‘दबाब र हस्तक्षेप सह्य हुँदैन’

तस्बिरः बिएल

प्रतिनिधिसभाको बैठकमा सांसद भीमबहादुर रावलले राष्ट्रियताको सवालमा कुनै पनि प्रकारको बाह्य दबाब र हस्तक्षेप हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले द्वन्द्वकालका घटनाको छानबिनका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको बाँकी काम जति सक्दो छिटो पूरा गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।

सांसद अग्निप्रसाद सापकोटाले दोलखाको खरीढुङ्गास्थित खरीढुङ्गा उद्योगलाई बहुआयामिक रुपमा प्रयोग हुने गरी सञ्चालनका विषयमा सरकारको ध्यानाकर्षण गराए।

विसं २०३५ मा शुरु भएको उद्योग अहिले सञ्चालनमा नआएको र रु दुई अर्बभन्दा बढीको खनिज बिक्री गर्नका साथै हजारौंले रोजगारी पाउने हुँदा सञ्चालनको विषयमा अर्थमन्त्री र उद्योगमन्त्रीको ध्यानाकर्षण गराए।

सांसद देवेन्द्रराज कँडेलले नमिता/सुनिताजतिकै पीडादायी कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृह मन्त्रालयले घटनालाई गम्भीर रूपमा नलिएको आरोप लगाउँदै आपत्ति प्रकट गरे।

सांसद शान्ता चौधरीले सिंहदरबारले बलात्कारका घटना घटाएको भनी सांसद कँडेलले प्रयोग गरेको शब्दप्रति नियमापत्ति गर्दै सो शब्द संसद्को रेकर्डबाट हटाउन माग गरिन्। सभामुख कृष्णबहादुर महराले रेकर्डबाट हटाउन कर्मचारीलाई निदेर्शन दिए।

सांसद अमरेशकुमार सिंहले गोङ्गबुस्थित नयाँ बसपार्कको सार्वजनिक जग्गामा भ्रष्टाचार भएको विषयमा संसदीय छानबिन समिति गठन गरी भ्रष्टचारीलाई कारवाही गर्नुपर्ने माग गरे।

सांसद सरिता गिरीले चुरे भावर क्षेत्रमा वर्षेनी हुने वन फँडानीले तराईमा हुने बाढी र पहिरोप्रति सरकारको ध्यानाकर्षण गराइन्। सांसद राजेन्द्रप्रसाद लिङ्देलले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको र तत्कालिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दुई मुलुकबीच श्रम सम्झौता नगरिकन खाडीमुलुकमा घरेलु कामदार नपठाउन निर्देशन दिए पनि कार्यान्वयन प्रति ध्यानाकर्षण गराए।

सांसद रामेश्वरराय यादवले त्रिशूली सडक क्षेत्रमा अहिले दिनहुँ दुर्घटना बढे पनि दीर्घकालीन सोचका बारेमा कुनै पनि उपाय नसोचिएकाबारे ध्यानाकर्षण गराए। सांसद यज्ञराज सुनुवारले कटारी–घुर्मी, ओखलढुङ्गा–सल्लेरी सडकखण्डमा पहिरो गएको हुँदा रामेछाप र सिन्धुलीका जनतालाई आवातजावतमा सास्ती भोग्नुपरेको हुँदा सो क्षेत्रमा सुरुङमार्ग बनाउन सरकारलाई सुझाव दिए।

सांसद मीना सुब्बाले कोशीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि आरक्ष क्षेत्रको बस्तीमा पालिएका घरपालुवा चौपायामा मरेको हुँदा किटाणुविरुद्धको भ्याक्सिन लगाउन आग्रह गर्दै जीवाणु चौपाया मानिसमा सक्ने भएकाले जतिसक्दो छिटो नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: : 2019-08-13 23:13:22

प्रतिकृया दिनुहोस्