प्रधामन्त्रीका सल्लाहकार रिमाल भन्छन् : उहाँ थाक्नु भएको हो, बिरामी होइन

तस्बिरः एजेन्सी

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली फेरि अस्वस्थ भएका छन्।

सिंगापुरमा ९ दिनसम्म ‘स्वास्थ्य परीक्षण’ गरेर स्वास्थ्य भइ फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दुई दिन नबित्दै फेरि स्वास्थ्य बिग्रिएको हो।

टाउको भारी हुने र आंशिक ज्वरो आउने भएपछि उनलाई डाक्टरहरूले आराम गर्न सल्लाह दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

यसैबीच अस्वस्थ भएको खबरबारे उनको सचिवालयले खण्डन गरेको छ ।

बिहीबार बोलाइएको नेकपाको सचिवालय बैठक अध्यक्ष ओलीको स्वास्थ्य समस्याका कारण स्थगित भएको खबर सार्वजनिक भएको थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नै पत्रकारहरुलाई ओलीको स्वास्थ्यका कारण बैठक बस्न नसकेको जानकारी दिएका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्य जटिल बनेको अड्कलबाजी बिहीबार दिनभरि चलिरहेपछि राति ११ उनका प्रमुख सल्लाहकार विष्णु रिमालले कुनै समस्या नरहेको भन्दै सामाजिक सञ्जालमा आफ्ना भनाइ राखे।

रिमालका अनुसार सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएलगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले प्रधानमन्त्री केही थकित भएका हुन्।

बिहीबार राति १०:४० बजे प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमालले यसबारे खण्डन गरेका छन् । उनले प्रधानमन्त्री ओली बिरामी नभएर थाकेका कारण बैठक स्थगित भएको जानकारी दिएका छन् ।

लगातारको धपेडीले प्रधानमन्त्री केही थकित हुनुभयो । त्यहीकारण आजको सचिवालय बैठक भोली बस्ने गरी स्थगित भयो, रिमालले भनेका छन्,  यसै आधारमा उहॉको स्वास्थ्य अवस्थबारे अडकलबाजीसहित केही मिडियामा सम्प्रेषित अफवाहहरू निराधार छन्।प्रमको स्वास्थ्य ठीक छ।'

रिमालले प्रधानमन्त्री शुक्रबार बिहानैदेखि नियमित भेटघाट र बैठकहरूमा संलग्न रहने बताए । रिमालका अनुसार थकान देखिएकाले बिहीबार पनि प्रधानमन्त्रीले आराम गरेका हुन्। 'प्रधानमन्त्रीको  स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्छु,' रिमालले भनेका छन्, 'चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद छ।'

सोमबार नेपाल फर्किएलगत्तै राजनीतिक छलफल र परामर्शमा व्यस्त भएका प्रधानमन्त्रीओलीको पछिल्लो स्वास्थ्यस्थितिबारे बालुवाटारमा छलफलसमेत भएको थियो।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका प्रधानमन्त्री ओलीले नेपाल फर्किएपछि आफू स्वस्थ भएको भन्दै स्वास्थ्यस्थितिबारे चिन्ता नलिन आग्रह गरेका थिए।

प्रधानमन्त्री सचिवालयका अनुसार बिहीबार बिहानदेखि उनलाई केही असहज महसुस भएको थियो। टाउको दुख्ने र बेलाबेलामा ज्वरो पनि आउने भएपछि आजका लागि तय भएको सचिवालय बैठक पनि स्थगित गर्नुपरेको थियो।

मृर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली यसअघि नियमित चेकजाँचका लागि थाइल्याण्डको बैंकक जाने गर्थे। यसपालि उनी सिंगापुर गएका थिए।

साउन १८ गते सिंगापुर गएका ओली २४ गते स्वदेश फर्किने कार्यक्रम थियो। तर स्वास्थ्य परीक्षणका रिपोर्ट आउन समय लागेकाले उनको सिंगापुर बसाइ लम्बिएको थियो।

प्रधानमन्त्री ओलीको के-के परीक्षण भएको हो र तिनको रिपोर्ट के आयो भन्नेबारेमा खुलाइएको छैन।

प्रकाशित मिति: : 2019-08-16 00:06:27

प्रतिकृया दिनुहोस्