उनलाई बढी खटाएर जीवन छोट्याउनेतिर लाग्ने कि बरू विश्राम गराएर जीवनलाई लम्ब्याउनतिर लाग्ने हो ?  यसको निर्णय ओलीले गर्नुपर्छ । वरिपरिकाले त आफ्नो स्वार्थका लागि पनि 'उहाँ स्वस्थ हुनुहुन्छ, शुक्रबारदेखि काममा आउनु हुन्छ' भन्छन् नि । पीडा उनीहरूलाई भएको हुदैन, जीवन जाने पनि उनीहरूको हैन ।

त्यसैले अब ओलीले नै निर्णय गर्ने बेला आयो । उनको, पार्टीको र देशको हित अब उनले पार्टी अध्यक्ष र सरकार प्रमुखबाट राजीनामा दिदा नै हुन्छ । अब उनी बाँकि जीवन एक सम्मानित अभिभावक भएरै बसेको राम्रो होला । अब उनले गर्न र हुन पनि केही बाँकि छैन । राष्ट्रपति नै हुन चाहे भने पनि अहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वास्थ्यको कारण देखाएर राजीनामा दिन लगाएर उनी हुन सक्छन् । 

नेपालीमा एउटा भनाइ छ, दिएर कोही गरीव हुदैन र मागेर कोही धनी पनि हुदैन । र, जसले त्याग गरेको छ, उसैको महत्ता पनि गाइएको छ । त्यसैले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले दुबै पद त्याग गरेर महान बन्ने कि ? विकल्प अझै खुल्ला छ । 

प्रकाशित मिति: : 2019-08-16 09:23:07

प्रतिकृया दिनुहोस्